
काठमाडौं । जागिर खोज्न गयो पढाइ र अनुभव सोधिन्छ । कम पढेका र अनुभव नभएकाहरुले आफूले रोजेको जागिर पाउँनै गाह्रो । केहि व्यवसाय आफैं गरौं सीप जानेको हुँदैन । कुनै सीप सिकौैँ न भन्दा पनि कहाँ सिक्ने र सिक्दा कति पैसा लाग्छ ? त्यो पनि थाहा छैन ।
यी र यस्ता यावत् समस्याहरूबाट आजित छन् आजका युवा पुस्ता । धेरै त देशमा केही हुँदैन भन्दै विदेश पलायन भैसके । तर, लाखौं लाख ऋण लिएर विदेश जानु भन्दा २० हजारमा व्यवसाय शुरु गरेर उदहारण बनिरहेका छन्, देवकी र सुष्मा बोगटी । उमेरले सुष्मा सानी भएपनि देवकीकी गुरु हुन् । सात वर्षअघि सुष्माले डल अर्थात गुडिया, कुसनलगायत बनाउने तालिम लिएकी थिइन् ।
सानैदेखि हस्तकलामा रुचि राख्ने भएकाले सुष्मालाई डल, कुसन बनाउन त्यत्ति गाह्रो भएन । उनी आफै सिक्दै गर्दा अरुलाई सिकाउन सक्ने भैसकेकी थिइन् । विभिन्न समूहलाई डल बनाउन सिकाएकी सुष्माले दिदी देवकीलाई पनि सिकाइन् ।
त्यसपछि उनीहरूले आफ्ना सीप र सिर्जनशीलतालाई व्यवसायमा बदल्ने निर्णय गरे । र, दुईवर्षदेखि आफैले डल(टेडी), कुसनलगायत आफैले बनाउने, तालिम दिने र कच्चा साम्रगी बेच्दै आएका छन् । स्थानीय बजारमा राम्रो प्रतिक्रिया पाएपछि उनीहरूले आफ्नो उत्पादनलाई राष्ट्रिय स्तरमा पु¥याउने योजना बनाएका छन्।
साना बच्चा भएका आमाहरू जो १० बजेदेखि ६ बजेसम्मको नियमित काममा जान सक्दैनन् उनीहरूका लागि डल, कुसन बनाउने व्यवसाय सहज हुने बताउँछन्, बोगटी दिदीबहिनी । व्यवसाय शुरु गर्दा उनीहरूमा पनि शंका थियो ।
डल, कुसन बनाएर जीविकोपार्जन गर्न सकिन्छ र ? ग्राहकहरू माझ आफ्नो उत्पादन कसरी पु¥याउने ? बजारमा प्रतिस्पर्धा कसरी गर्ने ? यी र यस्ता प्रश्नले उनीहरू आफै पनि घेरिएका थिए । तर, सुष्मा सहकारीमा जागिरे भएकाले विभिन्न स्थानमा पुग्दा उनी आफैले ग्राहकहरू बनाइन् ।
देवकीले आफ्नो कस्मेटिक पसलका ग्रहकलाई भन्न थालिन् । अहिले तारकेश्वर–६ मा उनीहरूको डल नभएको घर छैन । आक्रमक व्यापार नगरेको भएपनि आफ्नो उत्पादाको खपद सन्तोषजनक रहेकोमा उनीहरू सन्तुष्ट छन् । उनीहरूले ५० सेन्टीमिटर देखि ६ फिट सम्मको टेडी बनाउने गरेका छने भने ग्रहकको माग अनुसारको रंग र आकारको पनि बनाउँछन् ।
यस व्यवसायले उनीहरूलाई मात्र होइन, गाउँका अन्य महिलाहरूलाई पनि आर्थिक स्वतन्त्रता दिलाएको छ । कनकी आफूले जानेको सीप उनीहरूले आफूमा मात्रै सीमित नगरी समूहमा तालिम पनि दिन्छन् ।
आफ्नो सीप र मेहनतको सहायताले देवकी र सुष्माले डल बनाउने व्यवसायलाई उद्यमशीलताको उदाहरण बनाउन सफल भएका छन् । यो व्यवसायले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै महिला सशक्तीकरणको उदाहरण पनि प्रस्तुत गरेको छ ।