News 24 Television
पेलेरै अघि बढेका प्रचण्ड भन्छन्– कांग्रेसको कर्तुत इतिहासमा कलंक बन्नेछ !

काठमाडौँ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा चौथोपटक विश्वासको मत लिए । प्रधानमन्त्री बनेको डेढ वर्ष नपुग्दै चौथोपटक विश्वासको मत लिएका प्रचण्ड संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । संसदको पहिलो ठूलो दल नेपाली काँग्रेस अहिले प्रतिपक्षमा छ, सत्ताबाहिर हुनुको पीडा र आक्रोश उसले व्यक्त गरिरहेको छ । प्रचण्डबाट आफूले धोका पाएको महसुस गरिरहेको काँग्रेस जसरी पनि सरकारलाई ढाल्ने रणनीतिमा छ । तर प्रचण्ड सरकार भने उसैगरी बलियोसँग टिकेको चौथोपटकको विश्वासको मतले समेत पुष्टि गर्छ । सोमबार काँग्रेसको चर्को नाराबाजी र संसद अवरोधका बीच विश्वासको मत लिएका प्रधानमन्त्रीले १५७ मत प्राप्त गरेका छन् । १५८ जना सांसदहरु सहभागी भएको मतदानमा १५७ सांसदले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरे । तर विपक्षी दलका सांसदहरुले मतदानमा भाग नलिएकाले विपक्षमा शून्य मत पर्यो । १ मत भने तटस्थ रहेको थियो ।

विश्वासको मत लिन समेत नदिएर काँग्रेसले संसदको वेल घेरेपछि प्रधानमन्त्री प्रचण्ड आक्रोशित भए । आफूले विश्वासको मत लिनलाग्दा काँग्रेसले गरेको अवरोध र नाराबाजीको मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए । विश्वासको मत लिँदा विरोध गरेर काँग्रेसले गल्ती गरेको प्रचण्डले बताए । विगतमा आफूले काँग्रेसलाई पटक–पटक साथ दिएको तर काँग्रेसले आज आफूविरुद्ध देखाएको व्यवहारको मूल्य चर्को रुपमा चुकाउनुपने उनको भनाइ थियो । 

विश्वासको मत लिएर प्रधानमन्त्री प्रचण्ड संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले ‘काँग्रेसले अब कसरी मूल्य चुकाउनुपर्नेछ ?’ भनी प्रश्न गरेका थिए । प्रधानमन्त्री प्रचण्डले ‘अब आउने चुनावमा थाहा पाइन्छ’ भन्ने कुटिल जवाफ दिँदै निस्किए । विगतमा आफ्नो साथले काँग्रेस अहिले ठूलो दल बनेको तर काँग्रेसले आफूविरुद्ध धोका र धाँधली गरेको उनले बताएका थिए । सोमबारै संसदमा उभिएर प्रचण्डले आफूलाई विश्वासको मत दिन अनुरोध गरेका थिए । सबै दलहरुको गन्तव्य आखिरमा राष्ट्रको निर्माण भएकाले यस सवालमा संसद विभाजित छैन भन्ने सन्देश जानेगरी आफूलाई विश्वासको मत दिन उनले आग्रह गरेका थिए । तर सुरुदेखि नै काँग्रेस–राप्रपा लगायत विपक्षी सांसदहरु नाराबाजी गरिरहेका थिए । 

संसदमा प्रधानमन्त्रीको प्रस्तावलाई समर्थन गर्दै सत्ता घटक नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रचण्ड नेतृत्वको सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गरेका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई अझ दह्रो कदमका साथ अघि बढ्न पनि आग्रह गरे । सिंगो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्रीले पछि हट्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो ।

तर आफूहरुको विरोधका बाबजुद प्रधानमन्त्रीले विश्वासको मत लिएकोमा प्रतिपक्षी दल काँग्रेस भने झन् आक्रोशित भएको छ । काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकका निर्णय सुनाउँदै सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र तानाशाही भएको आरोप लगाए । सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछाने मुछिएको विषयमा स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दा सरकार त्यसमा तयार नभएको र जबरजस्ती अघि बढ्न खोजेको उनले बताए । उनले बहुमतको दम्भमा सरकारले आजै विश्वासको मत लिने कुरा नेपालको संसदीय इतिहासमा नौलो र दुःखदायी घटना भएको समेत बताए ।

गत फागुनसम्म सत्ता सहकार्यमा रहेका काँग्रेस र प्रधानमन्त्री प्रचण्डबीच अहिले चर्को दुश्मनी देखिन्छ । सहकारी प्रकरणलाई लिएर गृहमन्त्री रवि र उनको पार्टी रास्वपालाई सरकारबाट लखेट्न सके प्रचण्डको सरकार ढल्ने अपेक्षाका साथ काँग्रेसले संसदीय समितिको माग अघि सारेर संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ । तर प्रधानमन्त्री प्रचण्ड उसैगरी झन कडा रुपमा प्रस्तुत भइरहेका छन् । १०–१२ पटक विश्वासको मत लिनुपरे पनि आफू पछि नहट्ने बताउँदै आएका प्रचण्ड १७ महिनामै चौथोपटक विश्वासको मत पाएर आफूले रेकर्ड कायम गरेको जिकिर गर्छन् । हेरौँ, आगामी दिनमा प्रचण्ड र काँग्रेसमध्ये कसको मूल्य कसले कसरी चुकाउने रहेछन् ! 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update