News 24 Television
एनपीएल अघि बढाउन हौसिए प्रधानमन्त्री, १०औँ राष्ट्रिय खेलकुदको छैन अत्तोपत्तो ! 

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा भएको भनिएको आर्थिक अनियमितता छानबिन गर्न गठित कार्यदलले केही दिनअघि नेपाल क्रिकेट संघ (क्यान) लाई पत्राचार गर्दै एनपीएल दोस्रो संस्करणका कुनै पनि काम अघि नबढाउन निर्देशन दियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उक्त अनियमितताको उजुरी विचाराधीन रहेकोले अख्तियारको छानबिन नसकिँदासम्म एनपीएलका कुनै पनि गतिविधि नगर्न कार्यदलको चेतावनी थियो । एनपीएलको हिसाबकिताब ६ महिना बितिसक्दा पनि सार्वजनिक नभएको अवस्थामा उक्त निर्देशनात्मक पत्र काटिए पनि पत्र नै विवादमा प¥यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले  आफ्नो लेटरप्याड कार्यदलले प्रयोग गरेको भन्दै आपत्ति जनायो र अबदेखि त्यसो नगर्न निर्देशन पनि दियो । जसले राखेप र कार्यदलबीच तथा कार्यदल तथा क्यानबीचको मतभेदलाई उजागर गर्छ र यसबाट प्रस्ट हुन्छ कि खेलकुद क्षेत्रमा पनि राजनीति हाबी छ ।

तर छानबिन कार्यदललाई नै चुनौती दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो संस्करणको एनपीएलको तयारीमा जुट्न निर्देशन नै दिए । नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटनका क्रममा बिहीबार ओलीले टिम स्पिरिटका साथ एनपीएलको तयारीमा जुट्न आग्रह गरे । त्यसको केही समयमै ओलीले आफ्नो फेसबुकमा एउटा पोस्ट हाले– एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, भव्य तयारी गर्नुस् ! ओलीले खेलकुद मन्त्री तेजुलाल चौधरी समेतलाई लक्षित गर्दै  खेल क्षेत्रमा कुनै पनि राजनीतिक हस्तक्षेप नगर्न चेतावनी समेत दिए । सरकारमा आएपछि अनावश्यक राजनीति नगर्न र जुन क्षेत्रको काम–जिम्मेवारी हो, त्यो पूरा गर्न उनले आग्रह गरे । खेल क्षेत्र राजनीतिभन्दा बाहिर हुनुपर्ने बताउँदै उनले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताए पनि अहिलेसम्म उक्त खेलकुद हुने अत्तोपत्तो छैन । 

पटकपटक स्थगित भएको १०औँ खेलकुद प्रतियोगिता अब कहिले हुन्छ भन्ने टुंगो छैन । हालसम्म १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नयाँ मिति तय भएको छैन । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच नयाँ मिति र व्यवस्थापनका लागि छलफल चलिरहेको बताइएको छ । आगामी आर्थिक वर्षको बजेट र पूर्वाधार निर्माणको प्रगति हेरेर सम्भवतः मंसिरका लागि नयाँ मिति घोषणा गरिनेछ । अघिल्लो मंसिरमै हुनुपर्ने खेलकुद अहिलेसम्म नुहुनुले मुलुकको खेल क्षेत्र लथालिंग रहेको ठहर्छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मंगलबार संसदमा सम्बोधन गर्दै खेल सञ्चालनका लागि उपयुक्त मौसम र भौतिक पूर्वाधार तयार नभएको कारण देखाउँदै १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकिएको बताए । सरोकारवालाहरूबाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको उनको भनाइ थियो । प्रतियोगिता सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटसमेत विनियोजन भइसकेको भन्दै अब प्रतियोगिता नयाँ आर्थिक वर्षमै सञ्चालन गरिने जानकारी दिए ।

आर्थिक वर्ष २०८१/०८२ को बजेटमा १० औँ खेलकुदका लागि करिब ६० करोड बजेट विनियोजन गरिएको थियो । तर पछि अर्थ मन्त्रालयले त्यसको २५ प्रतिशत बजेट कटौती गरिदियो, जसले गर्दा बजेट समेत अभाव हुने भएकाले गत जेठका लागि निर्धारित उक्त खेलकुद सञ्चालन गर्न सकिएन । मुख्य कुरा त पूर्वाधार अभाव र राजनीतिक समन्वय नहुनुले समेत खेलकुद १ वर्ष नै पर धकेलिएको छ । गत सालको मंसिरमै गर्ने भनिएको १० औँ राष्ट्रिय खेलकुद पूर्वाधारकै कारण देखाएर चैत्रमा सारियो, त्यसपछि जेठमा सारियो । त्यसपछि बजेट, पूर्वाधार र मौसमलाई समेत कारण देखाएर पुनः स्थगित गरिएको छ ।

नवौँ राष्ट्रिय खेलकुद २०७९ कार्तिकमा गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको थियो । त्यसपछि १० औँ राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी र झण्डा कर्णाली प्रदेशलाई हस्तान्तरण गरिएको थियो । राखेपको ११५ औँ बोर्ड बैठकले २०८१ मंसिरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १०औँ खेलकुद आयोजना गर्ने तय भएको थियो । तर पूर्वाधारको अभाव, आर्थिक व्यवस्थापनमा चुनौती र राजनीतिक अस्थिरताका कारण तीनपटक उक्त खेलकुद स्थगित भइसकेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि कोभिड–१९ महामारीका कारण पटकपटक स्थगित भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update