News 24 Television
यसकारण अमेरिकाले दिएन सन्दीपलाई भिसा 

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आइसिसी टी–२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि यसबारे विभिन्न विषय चर्चामा आएका छन् । यस्तोमा किन दिएन त अमेरिकाले सन्दीपलाई भिसा ? 

आइसिसी टी–२० विश्वकप २०२४ का लागि नेपाली टोली अहिले अमेरिकामा छ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाई पाएपछि अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दुतावासले भिसा दिन अस्विकार गरेपछि विभिन्न कोणबाट बहस भइरहेका छन् । यस्तोमा सन्दीप आफैले सामाजिक सञ्जालबाट अमेरिकाले २०१९ मा जस्तै भिसा नपाएको उल्लेख गरेका छन् । तर, भिसा किन दिएन भन्ने विषय भने अहिलेसम्म खुल्न सकेको देखिन्न ।

बलात्कार जस्तो गम्भीर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएपछि नेपाल क्रिकेट संघ (क्यान)को निलम्बनमा परेका सन्दीप उच्च अदालतको फैसलाको केहि घण्टामै क्यानको निलम्बनबाट मुक्त हुने भाग्यमानी खेलाडीमा पर्छन् । क्यानले भएभरको बल लगाएर सन्दीपलाई अमेरिका पठाउन खेलेको भूमिका र उनलाई खेल्न दिन अन्तराष्ट्रिय क्रिकेट परिषद्सँग अनुमति लियो । त्यसपछि सन्दीप अमेरिका जाने तयारीमा जुटे । अमेरिका जाने तयारीमा जुटेका सन्दीपलाई दुतावासले भिसा अस्वीकार गरेपछि भने कोलाहल मच्चिएको छ । 

अमेरिकाले किन दिएन भिसा ?

अमेरिकाले सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको विषयमा प्रतिक्रिया आउनेक्रम जारी रहेपनि अदालतको पूर्णपाठ सार्वजनिक भइनसकेको र पीडित गौशाला २६ ले सञ्चार माध्यममा पोखिरहेका पीडालाई देखेर अमेरिकी दुतावास अदालतको फैसलाको पूर्णपाठ हेर्ने मनस्थितिमा देखिन्छ । पूर्णपाठमा कस्ता आधारलाई टेकेर न्याय निरुपण गरियो भन्ने विषय निक्र्यौल नभएसम्म निर्णय गर्न हतार नगर्ने मुडमा दुतावास पुगेको बताइन्छ । 

यतिमात्रै नभई न्यायिक प्रक्रियामाथि समेत प्रश्न उठिरहेको र त्यसपछिका घटनाक्रमलाई नजिकबाट हेरिरहेको अमेरिकाले आफ्नो मुलुकमा पीडितमाथि गर्ने व्यवहार र अदालती प्रक्रियाले अन्तिम रुप नलिएसम्म निर्णय गर्न नसकिने सन्देश दिन खोजेको अर्थमा समेत लिइएको छ । दोश्रो विषय अमेरिकाले क्रिकेटरको रुपमा भन्दा पनि सामान्य व्यक्तिको रुपमा हेरेको हुनसक्छ । 

उच्चको फैसला नै अन्तिम नहुने भएकाले पूर्णपाठमा देखिएको विलम्ब र त्यसपछि सरकारी पक्षले सर्वोच्चमा गर्ने अपिलपछि त्यसको प्रभाव कस्तो पर्न सक्छ भन्ने तथ्य समेत विश्लेषण भएको बताइएको छ । यस्ता कारण सन्दीपलाई अमेरिकाले भिसा नदिएको बुझिएको छ । 

पहिले पनि पाएका थिएनन् सन्दीपले भिसा

अमेरिकी दूतावासले आजभन्दा ५ वर्ष पहिले पनि सन्दीपलाई भिसा दिन अस्विकार गरेको थियो । त्यो बेलाका जल्दाबल्दा खेलाडी रहेका कारण उनले ट्विटरमा पोस्ट गर्दै प्रधानमन्त्री कार्यालय र अमेरिकी दुतावासलाई मेन्सन गरेपछि दुतावासले फेरि बोलाएर भिसा दिएको थियो । सन् २०१९ अगस्ट १३ (२०७८ साउन २८) मा भिसा अस्विकार भएको स्मरण सन्दिपले आज पनि गरेका छन् । तर, त्यो बेला र अहिलेको अवस्था फरक रहेकाले सन्दिपले त्यहि शैलीमा भिसा पाउने सम्भावना कम रहेको बताइन्छ । 

के भन्यो अमेरिकाले ?

अमेरिकी दुतावासले अमेरिकामा रहेको नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना समेत दिएको छ । अमेरिकी दुतावासले दूतावासले उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भइ काम गरिरहेको दाबी समेत गरेको छ । तर, भिसा नीति गोप्य हुने भएकाले व्यक्ति विशेषका कुरामा टिप्पणी भने नगर्ने बताएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update