काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी कमजोर बन्नुमा विभिन्न गल्ति औल्याउन थालेका छन् ।
प्रचण्डले सरकारमा पुग्ने विषयलाई विचौलियासँग जोड्दै अनेक प्रलोभनमा पारिएको र पर्न पुगेको दाबी गरेका छन् ।
प्रचण्डले पार्टी विभाजनदेखि जनतासछग पुग्न नसक्नु आफ्नो पनि गल्ति भएको जिकिर गर्दै अबको यात्रा कठिन तर सहजताका लागि हुने भन्दै आफ्ना कमीकमजोरी ढाकछोप गर्ने प्रयास गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त बनेसँगै प्रायः बाहिर कमै निस्किने गरेका छन् । सार्वजनिक कार्यक्रम भन्दा पनि खुमलटारमै नेता कार्यकर्ता भेट्ने र योजना बनाउने काममा जुटिरहेका छन् ।
यस्तोमा कोशी प्रदेशको पार्टी बैठकमा पुगेका प्रचण्डले विभिन्न गल्ति औल्याउदै केही दिनअघिकै अब जनतामा जाने आफ्नै अभिव्यक्ति दोहो¥याएका छन् ।
पार्टी बैठकमा प्रचण्डले कोशीबाट थालेको यात्रालाई क्रमश निराश देखिएका नेतामा आशा पैदा गर्ने, आत्मालोचना गर्ने र जनतामा जाने माहोल सिर्जना गर्न खोजेको देखिन्छ । यस्तोमा उनले कमजोरीका फेहरिस्त यसरी खुलाएका छन् ।
१. चुनावमा पनि जाने र विद्रोह पनि गर्ने भन्दै अलमलकारी निर्णय लिनु
२. पार्टी विभाजन रोक्न नसक्नु
३. क्यान्टोनमेन्टमा जनमुक्ति सेना राखेर विद्रोहको हवाला दिनु
४. जनयुद्धका होलटाइमर कार्यकर्तालाई आफ्नो व्यवस्थापन आफै गर भन्दै
जिम्मेवारी बहन नगर्नु
५. पुँजिपति र विचौलियाको संगत र भुलभुलैयामा पर्नु
६. गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्नु
पार्टी बैठकमा प्रचण्डले यस्ता कारणले पार्टी कमजोर बनेको निष्कर्ष सुनाएका छन् । पार्टी कमजोर बन्नुमा यतिमात्रै कारण हो वा के ? यो निर्णय अब बस्ने भनिएको स्थायी समिति र केन्द्रिय समिति बैठकले लिने बताइएको छ ।
माओवादी केन्द्रलाई वामपन्थी अग्रगमनकारी पार्टी निर्माण गर्न अब आफैबाट शुद्धिकरण थाल्नुपर्ने दाबी गरेका प्रचण्डले के आफू पनि सच्चिने काम गर्लान ? प्रश्न र शंका छ ।
प्रचण्डले औल्याएका कारण कति सत्य ?
चुनाव वा विद्रोह ? तत्कालीन माओवादीभित्रको आन्तरिक विवाद थप झाँगिने कारण बनेको कुरा हो । चुनाव पनि र विद्रोह पनि भन्ने तर सेनालाई क्यान्टोनमेन्टमा राख्ने प्रचण्डको निर्णयले पार्टीमा विवाद भयो र विभाजनका श्रृङ्खलाहरु चल्न थाले ।
प्रचण्डले अहिले निकालेको निष्कर्ष पनि यस्तै देखिन्छ । जनयुद्धमा होलटाइमर बनेर पार्टीका लागि योगदान दिएकाहरु चरम संकटमा फस्दै गएपछि उनीहरु विस्तारै पलायन भए ।
जो साँच्चिकैका पार्टी निर्माता थिए, उनीहरु नै उपेक्षामा पर्न थालेपछि पलायन मात्रै भएनन्, जिविकोपार्जनका लागि विचौलिया, पुँजीपति तथा जस्तोसुकैको सम्पर्कमा पुगे भने केहि अलपत्र बने । कार्यकर्ता व्यवस्थापनमा ध्यान नदिदा माओवादी क्षयिकरण तीब्र गतिमा हुन पुग्यो ।
गिरिजाबारे प्रचण्डको चुकचुक
गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट प्रचण्डले रोक्न अनेक कोसिस गरे र रोके पनि । कांग्रेसबाटै रामवरण यादव राष्ट्पति बने तर सहजरुपमै कोइराला राष्ट्रपति बन्न पाएको पहिलो संविधानसभाले नै संविधान बनाउथ्यो र माओवादी केन्द्रको हात तल पर्ने सम्भावना कम हुन्थ्यो ।
जनमतको उकालो यात्रापछि हौसिएको माओवादी युद्धको धङ्धङ्गी बोकेर लफडा गर्नतर्फ केन्द्रित बन्दा गिरिजाले पनि प्रचण्ड र माओवादीलाई विश्वास गर्ने वातावरण बनेन भने संविधान पनि निर्माण हुन सकेन् ।
गिरिजालाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बनेको भए प्रचण्डले अर्को स्थान बनाउन सक्थे । जुन हुन सकेन् । तर यीनै घटनाक्रमले माओवादीको ओरालो यात्रा सुरु भयो ।
दोस्रो संविधानभाको निर्वाचनसम्म आइपुग्दा पहिलो संविधानसभाको निर्वाचनमा पाएको विश्वास र जनमत स्वाट्टै घटिसकेको थियो । यहि घटनालाई प्रचण्ड प्रायः ग्लानीको रुपमा लिने र कमजोरी भएको बताउने गर्छन् ।
कोशीबाट माओवादीको चलाखी
कोशी प्रदेशको नामाकरण विवाद भएपनि औपचारिक रुपमा कोशी प्रदेस भइसकेको छ । तर, माओवादी केन्द्रले सत्ताबाट बाहिरिएपछि फेरि राजनीतिलाई नयाँ मोडमा दिन कोशी प्रदेशको नाम अस्वीकार गर्ने सन्देश दिन प्रदेश १ लेखेको ब्यानरमा कार्यक्रम गरेको छ ।
कोशीमा पहिचानवादीहरु उल्लेख्य मात्रामा छन् । गएको उपचुनावमा पहिचान पक्षधरले पाएको मतदेखि कोशीमा पहिचानको पक्षमा उभिनेको जनमतलाई माओवादीले नजिकबाटै नियालीरहेको छ ।
माओवादीको ब्यानर रणनीति पहिचानवादी रिझाउने उपाय हो र यो विषयको साक्षी पूर्वप्रधानमन्त्री प्रचण्ड बनेका छन् ।
