
काठमाडाैँ । आफ्नो जीवनलाई मानव सेवामा समर्पित गरि जीवनका ४० वर्ष मानव सेवामा बिताएर हाल टोरन्टो, क्यानाडा-नेपाली समुदायका गतिविधिमा सक्रिय कृष्ण केसी सम्मानित भएका छन् । बेलायतका राजा चार्ल्स तेस्रोको राज्याभिषेकको अवसरमा "किङ चार्ल्स कोरोनेसन मेडल"द्वारा केसी सम्मानित भएका हुन् ।
मानवीय सेवा र समुदाय विकासमा उल्लेखनीय योगदान दिएका कारण उनलाई यो सम्मान प्रदान गरिएको हो । टोरन्टो क्षेत्रकी सांसद सल्मा जाहिदले उनलाई यो पदक प्रदान गर्दै उनको समर्पणलाई सलामी गरेकी थिइन् । यो पदक क्यानाडाका यस्ता व्यक्तित्वहरूलाई प्रदान गरिन्छ, जसले देश वा विदेशमा उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्छन् ।
केसीले यो सम्मानलाई नेपाली, एसियाली र अफ्रिकी समुदायको साझा सफलताको रूपमा लिएका छन् । उनले भने, "यो पदक मात्र मेरो होइन, यो हामी सबैको हो । मैले गरेका कार्यहरूमा सहयोग गर्ने सबैलाई यसमा साझेदार मान्छु ।"
अहिलेसम्म क्यानाडा सरकारबाट चार राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका केसीले नेपाली समुदायलाई विश्वमै गरिमामय ठाउँमा पुर्याउने आफ्नो अभियान जारी राख्ने बताएका छन् ।