News 24 Television
मौरी पालनबाट वार्षिक २५ लाख भन्दा बढी आम्दानी 

कैलाली । घर वरिपरि मौरीका घारैघार । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने कैलाली लम्कीचुहाँ नगरपालिकाका हरिराम भारतीको दिनचर्या हो । मह उत्पादन मात्रै नभएर मौरीपालन सम्बन्धी तालिमसमेत दिने गरेका छन । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् । 

विगत तीन दशकदेखि व्यावसायिक रूपमा मौरीपालन व्यावसाय गर्दै आएका कैलाली लम्कीचुहाँ नगरपालिकाका हरिराम भारतीले मह उत्पादन गरेर वार्षिक २५ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । 

उनले सुरुमा १० घारबाट सुरु गरेको मौरी पालन अहिले एक हजार घार पुगेको छ । सन् १९९० मा भारतको हिमाञ्चल प्रदेशमा मौरी पाल्न सिकेका उनी २०१६ सम्म भारतमा काम सिकेर नेपालमा आएर मौरीपालन गर्न थालेका हुन् । कृषक भारतीको मुख्य आम्दानी यही नै हो । उनी मात्र होइन, अहिले उनको तीन पुस्ता नै मौरी पालनमा व्यस्त छ ।  

भारतीले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौँ, चितवन, बुटवल लगायत बजारमा ब्रान्ड बनिसकेको छ । भारती जिल्लाकै मात्र नभएर सुदूरपश्चिम प्रदेशको नमुना मौरीपालक किसान हुन् । 

उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ । काठमाडौँ, पोखरा र बुटवल लगायतका देशका बिभिन्न ठाउँहरुमा मह जाने गरेको छ । अहिले उनलाई छोरा बुहारी र नातिहरुले पनि साथ दिदै आएका छन् । भारतीयले सरकारबाट राष्ट्रियस्तरमा पटक पटक उत्कृष्ट कृषक पुरस्कार समेत पाएका छन् । 

हरिरामका छोरा किरण पाल भारतीले बुवालाई साथ दिदै आएका छन् । किरण पाल भारतीले मह मात्रै नभएर मौरीपालन सम्बन्धी सबै सामाग्री देखी तालिमहरु समेत दिने गरेका छन् । 

किरणको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । उनले वर्षमा  ५ सय घारसम्म बिक्री गर्ने गरेका छन् । मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने उनको भनाई छ । मौरी पालेर परिवारका लागि आर्थिक उन्नति समेत भएको छ । अहिले १० जनालाई रोजगार समेत दिएको उनको भनाई छ । 

कृषि ज्ञान केन्द्र कैलालीले अनुदान र प्राबिधिक सहयोग गरेपछि भारति मौरीपालनमा हौसिएका छन् । सरकारले पनि व्यवसायिक रुपमा काम गर्ने कृषकहरुलाई थप सहयोग र होसल्ला दिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर बिष्टको भनाइ छ । 

उनले महमात्र होइन मौरीको घार र गोला समेत बिक्री गर्छन् । महबाट भएको आम्दानीले घरखर्चसँगै छोरालाई  डिग्रीसम्म पढाउनुका साथै शहरमा घरघडेरी जोडेको उनको भनाइ छ । यही व्यवसायले जीवनमा ठूलो परिवर्तनै ल्याइदिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update