News 24 Television
बाढीका मृतकप्रति मानव अधिकार तथा शान्ति समाज, काठमाडौँद्वारा श्रद्धाञ्जली दीप प्रज्वलन

काठमाडौँ । २०८३ भाद्र १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मानव अधिकार तथा शान्ति समाज, काठमाडौँ शाखाले श्रद्धाञ्जली दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

जोरपाटी चोकमा आयोजित कार्यक्रममा सहभागीहरूले दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए। साथै, बाढीका कारण घाइते भई उपचाररत सम्पूर्णको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।

प्रकृतिको विनाशकारी प्रकोपले निम्त्याएको यस दुःखद घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा बालिएका दीपहरूले पीडित परिवारको पीडामा समाजको ऐक्यबद्धता र मानवताको उज्यालो सन्देश दिएका थिए।कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडीज्यूको उपस्थिति हुनुका साथसाथै केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यहरू र काठमाडौँ कार्यसमितिका पदाधिकारी सदस्यज्यूहरु र आजीवन सदस्यज्यूहरू साथै शुभचिन्तक ज्यूहरूको पनि बाक्लो उपस्थिति थियो।

कार्यक्रमको  मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाका सभापति विकास थापाले विपद्का कारण भएको मानवीय क्षतिले सिंगो राष्ट्रलाई दुःखी बनाएको उल्लेख गर्दै दुःखको यस घडीमा पीडित परिवार, घाइते तथा प्रभावित समुदायसँग सबैले हातेमालो गर्दै जानुपर्ने कुरा राख्दै उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update