News 24 Television
नेपाललाई ऐतहासिक पदक दिलाएकी एरिकाको भव्य स्वागत

काठमाडाैँ । एशियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतहासिक पदक दिलाएकी एरिकाले गुरुङ मंगलबार स्वदेश फर्किएकी छन् । चीनकाे हाङ्झाउमा सम्पन्न २०औँ  सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेर फर्किएकी उनले स्वर्ण जित्ने लक्ष्य भए पनि घुँडाकाे चोटका कारण सम्भव नभएको बताइन् ।

कराँते खेलाडी एरिकाले महिला ६८ केजीभन्दा माथिको तौल समूहमा रजत पदक जितेकी थिइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनीसँगै अन्य खेलाडी र प्रशिक्षक कुशल श्रेष्ठलाई स्वागत गर्न खेलकुद पदाधिकारीहरू विमानस्थलमै पुगेका थिए । 

एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भए पनि विपक्षी धेरै राम्रो रहेको बताइन् । फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको बताउँदै उनले आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा यो भन्दा राम्रो नतिजा ल्याउने उनकाे विश्वास छ ।

मंगलवार स्वदेश फर्किएकाे नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गरिएको हाे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीललाई स्वागत गरेका थिए । नेपाल कराँते महासंघ, नेपाल पुलिस क्लव र विभिन्न खेलका खेलाडी नेपाली टोलीको स्वागतमा उपस्थित रहे । सो अवसरमा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एशियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गरेका थिए । 

प्रशिक्षक कुशलले चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताए । प्रशिक्षक कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे । 

सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको बताउँदै अझै धैरे सफलता दिलाउन सक्ने विश्वास व्यक्त रे । उनले यो सफलतामा प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासंघको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गरे ।

Erik-1727164742.jpg
 

सन् २०२६ मा हुने २० औं एशियाली खेलकुदमा कराते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । एरिकासँगै अन्य खेलाडीले सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा राखेपले सहयोग गर्ने बताएका छन् ।

एरिकाले चीनको हाङझाउमा सम्पन्न २० औं सिनियर एशियन कराते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौलसमूहमाथि रजत पदक जितेकी थिइन् । नेपालका कुनैपनि खेलाडीले यस अघि एशियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेको थिएन । यद्यपि, उनी पहिलो स्वर्ण जित्न भने चुकिन् । यसअघि एरिका चीनकै हाङझाउमै एशियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्नबाट चुकेकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update