
कैलाली । प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला शनिवारदेखि कैलालीको धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनीको आयोजना गरेको हो ।
माघ ३० गतेसम्म चल्ने मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ८८ वटै स्थानीय तहहरुबाट ४ हजार ५ सय अगुवा कृषकहरुको सहभागिता रहने बताइएको छ ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघको आयोजनामा देशका विभिन्न सहरहरुमा औद्योगिक प्रदर्शनी मेलाहरु चलिरहेकाबेला सुदूरपश्चिमको धनगढीमा भने प्रदेश सरकारले कृषि मेलाको आयोजना गरेको छ ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना शनिवारदेखि प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला सुरु भएको हो । पाँच दिने सुदूरपश्चिमका ९ जिल्लाका ८८ वटै स्थानीय तहहरुबाट ४ हजार ५ सय अगुवा कृषकहरुका साथै २ लाख भन्दा बढी आम उपभोक्ताहरुले मेला अवलोकन गर्ने आयोजकले जनाएको छ । यो मेलाबाट यस क्षेत्रका किसानहरु उत्साहित भएका छन् ।
मेला उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाले विगतमा भएको कृषि अनुदानको कमजोरी औंल्याएका छन् । मन्त्री थापाले कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराएर कृषि उत्पादन प्रवद्र्धन गर्न लागिएको बताए ।
मेला उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलृ कृषि उत्पादन बढाएर युवाहरुलाई रोजगारी कसरी दिने भन्नेमा प्रदेश सरकार लागेको बताए । सुदूरपश्चिम प्रदेशलाई कृषिबाट चिनाउन, उत्पादन बढाउन र बजारीकरण गर्न प्रदेश सरकार तत्पर रहेको उनको भनाई छ ।
एक सय ५० स्टल रहेको मेलामा ९ वटै जिल्लामा उत्पादन भएका कृषि उपजको प्रदर्शनीसगै हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी दिइने, विज्ञहरूसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धान बारे बहस र छलफल समेत गरिने आयोजकले जनाएको छ ।