
मोरङ । कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा विराटनगरमा शुरु भएको दुईदिने कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतबाट लगानीकर्ता विराटनगर आएका छन् । यस्तै गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ता पनि सम्मेलनमा सहभागि भएका छन् ।
कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा दुईदिने कोशी प्रदेश लगानी सम्मेलन शुरु भएको छ । विहिवार देखी विराटनगरमा सुरु भएको लगानी सम्मेलनको उद्घाटनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सडक सञ्जाल, कानूनी अवस्था, र अन्य धेरै कारणले लगानीका लागि अनुकूल रहेको बताए ।
सडक सञ्जालकै कारण कोशीमा कच्चापदार्थ ढुवानी र उत्पादनलाई बजारसम्म पु¥याउन कुनै समस्या नभएको प्रधानमन्त्री ओलीको जिकिर छ ।
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्ग अन्तर्गत कन्काई र कमलामा पुल निर्माण भएलगत्तै चितवनसम्म सहज पहुँच हुने, माथिल्लो तर्फ एसियन मापदण्डको राजमार्ग निर्माण भइरहेकाले व्यवसायीलाई बजारसम्म उत्पादन पु¥याउन कुनै कठिनाई नहुने बताए ।
मदन भण्डारी राजमार्ग, कोशी, तमोर, किमाथांका, टिपताला नाका जस्ता स्थानहरू खुला भएको र कोशी करिडोर निर्माण भइरहेकाले लगानीकर्ताका लागि अहिलेको स्थितिमा कोशी प्रदेश एकदमै उपयुक्त रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट सामान ढुवानी गर्न सहज र सस्तो बनाउन जलमार्गको प्रयोग गर्ने गरी काम अघि बढ्ने पनि बताए । उनले कोशी र कर्णाली नदीमा जहाजमार्फत ढुवानी गर्ने गरी काम सुरु गरिएको बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्र्कीले प्रदेश सरकार लगानीकर्ताको भरोसायोग्य साझेदार बन्न तयार बताए । लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारले आठ वटा कानुन अध्यादेशमार्फत संशोधन गरिसकेको पनि उनले जानकारी दिए । उनले लगानीकर्ताले भोग्नुपर्ने झन्झट अन्त्य गर्न र उनीहरूको लगानी सुरक्षित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको र प्रदेशबाट हुने काम तुरुन्तै अघि बढाइनुका साथै संघीय सरकारसँग सहकार्य गरेर सहजीकरण गरिने बताए ।
मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको सक्रिय सहभागिता र समन्वयमा करिब एक वर्षसम्म छलफल गरी सम्मेलनका लागि परियोजना छनोट गरिएको बताए । सम्मेलनमा ८ क्षेत्रका ७१ वटा परियोजना सो–केसमा राखिएको मुख्यमन्त्री कार्कीले बताए ।
सम्मेलनमा विभिन्न मुलुकका लगानीकर्ता, उद्योगपति, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको छ । प्रदेश सरकारले यो सम्मेलनलाई दीर्घकालीन लगानी प्रबद्र्धनको थालनीको रूपमा लिएको छ । सम्मेलन शुक्रबार समापन हुनेछ ।