काठमाडाैँ । सत्ता गठबन्धनभित्रै रहेपनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हिमचिम प्रतिपक्षसँग दरिलै छ । गएको बुधवार कांग्रेसले बोलाएको विपक्षी दलको भेलामा सहभागि भएपछि नेपालसँग सत्ता गठबन्धन चिढिएको छ । यही विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग शुक्रवार भेटवार्ता गरिसकेका छन् । उक्त भेटवार्ता पछि नेपालको बोली फेरिएको छ ।
सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले सरकारसँग सम्बन्धित कतिपय निर्णय लिदाँ आफुसंग छलफल न नगरेको भन्दै नेकपा एसका अध्यक्ष माधव नेपाल असन्तुष्ट छन् । त्यहि कारण उनले घुक्र्याउदै आफ्नो पार्टी सरकारबाट जतिबेला पनि बाहिरीन सक्ने चेतावनी दिने गर्छन् ।
नेता नेपालको गतिविधि हेर्दा उनी सत्ता र प्रतिपक्ष दुवैतिरको डुंगामा खुट्टा राख्ने प्रयासमा छन् । यही कुरालाई मध्यनजर गर्दै खासगरी एमाले अध्यक्ष ओली नेपालप्रति आक्रामक बन्ने गरेका छन् । नेपाल कांग्रेससहितको विपक्षी मोर्चाको छलफलमा सहभागि भएपछि उनीसँग प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षले आकस्मिक भेट गरे । यही भेटपछि नेपाल केही नरम देखिएका छन् । विपक्षी मोर्चाका नेताहरुलाई भेट्दैमा आत्तिनु नपर्ने नेपालको दाबी छ ।
नेपालको पार्टीले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा एमालेले सर्मथन जनाए पनि मन्त्रिपरिषद्मा सहभागी छैन । यता, बागमतिमा नेकपा एसका मन्त्रीले लामो समयपछि मात्रै जिम्मेवारी बहन गरेका थिए । मधेश प्रदेशमा फेरीएको राजनीतिक घटनाक्रमपछि जनमत पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने सत्ता पक्षको निर्णयमा नेकपा एसको पनि सहयोग गर्ने मात्रै भनिएको छ ।
तर माधव नेपाल भने जतिबेला पनि सत्ताबाट आफू बाहिरीन सक्ने अभिव्यक्ति मात्रै दिदैनन्, त्यस्तै गतिविधि पनि देखाउँछन् । माधव नेपाल प्रधानमन्त्री र ओलीसँग तर्सिनुमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुट्नुलाई पनि लिन सकिन्छ ।
जसपा नेपाल फुटाउनुमा प्रचण्ड र ओलीको मुख्य हात रहेको नेपालको बुझाई छ । उनी आफ्नो पार्टी पनि प्रचण्ड र ओलीले जुनसुकै बेला फुटाइदिन सक्छन् भनेर पनि ओलीको पेलान सहेर गठबन्धनभित्रै बसिरहेका हुन् । त्यसैले पनि सत्ता पक्षसँगै विपक्षी मोर्चासँगको सामिप्य कायम राखिरहन बाध्य छन् ।
त्यस्तै नेपाललाई पार्टीभित्रै सम्मानित नेता झलनाथ खनालले पनि चुनौति दिइरहेका छन् । पार्टीकै एक कार्यक्रममा आइतवार खनालले अबको नेत्तृत्व सहमतिबाट चयन हुने भन्दै नेत्तृत्वमा जाने इच्छा देखाइसकेका छन् । त्यसैले पनि नेपाललाई पार्टीबाहिर मात्रै होइन, पार्टी भित्रै पनि अप्ठ्यारो अवस्थामा छन् ।