रुपन्देही । भैरहवास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाको गोदाम नै खाली भएको छ । खाद्य व्यवस्थाले यसवर्ष ५ हजार क्विन्टल साँवा मनसुली धान खरिद गर्ने लक्ष्य राखेको छ । तर, बजार भाउ भन्दा बढी मूल्य तोकिए पनि किसानले धान विक्री गर्न नआउँदा गोदाम नै खाली भएको हो ।
रुपन्देही र आसपासका किसानले बढी मात्रामा साँवा मनसुली धान खेती गर्छन् । यही कारण भैरहवास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाले यसवर्ष ५ हजार क्विन्टल साँवा मनसुली धान खरिद गर्ने लक्ष्य राखेको छ । तर, केही किसान धान बिक्री गर्न कम्पनीमा सम्पर्क राख्न आए पनि बिक्री गर्न भने आएका छैनन् ।
अन्य समयमा धान विक्री गर्न आउने किसानको चहलपहल हुनुपर्ने कम्पनीको कार्यालय यतिबेला सुनसान बनेको छ । न किसान भेटिन्छन्, न त खरिद गरिएको धानले भरिएका गोदाम नै । धान राख्ने भनिएका गोदाम पनि रित्तै छन् । कार्यालयमा कर्मचारी फुर्सदिला बनेका छन् । कम्पनीका अन्य कार्यालयमा धान बेच्न आउने किसानको ताँती लाग्ने गरेको छ । तर भैरहवामा भने किसान आकर्षित हुन सकेका छैनन् ।
धान खरिद गर्न मूल्य निर्धारण गरिएको एक हप्ता भयो । निर्धारण गरिएको खरिद मूल्य बजार भाउ भन्दा बढी छ । कम्पनीले निर्धारित मूल्यमा धान खरिद कार्यक्रम सुरु गरेको जनाएको छ । बजार भाउ भन्दा महंगोमा धान खरिद गरिने जानकारी किसानलाई गराइएको छ । तर, पनि धान बिक्री गर्न किसान कम्पनीमा आएका छैनन् ।
प्राथमिक खरिद समितिले साँवा मनसुली धान खरिद गर्न प्रति क्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा मूल्य निर्धारण गरेको छ । तर, बजारमा प्रति क्विन्टल मूल्य ३ हजार ५ सय रुपैयाँ मात्र छ । यस कम्पनीले गत मंसिर ५ गतेदेखि धान खरिद कार्यक्रम सुरु गरेको हो । अहिलेसम्म २२ क्विन्टल मात्र धान खरिद गरेको छ ।
बिक्रीका लागि किसानले ल्याएको धानको गुणस्तर हेरेर मात्र कम्पनीले खरिद गर्ने भएकाले र गाउँगाउँका किसानलाई कम्पनीले बजार भाउ भन्दा महंगोमा धान खरिद गर्छ भन्ने जानकारी नपुगेर पनि नआएको हुन सक्ने आँकलन छ ।
कम्पनीले धान खरिद गर्दा गुणस्तरको मापदण्ड हेरेर मात्र खरिद गर्ने तर बाहिर बजारमा भने गुणस्तरमा केही कमी भए पनि खरिद गर्ने भएकाले किसान तथा धान व्यापारी कम्पनीमा नगएको हुन सक्ने उद्योगी–व्यवसायीको विश्लेषण छ ।
बाहिर खाद्य कारखानाले मनसुली धानमा अलिअलि अन्य धान मिसिएको र बढि नै चिसोपन भएको पनि खरिद गर्ने गर्छन् । तर खाद्य कम्पनीले गुणस्तरको मापदण्ड पुरै पालना गर्ने गर्छ । कम्पनीले गुणस्तर हेरेर खरिद गर्ने भएपछि किसान तथा व्यापारीले बाहिर विक्री गर्दा धेरै फाइदा पाउँछन्, त्यसैले बाहिर नै विक्री गर्ने गरेको बताइन्छ ।
खरिदारीका लागि भुस, पराल नभएको, अन्य धान नमिसिएको, धानमा बढि चिसोपन नभएको, नबिग्रिएको लगायतका मापदण्ड कम्पनीले राखेको छ । साँवा मनसुली धान बिक्रीका लागि किसान तथा धान व्यापारी भैरहवाका मील उद्योग समक्ष भने पुगिरहेका छन् ।
