News 24 Television
बाढीपहिरोको बहानामा तरकारीको भाउ बढाइयो

काठमाडौँ । पछिल्लो केही दिनयता तरकारीको मूल्य आकाशिएको छ । एक्कासी तरकारीको भाउ आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । व्यापारीहरूले निरन्तर परिरहेको वर्षाले किसानले खेतबारीमा पुगेर तरकारी टिप्न नसेकेको दाबी गरेका छन् भने उपभोक्ताहरू बजारको उपलब्धतामा चित्त बुझाउन बाध्य छन् । 

बाढी–पहिरोले देशका विभिन्न सडक अवरुद्ध हुँदा सामान ढुवानी प्रणाली प्रभावित भएपछि काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अकासिएको छ । गत हप्ताको तुलनामा यो हप्ता तरकारीको मूल्य अचाक्ली वृद्धि भएको उपभोक्ताहरू बताउँछन् । शुक्रबार र शनिबारको लगातार वर्षाले विभिन्न सडकमार्गमा बाढी र पहिरोले क्षति पुर्याएको छ । जसका कारण उपत्यकामा आउने तरकारीको आपूर्ति न्यून हुँदा थोक मूल्य महँगिएको ब्यापारीहरुले बताएका छन् । बजारमा उपलब्ध तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् ।

तरकारीको मूल्य अध्याधिक वृद्धि भएको छ । तर, उपलब्ध तरकारीसमेत विक्री नभएको व्यवसायीहरूले गुनासो गरेका छन् । एकातर्फ वर्षाले ढुवानी प्रभावित हुँदा तरकारी ल्याउन नसकिएको बताइएको छ भने अर्कोतर्फ बजारको माग भन्दा धेरै तरकारी आएकाले पनि बजारमा उत्साह नभएको भनी ब्यापारीहरुले विरोधाभाष तर्क गरिरहेका छन् ।  

होलसेलका व्यापारी मात्रै होइन, खुद्रा व्यापारीहरू पनि तरकारीको मूल्यमा उच्च वृद्धि नभएको दाबी गर्छन् । पछिल्लो केहीदिनको तुलनामा तरकारीको मूल्य गिरावट आएको उनीहरुको दाबी छ । बाढीका कारण क्षति भएको बल्खुको तरकारी बजारमा पनि व्यापार सुस्ताएको छ । किसानले वर्षाका कारण खेतबारीमा पुगेर तरकारी टिप्न र टिपेको तरकारी बजारसम्म पुर्याउन सकिरहेका छैनन् । 

वर्षायाममा सिनजल तरकारीको मूल्यमा अचाक्ली वृद्धि भएको भएपनि उपभोक्ताहरू भने बजारको उपलब्धतामा नै चित्त बुझाउन बाध्य छन् । 

मूल्यवृद्धि अस्वभाविक ढंगले बढ्दै गएको भए पनि यसको अनुगमन गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको गुनासो उपभोक्ताको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको भाउ तोकिदिएको भएपनि बजारमा व्यापारीहरुले मनपरी मूल्यमा विक्री गर्ने गरेका छन् । यसरी उपभोक्ताको ढाड सेकिने गरी तरकारीमा भएको मूल्य वृद्धिबारे सम्बन्धित निकायले भने चासो दिन सकिरहेको छैन । 

 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update