News 24 Television
किसानको समस्या उस्तै, फेरि सडकमा उत्रिए

कास्की । किसानहरु कहिले तरकारीको मूल्य नपाएको भन्दै सडकमा ल्याएर तरकारी फाल्ने गरेका छन् भने कहिले सडकमै दूध पोख्न बाध्य छन् । सरकारले खरिद गरेको दूधको बक्यौता समेत नपाएर आन्दोलन गर्न बाध्य किसानहरु फेरि यतिबेला आन्दोनलमा उत्रिएका छन् । वर्षौँदेखिका समस्या समाधानको माग गर्दै पोखराका किसान सडकमा उत्रिएका हुन् । ‘किसान बाँचे देश बाँच्छ’ भन्ने नारासहित पोखराको मानव अधिकार चोकमा भेला भएका उनीहरूले कृषि क्षेत्रप्रति सरकारको बेवास्ताले आफूहरू आन्दोलनमा आउन बाध्य भएको बताएका छन् । किसानहरूको माग तत्कालै सम्बोधन सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् ।

कृषि व्यवसाय र कृषक माथि परेका समस्या सम्बोधन गर्न माग गर्दै गण्डकी प्रदेशका कृषकहरु सडकमा उत्रिएका छन् । ’किसान बाँचे देश बाँच्छ’ भन्ने नाराका साथ मंगलबार पोखराको मानव अधिकार चोकमा प्लेकार्ड सहित कृषकहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । 

अखिल नेपाल किसान महासङ्घ गण्डकीको आयोजनामा भएको विरोध प्रदर्शनमा उत्पादनमा आधारित अनुदान व्यवस्था हुनुपर्ने, सरकारले नै कृषि उत्पादनको सोझै खरिदको ग्यारेन्टी गर्नुपर्ने, कृषि कर्जा तथा बीमालाई सहज र सिधा पहुँचयोग्य बनाउनुपर्ने, जलवायु मैत्री कृषि नीति लागू गर्नुपर्ने, प्रदेश नाकामा प्रभावकारी कृषि क्वारेन्टाइन स्थापना गर्ने, कृषि तथा पशुपंक्षी समूह दर्ता निःशुल्क गराउने लगायत मागहरू राखेका छन् । 

सरकारले आफूहरुको समस्या नसुनेको र पछिल्लो समय कृषि व्यवसाय र कृषकले भोग्दै आएको समस्याबारे सरकारले ध्यान नदिएको हुँदा सडकमा उत्रनु परेको कृषकहरुको भनाइ छ ।

वर्षौँदेखि किसानहरू समस्यामा रहेको, तर सरकारले त्यसतर्फ ध्यान नदिएको कृषकहरुको आरोप छ  । कृषि क्षेत्रमा आएको संकटले उत्पादनमा मात्र नभई किसानको जीवनयापनमा समेत ठूलो असर पारेको उनीहरूको भनाइ छ । 

देशमा धेरै आन्दोलन भएपनि किसानको समस्या भने जिउका त्यउँ रहेको अखिल नेपाल किसान महासङ् गण्डकीका अध्यक्ष गोवद्र्धन गौली बताउछन् ।

कृषकका आधारभूत मागहरू वर्षौँदेखि दोहोरिँदै आए पनि समाधान भने अहिलेसम्म हुन सकेको छैन । कृषि नीतिमा स्थायित्व नआएसम्म किसानको भविष्य सुरक्षित नहुने किसानहरूको भनाइ छ । सरकारले अविलम्ब कृषि क्षेत्रका मूलभूत समस्या सम्बोधन गरी कृषकलाई सहज वातावरण तयार गर्न माग गर्दै, विरोध जारी रहने किसानहरूले सरकारलाई चेतावनी समेत दिएका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update