काठमाडौं । प्रधानमन्त्री वालेनद्र शाह भारत भ्रमणमा निस्किएका छन् । छोटो समय भारतमा बस्ने गरि भ्रमणमा गएका प्रधानमन्त्री शाहको यो भ्रमण निकै पेचिलो बनेको छ। भ्रमणका उपलब्धिले लेखाजोखा गर्ने भएपनि विगतमा उनले उठाएका प्रश्नको जवाफ पाइएला भन्ने कोणबाट समेत बहस शुरु भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले भारतको छोटो र छरितो भ्रमण गर्ने भएका छन्। यो भ्रमण निकै छोटो समयको भएपनि चर्चा र उपलब्धिको खोजीका हिसाबले अत्यन्तै चासोमा देखिन्छ। प्रधानमन्त्री बनेको लामो समयपछि पहिलो औपचारिक राजकीय भ्रमण गर्न लागेका उनले पत्नीलाई नलगी जाने निश्चित गरेका छन् । भने विमानस्थलमा समेत विदाई सलामी नलिइ गएका हुन्। यस्तोमा विपक्षीले विभिन्न प्रश्न उठाएका छन भने उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले शुभकामना व्यक्त गरेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ उपभापति विश्वप्रकाश शर्माले विज्ञप्ति नै जारी गर्दै प्रधानमन्त्रीको विदेश भ्रमणलाई प्रश्नको घेराभन्दा बाहिर नराख्ने भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो पहिलो औपचारिक विदेश भ्रमणबारे संसदलाई नै जानकारी गराएका छैनन भने उनले राष्ट्रपतिलाई नियमित ब्रिफिङ गर्नुपर्नेमा समेत गरेका छैनन्, यतिमात्रै नभई वालेन्द्रले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरुको छलफललाई समेत स्थान दिएनन्।
यसले उनीमा एकखाले घमण्ड भने देखिन्छ । तर, यस्ता एटिट्युडकाबीच उनले भारत भ्रमणको क्रममा गर्ने काम र सहमतिले भने अर्थ राख्नेछ। विदेश भ्रमणमा सामान्यतया देशको प्रतिनिधित्व समेत हुने हुनाले राजनीतिक सहमति र सर्वदलीय किसिमको बैठकबाट देशको एकतालाई मजबुत रहेको सन्देश दिने गरिन्छ । तर, वालेन्द्रले यस्तो नगर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ भने नमागेको सुझाव दिन नसकिएको समेत भनेको छ । जसकारण अब उनको भारत भ्रमण अवसरसंगै ठूलो चुनौतीका रुपमा अघि बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण उपलब्धिपूर्ण हुने अपेक्षा राखेको भनेको छ। भारत भ्रमणअघि प्रधानमन्त्री वालेन्द्र र रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमै भएको छलफलपछि पनि नेताहरुले सार्वजनिक रुपमा रविले सुझाव दिएको र वालेन्द्रले ब्रिफिङ गरेको भनिएको छ। जुन कुराको औपचारिक पुष्टी दुबै पक्षले गरेका छैनन । यस्तोमा भ्रमण सफलताको शुभकामनाले समेत वालेन्द्रप्रति दबाब सिर्जना गर्नेछ । भ्रमणमा हुने राम्रा पक्षको जस लिने तर, नराम्रा पक्षमाथि प्रश्न गर्ने गरि चलाखीपूर्वक दिइएको शुभकामनाको राजनीतिले समेत नयाँ सन्देशको अपेक्षा राखेको देखिन्छ ।
भ्रमण चुनौतीपूर्ण
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक देश मानिने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सामना गर्नुपर्ने हुन्छ । कुटनीतिक रुपमा समेत लामो अनुभव भएका मोदीले राख्ने सामान्य प्रस्तावमा समेत ध्यान दिनुपर्ने स्थिति छ भने भारतीय विदेशमन्त्री एस जयशंकर सलेत कुटनीतिक रुपमा परिपक्क नेताका रुपमा चिनिन्छन् ।
यस्तोमा नेपालको हितमा हुने गरि सम्झौताहरु गर्नुपर्ने र रास्वपाले पुराना राजनीतिक विषयलाई छाडेर अघि बढ्ने भनेका विषयमा मोदीका प्रश्नको सामना गर्नुपर्ने हुनसक्छ।
जुन प्रश्नको जवाफ सहज हुनेछैन् । किनपनि भने सीमा विवाददेखि प्रधानमन्त्री वालेन्द्रले नै यसअघि भारतीय सिनेमा बन्द गर्ने, संसदमा उभिएर विवादास्पद अभिव्यक्ति दिने काम गरिसकेका छन भने यस्ता विषयमा समेत कुटनीतिक प्रश्नको सामना गर्नुपर्ने हुनसक्छ । सीमा विवादमा अग्रपंक्तिमा रहने गरेका वालेन्द्रलाई यसपाली कालापानी, लिम्पियाधुरा र लिपुलेक पेचिलो विषय बन्दैछ भने ऊर्जा लगायतका क्षेत्रको सहकार्य समेत कठिन मोडमा देखिन सक्छ । यता, हवाई रुटको विषय पनि थप पेचिलो बन्ने देखिन्छ ।
अवसर किन ?
अधिकांश परम्परा तोडेका वालेन्द्रसामू आफूलाई सावित गर्ने समय समेत देखिन्छ। परिपक्तापूर्वक भारतसामू पेश हुने र नेपालको परराष्ट्र नीति अनुसारका सम्झौता गर्ने र नेपालको हितलाई केन्द्रमा राख्दै अघि बढ्न सकेमा भने उनीमाथि उठेका प्रश्नको सहज जवाफ मिल्नेछ ।
तर, यो त्यति सहज विषय भने होइन् । कुटनीतिक रुपमा समेत परिपक्क मोदीको टिमसंग सामना गर्न सहज नहुने भएपनि नेपालले गरेको तयारी, कुटनीतिक ज्ञान, नेपालको हित र नेपाललको परराष्ट्र नीतिमा अडिग रहदै गरिने सम्झौताले थप बाटो देखाउनेछन् । तर, सानो विषयमा समेत चुक्ने स्थिति बनेमा भने वालेन्द्रसामू आएका अवसरहरु गुम्ने खतरा हुनेछ । यस्तोमा भारतले दिएको महत्व र मोदीसंगको भेटवार्तापछिको अवस्थाको नतिजाले नै अवसरमाथिको प्रष्टता झल्काउनेछ ।


