काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ तीनदिने राजकीय भ्रमणका क्रममा बुधबार अमेरिका पुगेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै सी र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गरेका छन् । दुई नेताबीच हुने वार्तामा व्यापार, एआई, दुर्लभ खनिज, ताइवान र सुरक्षा मुख्य एजेन्डा रहनेछ ।
चीनका राष्ट्रपति सी चिनफिङ तीनदिने राजकीय भ्रमणका लागि बुधबार राति अमेरिका पुगेका छन् । सन् २०१७ मा सीले ह्वाइट हाउस भ्रमण गरेयता एक दशकभन्दा बढी समयपछि भएको यो पहिलो अमेरिकी राजकीय भ्रमण हो ।
विश्वका दुई ठूला शक्ति राष्ट्रबीच व्यापार, प्रविधि, एआई, दुर्लभ खनिज, ताइवान र सुरक्षा मुद्दामा तनाव कायम रहेका बेला भएको भ्रमणलाई वासिङ्टन बेइजिङ सम्बन्धको महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ ।
विमानस्थलमै ट्रम्प र रातो कार्पेट
चिनियाँ राष्ट्रपति सीको अमेरिका आगमनको सबैभन्दा चर्चित दृश्य ह्वाइट हाउसमा भन्दापनि विमानस्थलमा देखिएको छ । मेरील्यान्डस्थित जोइन्ट बेस एन्ड्रयूजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प आफैं पुगेर सी र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गरे । विमानस्थलमा करिब १०० फिट लामो रातो कार्पेट, अमेरिकी तथा चिनियाँ झन्डा, सैनिक सम्मान, ब्याण्ड र औपचारिक सलामीको व्यवस्था गरिएको थियो ।
सीको आगमनका क्रममा सैन्य विमानको फ्लाइओभरसमेत गरिएको थियो । अमेरिकी राष्ट्रपतिले विदेशी राष्ट्राध्यक्षलाई विमानस्थलमै पुगेर स्वागत गर्नु सामान्य अमेरिकी कुटनीतिक अभ्यास होइन ।
प्रायः यस्तो औपचारिक स्वागत ह्वाइट हाउसमा हुने गर्छ भने पछिल्ला दशकमा विमानस्थलमै अमेरिकी राष्ट्रपतिले व्यक्तिगत रूपमा स्वागत गर्ने अभ्यास निकै दुर्लभ हुँदै आएको छ । तर यसपटक चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति विमानस्थलमै पुगेर प्रोटोकलभन्दा बढी कूटनीतिक सन्देश दिन खोजेका छन् । त्यसो त ह्वाइट हाउसले सीलाई यसरी सम्मान गर्दै ट्रम्पले यसअघि चीनमा पाएको आतिथ्यको प्रत्युत्तरका रूपमा पनि प्रस्तुत गरेको छ ।
चीनलाई किन महत्व दिदैछ अमेरिका ?
अमेरिकाका लागि चीन कुटनीति सम्बन्ध गासिएको देश मात्रै होइन । चीन अमेरिका सम्बन्ध अर्थतन्त्रदेखि प्रविधि र सुरक्षासम्म फैलिएको छ ।
सन् २०२५ मा अमेरिका–चीनबीच वस्तु तथा सेवाको कुल व्यापार करिब ४९४.६ अर्ब डलर थियो । त्यसमध्ये अमेरिकी वस्तु आयात चीनबाट ३०८.७ अर्ब डलर र चीनतर्फ अमेरिकी निर्यात १०६ अर्ब डलर थियो । यससँगै दुर्लभ खनिज र सप्लाइ चेन, एआई तथा सेमिकन्डक्टर प्रविधि, ताइवान, सैन्य प्रतिस्पर्धा र विश्वका अन्य संकटमा चीनको भूमिकाले सीसँगको संवादलाई वासिङ्टनका लागि रणनीतिक बनाएको छ ।
अमेरिकी अधिकारीहरूले भ्रमणका क्रममा व्यापार, दुर्लभ खनिज र एआईलाई प्रमुख विषयका रूपमा बताएका छन् । यसैकारण सीलाई दिइएको भव्य स्वागतलाई दुई देशबीचको तनाव समाप्त भएको संकेतभन्दा प्रतिस्पर्धाबीच संवादको ढोका खुला राख्ने अमेरिकी प्रयासका रूपमा अन्तराष्ट्रिय विश्लेषकहरुले लिएका छन् ।
प्रविधि र एआई मुख्य चासोमा
