News 24 Television
औचित्यका प्रश्नदेखि एकताका चर्चाः मोर्चाको मक्सद र दलीय दाउ

काठमाडौं । समाजवादी मोर्चाको कार्यक्रममा नेताहरुले मन माझामाझ गरेका छन् । मोर्चाप्रति प्रचण्डको चाहना नै छैन कि भन्ने आशंकासहित वामपन्थी एकता र सहकार्यका प्रश्नमा नेताहरुले धारणा राखेका छन् । मोर्चाको बैठकमा नेताहरुले शासकीय स्वरुपदेखि सरकारमाथिका असन्तुष्टी समेत छरपष्ट पारेका छन् । 

समाजवादी मोर्चाको सक्रियताबारेका प्रश्नहरु पेचिला बनिरहेका छन् । समाजवादी मोर्चा प्रचण्डका कारण निष्क्रिय बन्ने गरेको आरोप पनि लाग्ने गरेको छ । अझं, समाजवादी मोर्चालाई गति दिने कि नदिने भन्ने विषयमै मतभेद चलिरहेको स्थितिमा मोर्चाबन्दीलाई एकतासम्म लैजाने दाबी गरिएको छ । तर, समाजवादी मोर्चाले फेरि सक्रियता बढाउने दाबी नेताहरुले गरेका छन् । यस्तोमा समाजवादी मोर्चाको फोरम प्रचण्ड केन्द्रित नै बन्न पुगेको छ । 

एकताको ब्यग्र प्रतिक्षामा रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले प्रचण्ड सरकारले चलाएको सुशासन र भ्रष्टाचारविरोधि कदमका कारण सत्तामा कांग्रेस एमाले आएको दाबी गरे । 

नेसपाजस्तै मोर्चाको संयोजक रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले पनि समाजवादी मोर्चा ब्यूझिएको जिकिर गरेका छन् । अहिलेको सरकारमाथिका प्रश्नमा प्रवेश गरेका विप्लवले मोर्चा सुत्नलाई नबनेको दाबी गरेका छन् । 

मोर्चामा सम्मिलित दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान नहुने धारणा राख्नेमै केन्द्रित भएका छन् । केपी ओली नेतृत्वको सरकारमाथि खनिएका माधवले उपेन्द्र यादवलाई लक्षित गर्दै चाहना हुँदाहुँदै पनि बैठकमा सहभागी हुन नसकेको जिकिर गरेका छन् । 

मोर्चामा रहेका दलहरुको समान विचार, उद्देश्य र कार्यक्रम नहुँदा उनीहरुले खुलेरै एकताको विषयलाई धकेलिदिने गरेका छन् । तत्काल एकता नहुनेमा प्रष्ट देखिएका नेताहरुले समाजवादी मोर्चालाई वामपन्थी ध्रुबिकरणको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । भने प्रचण्डले समाजवादी मोर्चाको माध्यमबाट जनतालाई समुन्नत बनाउने यात्रा तय गर्ने दाबी गरिरहेका छन् । 
मोर्चामा रहेका दलहरुको राजनीतिक उद्देश्यदेखि समान धारणा नहुँदा समस्या देखिन्छ । तर, उनीहरुले यसलाई आधार बनाएर राजनीतिक कार्यक्रम गर्ने र जनतालाई सेवा प्रवाहमा चुस्तता कायम गर्ने दाबी गर्दै आएका छन् । 

मोर्चामा सहभागी दुई दल विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेसपा माओवादी केन्द्रसँगको एकताका निम्ति हतारिएको स्थिति छ भने नेकपा एसभित्रको उकुसमुकुस चलिरहेकै छ । मोर्चामा अन्य दलहरुको सहभागिताको प्रश्न चलिरहेको बेला मोर्चाको सक्रियतामाथि नै प्रश्न उठिरहेकाले के यसको उपादेयता पुष्टी गर्ने काम होला ? प्रश्न बग्रेल्ती छन् ।

