News 24 Television
वर्षाको ताण्डवले ज्यानमारा बाटो ! बगर कहिले बन्ला सडक ?

मकवानपुर । बाढीले बगाएको ७ महिना भयो । तर, अहिलेपनि दयनीय अवस्था छ, सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडकखण्डको । गएको असोजमा उर्लेको भेलले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने हेवी ज्यामिरे क्षेत्रमा ७ सय मिटर र सिस्नेरी बजार क्षेत्रको ५ सय मिटर सडक बगरमा परिणत गराइदियो । अहिले पनि यो क्षेत्र बगर नै छ । अब त वर्षायाम नजिकिन लाग्यो । वर्षाको आभाससँगै पिरोलिन थालेका छन्, यो बाटो प्रयोग गर्नेहरुका मन । 

सात महिना अघि असोज ११ र १२ गते भीषण वर्षा भयो । त्यो वर्षाले ठुल्ठुला सडक पनि बगर बने । उर्लेको भेलले काठमाडौं लगाएत आसपासका गाउँवस्ती नै सखाप पर्नेगरि ताण्डव मच्चायो । वर्षाको यसै ताण्डवसँग बग्न पुग्यो सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडकखण्ड । यो सडक बगरमा परिणत भएको सात महिना भइसक्यो । अब फेरि अर्को वर्षायाम आउने समय हुनै लाग्यो । तरपनि सडक सुधार गरिएको छैन । बाढीले सडक बगाएपछि यतिबेला हेटौँडा–काठमाडौँ आवतजावत गर्ने सवारीहरु सिस्नेरीको बगरकै बाटोबाट गुड्न बाध्य छन् । कुलेखानी जलाशायको पानी घटाउने क्रममा माथिबाट पानी छोड्दा बगाएको सडक कहिले बन्छ ? भन्ने चिन्ता यात्रुहरुमा छ ।

यता, बर्खा लाग्नु अघि नै यस सडकखण्ड निर्माणको काम सकाएर सवारी आउजाउ गर्न सहज बनाउने तीव्र तयारीमा बागमती प्रदेश सरकार जुटिरहेको दाबी गर्छ । यद्दपी, प्रदेश सरकारको गति भने सुस्त देखिन्छ । 

कसरी गरिँदैछ पुनःनिर्माणको काम ?

-    बाढीले भग्नावशेष बनेको सडक पुनःनिर्माणका लागि बागमती प्रदेश सरकारले दुईवटा प्याकेजमा काम गरिरहेको छ । 
-    हेवी ज्यामिरे क्षेत्रको ७ सय मिटर सडक मर्मत गर्न ४ करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता 
-    सिस्नेरी बजार क्षेत्रको ५ सय मिटर सडक निर्माणका लागि २ करोड ५० लाख रुपैँयामा ठेक्का सम्झौता 
-    हाल सिस्नेरी क्षेत्रको काम शुरु हुन बाँकी छ भने, ज्यामिरे क्षेत्रको सडक मर्मतको ४० प्रतिशत भन्दा बढी काम सकिएको निर्माण कम्पनीको दाबी छ । 

प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना कार्यालय मार्फत यो सडक निर्माणको ठेक्का आव्हान गरेर काम भैरहेको हो । आउँदो बर्खामा डाइभर्सनको बाटोबाट हिँड्न नपर्ने गरी सडक निर्माणको काम भैरहेको कार्यालयका प्रमुख देव नारायण यादव बताउँछन् । 

अहिले खोलाबाट डाइभर्सन गरेर हेटौँडा–काठमाडौं आउजाउ गर्ने सवारीसाधन सञ्चालन गरिएको छ । गत असोजको दोस्रो साताको बाढीले हेटौंडा–काठमाडौँ सडक खण्ड अन्र्तगतमा करिब ३० करोड बढीको सडक संरचनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ 

प्रदेश सरकारले बाढीले क्षति पु¥याएको कुलेखानी ड्याममुनिको सिम खोलाको पुल भएको स्थानमा बेलिब्रिज हाल्ने कार्य पनि बर्खा अगाडि नै हुने गरी काम अघि बढाएको बताइएको छ । सिस्नेरी खण्डमा जाली लगाउने र ग्राभेल गर्ने काम हुने छ भने हेवी ज्यामिरे खण्डमा सडकको ट्र्याक निर्माण गर्ने काम भैरहेको छ । आउँदो मनसुन सुरु हुनु अगावै हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सडकहरु सञ्चालनमा ल्याउने तयारीमा जुटेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको दाबी छ । 

गत असोजको ११ र १२ गते परेको भारी वर्षाले कुलेखानी जलाशाय भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्ने क्रममा बाढीले सिस्नेरी क्षेत्रको सडक बगरमा परिणत भएको थियो । यहाँका ४० घर बगाएको थियो भने दुई दर्जन भन्दा बढी घरहरु डुबानमा परेका थिए । 


 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update