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच बिहीबार ह्वाइट हाउसमा उच्चस्तरीय वार्ता हुँदैछ । एक दशकभन्दा बढी समयपछि सीको ह्वाइट हाउसमा राजकीय भ्रमण भइरहेका बेला दुई देशबीचको सम्बन्धलाई नयाँ चरणमा लैजाने प्रयासका रूपमा यो भेटलाई हेरिएको छ । वार्ताको महत्वपूर्ण विषय आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई बन्नेछ ।
अमेरिका र चीन दुवै अत्याधुनिक एआई प्रणाली, सेमिकन्डक्टर र प्रविधिको नेतृत्वका लागि तीव्र प्रतिस्पर्धामा छन् । एआई आर्थिक प्रतिस्पर्धासँगै राष्ट्रिय सुरक्षा र सैन्य क्षमतासँग पनि जोडिएकाले दुई नेताको वार्तामा यसको रणनीतिक महत्व अझ बढेको छ ।
अमेरिकी पक्षले चीनलाई अत्याधुनिक अमेरिकी प्रविधि र चिप्समा पहुँच दिने विषयमा निर्यात नियन्त्रण कायम राख्ने संकेत गरेको छ । त्यसैले एआईमा सहकार्यको सम्भावना भए पनि प्रविधि नियन्त्रणको प्रश्न वार्ताको जटिल विषय बन्न सक्ने देखिन्छ । त्यसैगरी वार्तामा दुर्लभ खनिज, कृषि उत्पादन, व्यापार र चेन सप्लाई पनि प्रमुख एजेन्डामा छन् ।
दुर्लभ खनिज आधुनिक इलेक्ट्रोनिक्स, विद्युतीय सवारी, रक्षा प्रविधि र एआईसँग सम्बन्धित उद्योगका लागि महत्वपूर्ण छन् । यसअघि मे महिनामा भएको ट्रम्प सी सहमतिअनुसार चीनले अमेरिकी दुर्लभ खनिज आपूर्तिसम्बन्धी चिन्ता सम्बोधन गर्ने र अमेरिकी कृषि उत्पादन खरिद बढाउने प्रतिबद्धता जनाएको थियो ।
ताइवान पनि संवेदनशील मुद्दा
दुई नेताबीचको वार्तामा ताइवानलाई अमेरिकी हतियार बिक्री पनि संवेदनशील विषयका रूपमा रहने अनुमान गरिएको छ । ताइवानलाई लिएर अमेरिका र चीनबीच लामो समयदेखि रणनीतिक तनाव रहँदै आएको छ । योसँगै व्यापार, प्रविधि नियन्त्रण र क्षेत्रीय सुरक्षाका विषयले वार्तालाई अझ जटिल बनाउन सक्छन् । विश्लेषकहरूका अनुसार एआईमा सम्भावित सहकार्य र रणनीतिक प्रतिस्पर्धा दुवैलाई एकैसाथ व्यवस्थापन गर्ने चुनौती दुई नेतासामु छ ।
ह्वाइट हाउसको भोजमा टेक विश्वका दिग्गज
बिहीबार साँझ ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले सी र उनकी श्रीमती पेङ लियुआनको सम्मानमा ह्वाइट हाउसको इस्ट रुममा राजकीय भोज आयोजना गर्दैछन् । अमेरिकी राष्ट्रपतिको कार्यालयका अनुसार सी र पेङलाई बिहीबार औपचारिक राजकीय स्वागत समारोहसहित सम्मान गरिनेछ । भोजमा अमेरिकी राजनीतिक तथा कूटनीतिक नेतृत्वसँगै विश्व प्रविधि उद्योगका प्रभावशाली व्यक्तिहरू सहभागी हुँदैछन् ।
रोयटर्सका अनुसार एप्पलका टिम कुक, अमेजनका संस्थापक जेफ बेजोस, टेस्ला तथा स्पेसएक्सका एलन मस्क, गुगलका सुन्दर पिचाई, ओपनएआईका साम अल्टम्यान, एनभिडियाका जेन्सेन हुआङ, माइक्रोसफ्टका सत्य नडेला र डेल टेक्नोलोजिजका माइकल डेललगायत सहभागी हुनेछन् ।
आइडीएन फाइनान्सिियलले मेटाका मार्क जुकरबर्गसहित बैंकिङ क्षेत्रका शीर्ष अधिकारीहरू पनि भोजमा सहभागी हुने भन्दै समाचार लेखेको छ ।
त्यसैले पनि ह्वाइट हाउसको राजकीय रात्रीभोज अमेरिका र चीनका शीर्ष राजनीतिक नेतृत्वसँगै विश्वका प्रभावशाली प्रविधि तथा व्यवसायिक नेतृत्वको जमघटले एआई, चिप्स, व्यापार, लगानी र भविष्यको प्रविधि प्रतिस्पर्धा कूटनीतिक एजेन्डाको केन्द्रमा पुगेको स्पष्ट संकेत गर्छ । शुक्रबार ट्रम्प र मेलानिया तथा सी र पेङबीच निजी चिया भेटपछि राष्ट्रिय अभिलेखालयको भ्रमणसहित राजकीय भ्रमण समापन हुने कार्यक्रम छ ।


