
कास्की । गण्डकी प्रदेश सरकारको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएको छ । प्रदेशको आर्थिक गतिविधि र विकासको खाका कोर्ने यो बजेटको पक्षमा सत्ता गठबन्धन उभिए पनि प्रतिपक्ष भने असन्तुष्ट देखिएको छ ।
गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०८२–८३ का लागि प्रस्तावित बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । असार १ गते आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रदेश सभामा प्रस्तुत गरेको ३१ अर्ब ९७ करोड ९७ लाख रुपैयाँको बजेट शुक्रबार बसेको संसद बैठकबाट बहुमतले पारित भएको हो ।
बजेट निर्णय प्रक्रियामा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरू पक्षमा उभिएका थिए । माओवादी केन्द्रले भने बजेटको विपक्षमा मतदान ग¥यो भने राप्रपा तटस्थ बस्यो ।
सत्तारूढ गठबन्धनमा रहेका कांग्रेस, एमाले र नेसपाको दुई तिहाइ बहुमतका कारण बजेट सहजै पारित भएको हो । तर, बजेटमा आवश्यक भिजन र दीर्घकालीन सोच नभएको भन्दै गण्डकीको बजेट जनअपेक्षा पूरा गर्न प्रकारको नभएको माओवादी सांसद सुशिला सिम्खडाको टिप्पणी छ ।
५९ सदस्य रहेको गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका उपसभामुखसहित २२, माओवादीका सभामुखसहित ७, राप्रपाका २ र नेसपाका १ जना सांसद छन् । गण्डकीमा यसपाली नीति, कार्यक्रम र बजेटलाई सन्तुलनमा राखेर ल्याइएको र विकास, रोजगारी तथा सेवा प्रवाहमा बजेट केन्द्रित रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको दाबी छ ।
बजेट पारित भए पनि प्रतिपक्षले उठाएको प्रश्नले आगामी कार्यान्वयन प्रक्रिया चुनौतीपूर्ण हुन सक्ने देखिएको छ । अब बजेट कार्यान्वयनमार्फत सरकारको प्रभावकारिता भने हेर्न बाँकी नै छ ।