News 24 Television
मागेर जीविका चलाइरहेकी ७० वर्षीय वृद्धाको काँधमा ४ नाति–नातिना, सहयोगी मनको खोजी 

बाजुरा । बाजुरामा ४ जना बालबच्चा छोडेर आमाले अर्को विवाह गर्दा ती नबालबालिकाको विचल्ली भएको छ । आफ्नै स्याहार गर्न नसक्ने ७० बर्षीय हजुरआमालाई ८ बर्षमुनिका ४ जना बच्चाको स्याहारसुसार र पालनपोषण गर्नुपर्ने बाध्यता आइलागेको छ । 

आफैले मागेर जिविकोपार्जन गर्दै आएकी स्याहारसुसार गर्ने बेलाकी वृद्ध आमाको काँधमा बालबालिकाको भरणपोषण जिम्मा आइलागेपछि परिवारको विचल्ली भएको छ । 

बाजुराको त्रिवेणी नगरपालिका ४ गाग्रा (शिवटोल)की ७० वर्षीया वृद्धा विर्मा मिजारलाई यतिबेला नाबालक नातिनातिनाको चिन्ता छ । 

केहि महिना अगाडि बाजुराको त्रिवेणी नगरपालिका ४ गाग्रा (शिवटोल) का प्रकाश मिजार र उनकी श्रीमती मनसरा मिजार छोराछोरीसँगै लिएर कामको खोजीमा भारत गएका थिए ।

कामका लागि भारत गएको केहि महिना नपुग्दै मनसराले ४ चार छोराछोरीसहित श्रीमान प्रकाश मिजारलाई छोडेर अर्कोसँग विवाह गरिन् । प्रकाश मिजारका २ छोरा र २ छोरी गरी ८ बर्षमुनिका ४ सन्तान छन् । 

श्रीमतीले विहे गरे लगत्तै श्रीमान प्रकाश विकले आफुसंग रहेका ४ नाबालक छोराछोरी लिएर घर फर्के । २०८० सालको जाजरकोट भुकम्पले गर्दा उनको घर पनि पुर्णरूपमा क्षति भएको छ । उनिसंग जग्गा जमिन केहि छैन । 

घरमा प्रकाश मिजारकी ७० वर्षिय आमा बिर्मा बाहेक अरू कोही छैनन् । श्रीमती मनसराले अर्को विहे गरेर गएपछि जेष्ठ पहिलो साता छोराछोरी बोकेर प्रकाश भारतबाट बाजुरा फर्किए । 

प्रकाशले ७० वर्ष कटेकी शारिरीक रुपमा अशक्त बेसहारा बनेकी वृद्ध आमाको काँधमा सानासाना छोराछोरी छाडेपछि बालबालिकाको विचल्ली भएको हो । 

७० वर्षीया बिर्माको श्रीमान २० वर्षअघि नै रोजगारीको शिलशिलामा विदेशिएका थिए, तर उनी फर्किएनन् । अहिले पुनः बुहारीले बालबच्चाहरु छाडेर हिडेपछि छोरा प्रकाश पनि मानसिक रुपमा विछिप्त छन् । 

आमाले अर्को विहे गरेपछि अलपत्र अवस्थामा ८ वर्ष मुनिका ४ बालबालिका छन् । पहिलो ८ वर्षिया रिमिसा मिजार, दोस्रो ५ वर्षिय आशिष, तेस्रो २० महिनाकी खुसी र ११ महिनाका आकाश बेसहारा जस्ता बनेका छन् । बालबालिकाहरु भुकम्पले भत्किएको घरमा दिनभरी बस्छन् भने राति अरूको घरमा बस्ने गरेका छन् । 

यी वृद्धा आमाकै स्याहारसुसार गर्ने मान्छे नभएको अवस्थामा अरु चार बालिबालिकाको कन्तबिजोगले छरछिमेकीलाई समेत पिरोलिरहेको छ । 

यी बालबालिकाको विचल्ली देखेर जो कसैको भावविव्हल बनाएको छ । बालबालिकाको सहयोगको लागि नगरपालिकाबाटै पहल गर्ने स्थानीय जनप्रतिनिधिको प्रतिवद्धता छ । 

आर्थिक अवस्था कमजोर भएका यो परिवारका लागि स्थानीयले साथ दिइरहेका छन् । यी बालबालिकाको पालनपोषणका लागि विभिन्न सहयोगी मनहरुको खोजी गरिदिन स्थानीयले अपिल गरेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update