News 24 Television
संसदमा खच्चडको दुर्दशादेखि सरकारी सेवा सम्मका कुरा

काठमाडौँ । प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाएका छन् ।

    सभाको आजको बैठकको शून्य समयमा उनीहरुले मधेस प्रदेशमा एक साताअघि हावाहुरीले पुर्याएको क्षतिको राहत, तिब्बतमा पक्राउ परेका नेपालीको उद्धार, जलवायु परिवर्तनले तापक्रम वृद्धि भएकोलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    सांसद प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणअघि केके विषयमा कुराकानी हुने हो त्यसबारेमा सदनलाई जानकारी गराउन माग गरे । सांसद वासुदेव घिमिरेले जलवायु परिर्वतनका कारण नेपालको तराई क्षेत्रमा अत्यधिक तातक्रम बढेको र त्यसका लागि वृक्षरोपण र तालतलैया संरक्षणको अभियानमा लाग्न सरकारको ध्यानाकर्षण गराए ।

    सांसद विन्ध्वासिनी कंसाकारले समाजमा मानसिक स्वास्थ्यलाई धेरै ध्यान दिनुपर्ने जरुरी भएका र त्यसका लागि छुट्टै ‘हटलाइन’ सेवाको सुरुआत गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् ।

    सांसद विना देवीले मधेस प्रदेश कृषिका लागि महत्वपूर्ण भए पनि पानी नपरेकाले बाली लगाउन पाएको नपाएको हुँदा सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

    सांसद विनिता कठायतले मुगुको उत्तरी भेगको करिब एक हजार तीन सय घरधुरीले खानेपानीको समस्याका भोग्नुपरेको र सो स्थानका बासिन्दा खानेपानीको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

    सांसद विमला सुवेदीले नुवाकोटको सडक निर्माणलाई  तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइन् ।

    सांसद पुष्पबहादुर शाहले अछाममा कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका १४ मध्ये १२ खच्चडको उद्धार गरिएको र दुईवटा मरेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै अहिले उक्त पुलमा आवतजावत बन्द भएको बताए । साथै उनले स्थानीयको दैनिकीमा बाधा भएकाले यथाशीघ्र पुल सञ्चालनमा ल्याउन र अन्य पुलको पनि समयमै मर्मत गर्न माग गरे ।

    सांसद पूर्णबहादुर घर्तीमगरले बागलुङमा काम सम्पन्न नहुँदै बाटो जीर्ण हुँदै गएको र ठेकेदारले लापरवाही गरको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद प्रतिक्षा तिवारीले काठमाडौँबाट गरिब हटाउने नभई गरिबी हटाउन माग गर्नुभयो ।

    सांसद प्रदीप पौडेलले सरकारी कार्यालयमा राम्रो व्यवहार नहुने र ढिलासुस्ती हुने गरेको भन्दै युवामा बढेको निराशा हटाउन पनि सेवाग्राहीसँग राम्रो र उचित व्यवहार गर्न आग्रह गरे ।

   सांसदद्वय प्रभु साह र प्रभु हजाराले एक साताअघि आएको हावाहुरीले बारा र पर्सामा घर र बालीनालीमा ठूलो क्षति भएकाले पीडितलाई तत्काल राहत र क्षतिपूपर्ति दिलाउन माग गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update