समाजवादको आवरण

समाजवादी मोर्चामा सहभागी दलहरु समाजवादको अभ्यास गर्ने मान्यता राख्छन् । तर, उनीहरुलाई समाजवादको आधार तयार गर्ने विषयमा रोडम्याप तयार गर्ने फुर्सत भने देखिन्न । 

समाजवादमा जाने कार्यक्रम भन्दै नेकपा एकीकृत समाजवादीले कार्यदिशा नै पारित गरे पनि उसको राजनीतिक शक्ति क्षयीकरणको रफ्तार बढिरहेको छ । यता, माओवादी केन्द्र अहिले पनि २१ औं शताब्दीको जनवादकै कार्यदिशामा छ । 

यसरी हेर्दा दुई संसदीय दलको हविगत नै समाजवादउन्मुख नभएको बेला समाजवादको अभ्यास कागलाई बेल पाक्यो हर्ष न विष्मातको अवस्था बनिरहेको छ । 

विप्लव नेतृत्वको नेकपा संसदमा पनि छैन् । आगामी निर्वाचनलाई उपयोग गर्ने भन्दै माओवादी केन्द्रसँगको एकता कुरिरहेको छ भने महिन्द्र राय यादवलाई प्रचण्डले नै अलपत्र पारेका छन् । डा. बाबुराम भट्टराईसँग सम्बन्ध विच्छेद गरेपछि यादव नेतृत्वको नेपाल समाजवादी पार्टी एकताको पर्खाईमै तनाव व्यहोरिरहेको छ ।

यसले पनि मोर्चामा सहभागी दलहरुको अलमल कायमै देखिन्छ । यस्तै, नेकपा एकीकृत समावादीमा सम्मानित नेता झलनाथ खनालले मोर्चाको औचित्य नै नभएको भनिरहेका छन् । 

वामपन्थी दलहरुको सहकार्यले स्वभाविक समाजवादको दाबी गरेपनि यसको निश्चित दायरा, कार्यदिशा र अवधारणा आउन सकेको छैन् । मोर्चाले निश्चित विचार र दर्शन अंगालेर बाहिर आउन नसक्दा यसले भन्ने गरेको समाजवादप्रति नै विश्वासको वातावरण सिर्जना हुन सकेको देखिन्न ।

भाषण गर्ने थलो बन्दै मोर्चा

समाजवादी मोर्चामा अहिले उपेन्द्र यादव सहभागी छैनन् । प्रचण्डले आफ्नो पार्टी फुटाइदिएको आरोप लगाइरहेका उपेन्द्रले प्रचण्डले आत्मआलोचना गर्नुपर्नेदेखि विभिन्न सर्त राखिरहेका छन भने मधेस केन्द्रित दलहरुसँग मोर्चावन्दीमा जान सकिन्छ कि भन्ने ध्याउन्नमा समेत देखिन्छन् । 

यस्तोमा अहिले माओवादी केन्द्र, नेकपा एस, विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा छन् । यसरी हेर्दा नेताहरुका अनुहारको इतिहासबाहेकका खास विषय देखिन्नन् । 

उनीहरुले शक्ति आर्जन गर्ने र भाषणबाजी गर्ने थलोको रुपमा मात्रै मोर्चालाई लिएको देखिन्छ । प्रचण्डले सत्ताको नेतृत्व गर्दा पनि यसलाई उपयोगको अस्त्र बनाएको आरोप लाग्ने गरेको थियो भने अहिले पनि यसले प्रभावकारी कार्यक्रम निर्माण गर्ने र जनतामा जाने काम भने गरेको छैन् । तर समाजवादी मोर्चाका नाममा भाषणबाजी भने धेरै भइसकेको देखिन्छ । नेताहरुले तुष पोख्नेदेखि सत्तालाई धारेहात लगाउने थलोको रुपमा यसलाई प्रयोग गरिरहँदा औचित्यमाथिका प्रश्न समेत उठ्न थालेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update