News 24 Television
अब विद्युतीय गाडीको कारखाना नेपालमै खोल्नुपर्छ : यातायात सचिव शर्मा

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडीहरु नेपालमै बनाउनुपर्ने बताएका छन् ।

महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमा विद्युतीय गाडी (इभी) को प्रयोग बढेर गएको बताउँदै नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने बताए । उनका अनुसार अब साना गाडीहरु प्रतिस्थापन गर्नुपर्छ । शहरमा वातावरणमैत्री ठूला सिटी बसहरु चलाउनुपर्छ । सरकारले सार्वजनिक यातायातमा धेरै लगानी गर्न नसकेको बताउँदै निजी क्षेत्रले गरेको लगानी प्रभावकारी रहेको बताए ।

सचिव शर्माले भने– ‘विद्युतीय यातायात नेपालको परिपक्षेमा महत्वपूर्ण छ । किनकी इन्धन आयातमा ठूलो रकम बाहिरीरहेको अवस्थामा यसलाई विस्तार गरियो भने बिजुलीको सदुपयोगसँगै अबौँ रकम बाहिर जानबाट जोगिन्छ ।  सार्वजनिक यातायातमा महानगरले जुन सुरु गरेको छ, यो सकारात्मक छ । काठमाडौं सानो छ, पाकिङ गर्न समस्या छ । साना गाडीहरु हटाउनुपर्छ । नेपालमा इभी फ्याक्टी बनाउन पायौं भने स्पेयर्स पार्टस् यही बन्ने र गाडीको मूल्य समेत सस्तो पर्छ । यसमा लगानी गर्न आह्वान गर्छु ।’

विदाको दिन आफू महानगर यातायात चढ्ने गरेको बताउँदै उनले यातायात क्षेत्रलाई भरपर्दो, सुरक्षित, वातावरण मैत्री बनाउनुपर्ने बताए । कार्यक्रममा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात सुधारका लागि सरकारले बनाएका कार्यदलहरुका प्रतिवेदन त्यतिकै दराजमा थन्काइएकोप्रति असन्तुष्टि पोखे । उनले त्यस्ता प्रतिवेदनहरु कार्यान्वयनमा लगिए अहिले सार्वजनिक यातायातमा देखिएका धेरैजसो समस्या हल हुने दाबी गरे ।

अध्यक्ष स्वाँरले भने– ‘सार्वजनिक यातायात सुधार सुझाव प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ । रुट परिवर्तनसँगै नीतिहरु पनि परिवर्तन गरिएन भने अस्वस्थ प्रतिष्पर्धा बढ्छ । त्यस्तो अस्वस्थ्य प्रतिष्पर्धा हटाउनुपर्छ होइन भने व्यवसायीहरुको लगानी डुब्छ ।यातायात क्षेत्रको सुधारका लागि बनेका प्रतिबेदनहरु अहिले दराजमा थन्काउने काम भएको छ । यो ठिक होइन ।’

सोही कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले पछिल्लो समय इभी गाडीहरु चिनबाट आएको तर त्यसको गुणस्तर परिक्षण हुन नसकेको बताउनु भयो । उनका अनुसार भारतबाट आउने गाडीमा खासै समस्या छैन तर चीनबाट आउने गाडीहरुमा आशंका छ ।
अध्यक्ष खनालले भने– ‘विद्युतीय सबारी साधन व्यवस्थापन गर्न राज्य चुक्नु हुँदन । विद्युतीय सवारी सम्बन्धिको नीति बन्दैछ । यो सकारात्मक  छ । आफ्नो मनपरीमा गाडीहरु भित्र्याउने र कम्पनीहरु भाग्ने प्रवृत्ति देखिन थालेको छ यसमा राज्य सजग हुनुपर्छ ।’

उनले राइड शेयरिङ व्यापार भएकाले त्यसलाई कडा नियमन गर्नुपर्ने बताए । खनालका अनुसार यातायात ऐनले कालो प्लेट राख्नेले यातायात बोक्न पाउने नीति छ । जुनसुकैले प्लेटले व्यापार गर्ने हो भने कानूनको अर्थ रहँदैन । राइड शेयरिङले पुँजी पलायन गरिरहेको बताउँदै यसमा राज्यको ध्यान जानुपर्ने उनको भनाइ रहेको छ ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update