News 24 Television
युवा संघको महाधिवेशन शुरु, ओलीको सन्देश यस्तो !

कास्की । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन पोखरामा शुरु भएको छ । आईतबारसम्म चल्ने महाधिवेशनको उद्घाटनमा सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् ।  

एमालेको भातृ संगठन युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन पोखरामा शुरु भएको छ । आईतबारसम्म चल्ने महाधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । उद्घाटन पश्चात् सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरे ।

अहिलेको कांग्रेस–एमालेको सरकार नढल्ने र १४ महिनापछि फेरि कांग्रेस नेतृत्वको सरकार रहने गरी शेरबहादुर देउवा प्रधानमन्त्री हुने समेत प्रधानमन्त्री ओलीले बताए । प्रतिपक्षले सरकारलाई अस्थिर राख्न सरकार ढल्ने कुरा गरी जनतामा भ्रम सृजना गरेको आरोप समेत प्रधानमन्त्री ओलीले लगाए ।

पोखराको अम्मरसिंह चौरमा भएको उद्घाटन शत्रमा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिवसमेत रहेका नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहेका एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायत नेताको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनाव जित्न होस् या सरकार चलाउन नेकपा एमाले बिना सम्भव नहुने दाबी गरे ।

हजारौँ युवा हरेक दिन शिक्षा, रोजगारी र अवसरको खोजीमा देश छाडिरहेका अवस्थामा राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनले युवाको निराशालाई आशा र राष्ट्रिय पुनर्जागरणको बलियो सन्देश दिने आयोजकको अपेक्षा छ । 

तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजार प्रतिनिधि पोखरामा जम्मा भएका छन् । अधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, चारजना सचिव, नौजना पदाधिकारीसँगै एक सय ५१ सदस्यीय नयाँ कमिटी चयन गर्नेछ । 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update