News 24 Television
ओलीको प्रतिशोधका कारण एमालेभित्र विरक्तिए भीम रावल

काठमाडौँ । कुनै समय सुदूरपश्चिममा नेकपा एमालेको खम्बा मानिन्थे भीम रावल । तर अध्यक्ष केपी ओलीको प्रतिशोधको कोपभाजनमा पर्दा रावल पार्टीभित्रै किनारा लगाइएका छन् । ओलीको प्रतिशोधकै कारण पार्टीका महत्वपूर्ण बैठकहरुमा रावलको उपस्थिति देखिन छोडेको छ । देशैभरका महाधिवेशन प्रतिनिधिहरु ललितपुरको गोदावरीमा प्रतिनिधि परिषद बैठकमा सामेल भइरहँदा रावलको भने अत्तोपत्तो छैन । 

एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र हुकुमी शासन चलाउन खप्पिस छन् । यही कोही ओलीको आँखाको कसिंगर बनिहाल्यो भने उसले ओलीको कृपा नपाएसम्म पार्टीमा केही गर्छु र हैसियत बनाउछु भन्ने नसोचे पनि हुन्छ । अहिले एमालेका पूर्वउपाध्यक्ष भीम रावलको अवस्था यही छ । ओलीलाई चुनौति दिएकै कारण रावल पार्टीभित्र गुमनाम छन् । शनिवारदेखि एमालेको प्रतिनिधि परिषद बैठक ललितपुरको गोदावरीमा जारी छ । 

देशैभरिका महाधिवेशन प्रतिनिधि बैठकमा सहभागि छन् तर रावल कहाँ छन् कसैलाई चासो छैन अर्थात् उनलाई बैठकमा निम्त्याउनुलाई एमाले शीर्ष नेत्तृत्वले आवश्यक नै ठानेन । एमाले अध्यक्ष ओलीले आफुमाथि प्रतिशोध साँधेर प्रतिनिधि परिचयपत्र समेत नबनाइदिएपछि बैठकमा आफु उपस्थित् नभएको रावलको भनाई छ । बैठकमा उपस्थित हुन परिचय पत्र खोज्दा पार्टीबाट बनेको छैन भन्ने जवाफ पाएपछि खिन्न बन्दै रावल फर्किए । 

ओलीको प्रतिशोधको श्रृंखला

विगतमा अध्यक्ष पदबाट हारेका व्यक्तिलाई एमालेमा सम्मानित वा बरिष्ठ नेताको पद दिने चलन थियो । तर रावलको हकमा भने त्यो पनि लागु भएन । १० औं महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीलाई चुनौति दिएकै कारण रावलले उक्त पद नपाएका हुन् । त्यसबाहेक गत मंसिरमा एमालेले मध्यपहाडी लोकको झुलाघाटदेखि चिवाभन्ज्याङसम्म संकल्प यात्रा ग¥यो । यात्रामा सबै शीर्ष नेताहरु सहभागि भए, तर रावललाई भने कही पनि समावेश गराइएन । 

रावलकै गृहजिल्लामा पनि ओली सहितका शीर्ष नेताहरु पुगेर तीन ठाउँमा कार्यक्रम गरे । त्यहाँ पनि रावल बोलाइएनन् । करिब ५ दशकदेखि रावल एमालेको राजनीतिमा छन् । तर राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दाजस्तो कठिन र पेलान उनलाई कहिल्यै भएन । 

द्वन्द्वको कारण

ओली र रावलबीच द्वन्द्वको कारण १० औँ महाधिवेशनलाई मानिन्छ । १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीलाई रावलले चुनौति दिएका थिए । त्यसबाहेक रावल ओलीका कृयाकलापहरु प्रति खरो आलोचना गर्न चुक्दैनन् । यो कारण पनि ओली उनीसँग रुष्ट हुँदै आएका हुन् । त्यसबाहेक ओलीले पार्टी विभाजनको विपक्षमा उभिएका विरोधी समूहलाई साथ लिन १० बुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता जनाएपनि हुबहु नगर्ने अडान लिएपछि उनीहरुको विवाद झन चर्किएको हो । ओलीले गएको निर्वाचनमा रावललाई उम्मेदवारको टिकट समेत दिएनन् । सुदूरपश्चिमका रावलको खोजी हुँदा ओली सार्वजनिकरुपमै बम्किन्थे । 

ओली र रावलबीचको असन्तुष्टिलाई समाधान गर्न पार्टी भित्र वार्ता समिति समेत बनेको छ । तर पनि समस्या समाधान हुन सकेको छैन । ओलीको स्वेच्छाचारी शैलीनै यो विवादको मुख्य जड भएको विश्लेषकको भनाइ छ । 

२०६५ सालमा बुटवलमा भएको एमालेको ८ औं महाधिवेशनमा केपी ओलीको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित बनेका रावल २०७१ सालमा काठमाडौंमा भएको ९ औं महाधिवेशनमा माधव नेपालको प्यानलबाट सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी बनेका थिए । तर त्यसयता भने उनको ओरालो यात्रा सुरु भयो । एमाले र माओवादीको एकतामा बनेको नेकपाको सचिवालयमा समेत उनी अटाइएनन् । 

नेकपा फुटपछि एमालेभित्र चेपुवामा परेका रावल माधव नेपालले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी बनाउन सँगै गएनन् । बरु एमालेमै बसे । तर एमालेमै रहेर पार्टी फुटाउनुलाई निको नमानेका तीनै रावल अहिले ओलीको उपेक्षाका कारण विस्तारै पार्टीभित्रै ओझेल हुँदै गएका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update