News 24 Television
प्रदेशको बजेटमा असन्तुष्टिका आवाज, जनहित नसमेटिएको टिप्पणी

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको बजेटबारे सरोकारवाला निकायले आलोचना गरेका छन् । भुई माँन्छेलाई छुने कुनै योजनाहरु बजेटमा नभएको उनीहरुको टिप्पणी छ । विशेषगरि प्रतिपक्षी दलका नेताहरुले बजेटमा असन्तुष्टि जनाइरहेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारको बजेटबारे सरोकारवाला निकायहरुले आलोचनात्मक टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८२\२०८३ का लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षभन्दा एक अर्ब ८४ करोड ६ लाख ५२ हजार बढी हो । 

कूल बजेटमा पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार अर्थात् ५९.२५ प्रतिशत विनियोजन गरिएको छ, भने चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अर्थात् ३०.४९ प्रतिशत विनियोजित छ । सुदूरपश्चिम प्रदेशले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । तर, यो बजेटप्रति सरोकारवाला सन्तुष्ट रहेका छैनन् । 

असार १ गते सार्वजनिक गरेको बजेटप्रति सकारात्मक वा नकारात्मक कुनै पनि टिप्पणी नदेखिएपछि बजेटप्रति जनतामा कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको सुदूर पश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका नेता त्रिलोचन भट्टको टिप्पणी छ । 

पूर्वमन्त्री पुर्णा जोशीले पनि सरकारले आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई बजेट नछुट्याएको टिप्पणी गरेकी छन् भने नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसीले परम्परागत शैलीमा बजेट आएको टिप्पणी गरेका छन् । 

पर्यटन र व्यापार क्षेत्रका व्यक्तिलाई समेत बजेट खासै चित्त नबुझेको देखिन्छ । प्रदेशको स्रोत न्यायिक बाँडफाड नभएको र भएको बजेट पनि खर्च हुन सक्ने अवस्था रहेको टिप्पणी सतहमा छन् ।

 मुलुकको विकास, आर्थिक समृद्धि, उत्पादन वृद्धि, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण र सुशासन जस्ता विषयहरूको सम्बोधन हुने जनमुखी बजेट जनताको अपेक्षा थियो । तर बजेटले जनतालाई नछोएको टिप्पणी भइरहेको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०८१\८२ को बजेट हालसम्म पनि केवल ३६ प्रतिशत मात्र खर्च गरेको विषयमा समेत आलोचना भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update