News 24 Television
हात्तीपाइलेविरुद्ध औषधि खुवाइदै, अभियानमा जुट्न आग्रह

काठमाडौं । सरकारले हात्तीपाइले रोग नियन्त्रण गर्न भन्दै हात्तीपाईले रोगविरुद्धको औषधि अभियान सञ्चालन गरेको दुई दशक बढि भइसक्यो । तर, अहिले पनि रोग नियन्त्रणमा आउन सकेको छैन । 

निवारण लक्ष्यको समय सारेरको सरकारले यो पटक भने सन् २०३० सम्म रोग निवारणको लक्ष्य लिएको छ । 

सोहि अनुरुप आइतबारबाट पुनः हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालन गरिँदैछ । तर यस पटक पनि लक्ष्य हासिल गर्नेमा आशंका देखिन्छ ? 

वर्षौदेखि नियन्त्रण प्रयास गरेपनि नेपालमा हात्तीपाइले रोग अझै नियन्त्रण बाहिर नै छ । हातीपाइले रोग नियन्त्रण गर्न भन्दै सरकारले सन् २००३ मा पहिलोपटक पर्सा जिल्लामा हात्तीपाइलेको औषधि खुवाएर आम औषधी सेवन अभियान सुरु गरेको थियो । 

जसलाई सन् २००३ मा ६४ जिल्लामा विस्तार गरेको थियो । जुन अभियान अहिले ५३ जिल्लामा बन्द गरिएको छ । तर अहिले पनि केहि जिल्लामा यो रोग देखिएकाले राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालनमै छ । 

हात्ती पाईले रोग अहिले झापा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, रसुवा र कपिलवस्तु गरी सातवटा जिल्लामा नियन्त्रणमा आउँन सकेको छैन । 

जसका कारण यी जिल्लाहरुमा पटक पटक औषधी सेवन अभियान हुदै आएका छन् । जसलाई निरन्तरा दिदै सरकारले आइतबारबाट पुनः यी सात जिल्लामा हात्ती पाइले विरुद्धको औषधी खुवाउँने भएको छ । 

आइतबारबाट सात जिल्लाका १ सय १ स्थानीय तहमा ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेको औषधि सेवन गराउँने लक्ष्य राखिएको छ । 

जसको तयारीमा सरकारले सो क्षेत्रमा ६ हजार स्वास्थ्यकर्मी र ५८ सय महिला स्वास्थ्य स्वयम् सेविका खाटाउने तयारी  छ । 

लुम्बिनी प्रदेशका अन्य ११ जिल्लामा हात्तीपाइले निवारण भए पनि कपिलवस्तु भने बाँकी छ । 

हात्तीपाइले रोग विरुद्धको औषधीको सेवन जाने बुझेका, सचेत र शिक्षित वर्गले नै औषधि सेवन नगर्दा रोग नियन्त्रणमा समस्या देखिएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको भनाई छ । 

सन् २००३ बाट आम औषधी सेवन कार्यक्रम संचालन गरेको सरकारले सन् २०२० मा नै हात्तीपाइले निवारण गरिसक्ने लक्ष्य लिएको थियो । तर, सो समयमा उपलब्धि हुन हासिल गर्न नसकेपछि सन् २०३० भित्र निवारण गर्ने नयाँ लक्ष्य लिएको छ । 

पटक पटक औषधी सेवन कार्यक्रम संचालन गरे पनि संचालित क्षेत्रका बासिन्दाले औषधी सेवन नगर्दा रोग नियन्त्रणमा समस्या देखिएको छ । 

सरकारले १५ औं पटक हात्तीपाइलेको औषधि खुवाउँदा पनि निष्प्रभावी भएपछि यसवर्ष १६ औं पटक फेरि औषधी खुवाउन थालिएको छ । 

औषधी सुरक्षित मानिएपनि सरकारले औषधीका बारेमा सचेतना जगाउन नसक्दा अहिले पनि औषधी सेवन गर्न धेरै हिच्कीचाउने गरेको देखिन्छ । 

सुरुमा सन् २००७ देखि औषधि सेवनको अभियान चलाइएको जिल्लामा सन् २०१३ मै हात्तीपाइले रोग निवारण हुनुपर्ने थियो तर औषधी नै सेवन नगरिदाँ सरकारले अहिले लिएको निवारणको लक्ष्य पनि तोकिएको समयमै पुरा नहोला भन्ने आशंका बढाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update