
सर्लाही । नेपालमा करिब ८१ हेक्टर जमिनमा उखुको खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये नेपाल ३३ औं स्थानमा पर्छ । नगदेबालीको रुपमा रहेको उखु खेतीका कारण थुप्रैले रोजगारी पाउनुका साथै किसानको आर्थिक हैसियत समेत उकासिएको छ । तर सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उखु उत्पादनमा दिँदै आएको अनुदानसमेत कटौती गरेर उपेक्षा गरेपछि देशभरका उखु किसान चिन्तित छन् ।
नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उखु उत्पादनमा दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका उखु किसानहरू चिन्तित छन् । उखु किसानले उखु मिललाई दिएको भुक्तानी समेत समयमा पाउँदैनन् । उखुको भुक्तानी माग गर्दै किसानहरु हरेक वर्ष सरकारलाई गुहार्दै सडकमा आउनुपर्ने बाध्यता छ । उखुको उचित मूल्य समेत नपाउँदा सरकारले ३० वर्षदेखि अनुदान दिँदै आएको थियो । तर यसपालीको बजेटबाट उक्त अनुदानसमेत कटौती गरेपछि उखु किसानलाई चिन्तित बनाएको हो ।
३० वर्षदेखि निरन्तर पाउँदै आएको अनुदान खारेज गरिएको र चालु आर्थिक वर्षको बक्यौता रकम समेत भुक्तानी नगरेको भन्दै उनीहरूले सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सर्लाही, रौतहट, महोत्तरी सिरहा, बारा, नवलपरासी, सुनसरी, मोरङ, कन्चनपुर लगायतका विभिन्न जिल्लाका उखु किसानहरूको संयुक्त बैठकले श्यामबाबु रायको अध्यक्षतामा ३४ सदस्यीय ‘उखु किसान संघर्ष समिति’ गठन गर्दै आन्दोलनको घोषणा गरेका छन् । सरकारले उखु किसानलाई निरुत्साहित गर्न अनुदान कटौती गरेको उनीहरुको आरोप छ ।
सरकारले किसानलाई दिने अनुदानको रकम चालु वर्षको करिब १ अर्ब ६० करोड रुपैयाँ रकम रोकेर उखु किसानलाई उपेक्षा उनीहरुको भनाई छ । अनुदान नै खोसेर सरकारले किसान विरोधी चरित्र देखाएको भन्दै उनीहरुले सरकारलाई घुँडा टेकाउने गरी सशक्त आन्दोलनको तयारी थालेका छन् ।
नेपालमा साना र ठुला गरी १६ वटा चिनी उद्योग भएपनि १३ वटा सञ्चालनमा छन् । बन्द रहेका ३ उद्योग अहिले पुनः सञ्चालनको तयारीमा छ । ऊखु मिलबाट समयमै बक्यौता नपाएका किसानहरुले सरकारबाट चालु आर्थिक वर्षको अनुदान बापतको करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानीसमेत पाएका छैनन् ।
उनीहरुले कृषि मन्त्री, उद्योग मन्त्रीदेखि सांसदहरूलाई समेत भेटेर समस्याबारे ध्यानाकर्षण गराइसकेका छन् । ऊखुको भुक्तानीसमेत नपाउँदा किसानहरुको पछिल्लोसमेत ऊखु खेतिप्रतिको आकर्षण घट्दै गएको छ । सबै भन्तदा बढी उखु उत्पादन हुने सर्लाहीमासमेत ऊखु उत्पादन घट्दै गएको छ ।