News 24 Television
माधव र उपेन्द्रले धोका दिए भने कति दिन टिक्ला प्रचण्ड सरकार ?

काठमाडौँ । पछिल्लो समय सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको मुख्य दल नेकपा एमालेका अध्यक्ष केपी ओली लक्षित कडा अभिव्यक्ति दिइरहेका छन् । उनले सत्ता गठबन्धनमा आफूलाई सहज नरहेको भन्दै काँग्रेस लगायत दलको साथ पाएमा आफै प्रधानमन्त्री बन्ने दाउमा देखिन्छन् । आफू प्रधानमन्त्री बनिहाल्छु कि भन्ने डरले कसै कसैलाई पोल्न थालेको उनले बताएका छन् । 

सोमबार पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्ने कुराले ओलीलाई पोल्न थालेको बताए । जसले जे भने पनि आफ्नो लागि अनुकुल वातावरण बनाउने कुरामा आफूले ध्यान दिइरहेको नेपालले बताए । मुलुकमा गणतन्त्र ल्याउनका लागि, शान्ति प्रक्रियालाई अघि बढाउनका लागि, जनतालाई न्याय र महिलाहरुलाई अधिकार दिलाउनका लागि महत्वपूर्ण भुमिका आफूले खेलेको बताउँदै उनले त्यस अनुकूलको वातावरण बनाउन पछि नपर्ने बताए । विगतमा ओलीले दुईपटक संसद विघटन गरेर गल्ती गरेँ भन्ने कुरा अहिलेसम्म स्वीकार्न नसकेको माधवको भनाइ छ ।

यसअघि वैशाख १० गते माधव नेपालले एमालेको केन्द्रिय कार्यालय च्यासलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अघि गठबन्धनमा आफू बस्न नसक्ने अभिव्यक्ति दिएका थिए । दिवंगत कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा माधवले माओवादी–एमाले नेतृत्वको सत्ता गठबन्धनमा आफूलाई सहज नरहेको बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै उनले कसैका धाक, धम्की, गालीगलौज सुन्दै दास बन्नका लागि आफूहरू राजनीतिमा नआएको बताएका थिए । 

तर सोही दिन एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको हीरक महोत्सवमा भने माधव उपस्थित भएनन् । प्रचण्ड सहभागी कार्यक्रममा उपस्थित भए पनि ओली सहभागी कार्यक्रममा माधव जान मान्दैनन् । एमालेले आफ्नो निम्तो अस्वीकार गरेर माधव कार्यक्रममा नआएपछि असन्तुष्टि नै जाहेर ग¥यो । जबकि उक्त कार्यक्रममा विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रमुख नेताहरु उपस्थित थिए । तर, सत्ताबन्धनकै प्रमुख घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल नगएपछि गठबन्धनमा तालमेल छैन भन्ने सन्देश बाहिरियो ।
 
माधव नेपालले पछिल्लो समय गठबन्धनका हर्ताकर्ता प्रधानमन्त्री प्रचण्ड र ओलीसँग कटुता पोखिरहेका छन् । र, उनी काँग्रेस सभापति देउवासँग भित्रभित्रै भेटिरहेका पनि छन् । काँग्रेसले साथ दिएमा आफै प्रधानमन्त्री बन्ने लाइनमा रहेको उनका पछिल्ला गतिविधिले पुष्टि गर्दै आएको छ । गत फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि देउवाले माधवलाई प्रधानमन्त्री बन्न अफर नै गरेका थिए । जसरी भए पनि प्रचण्डलाई सत्ताच्युत गर्ने रणनीतिमा लागेको कांग्रेसले माधवलाई प्रधानमन्त्रीको लोभ देखाएर वर्तमान सत्ता गठबन्धन फुटाउन खोजिरहेको छ । यसको झिल्को केही दिनअघि सुदूरपश्चिम प्रदेशमा देखिइसकेको थियो । तर प्रधानमन्त्री प्रचण्डले रातारात पहल गरेर सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिएर माधवको असन्तोष साम्य पारेका थिए । तर त्यसपछि पनि माधवले गठबन्धनविरुद्ध असन्तोष ओकल्न भने छाडेका छैनन् ।

यदि माधवले वर्तमान गठबन्धन छाडेमा प्रचण्ड नेतृत्वको सरकार संकटमा पर्ने देखिन्छ । यो सरकारको जग हल्लिसकेको र कुनै पनि बेला ढल्न सक्ने एकीकृत समाजवादीका नेताहरुले बताउँदै आएका छन् । संघीय संसदमा १० सिट मात्र रहेको एकीकृत समाजवादी प्रदेशहरुमा भने सरकार गठन र विघटनका लागि निर्णायक शक्ति मानिन्छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा उक्त पार्टीले सरकार ढाल्ने हैसियत राख्छ । केन्द्रमा भने एकीकृत समाजवादीले मात्रै सरकार छाड्दा कुनै संकट छैन तर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी समेत बाहिरिने हो भने प्रचण्ड सरकार अल्पमतमा पर्नेछ । 

जसपा पनि लुम्बिनी प्रदेशमा भागबण्डाको विषयलाई लिएर गठबन्धनप्रति असन्तुष्ट छ । लुम्बिनीमा २ मन्त्री मागेको जसपाले त्यो नपाएपछि सरकारबाट आफ्ना एक मात्र मन्त्री भण्डारीलाल अहिरलाई फिर्ता बोलाइसकेको छ । अहिले संघीय संसदमा जसपाका १२ सांसद छन् । गत फागुन ३० गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १५६ सांसदको समर्थन पाएका थिए । सरकार बनाउन १३८ सांसदको समर्थन चाहिन्छ । तर यी दुई समाजवादी पार्टीले गठबन्धन त्यागेर कांँग्रेसको कित्तामा गए भने सत्ता गठबन्धनमा १३४ सांसदमात्र बाँकी रहन्छन् । थप ४ सांसद अन्य साना दलबाट जुटाउन नसकेमा प्रचण्ड नेतृत्वको सरकार ढल्छ । माधव करकाप वा बाध्यतामा परेर मात्र गठबन्धनमा बसेको देखिन्छ । जुनसुकै बेला उनी बाहिरिन सक्ने संकेत बढेकाले वर्तमान सत्ता गठबन्धन धेरै दिन नटिक्ने आकलन भइरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update