
झापा । झापामा लम्पी स्किन रोगको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । यस क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी पशु यो संक्रामक रोगबाट प्रभावित भइसकेका छन् । लम्पी स्किन रोगले पुनः सताउन थालेपछि पशुपालक किसानहरू चिन्तित बनिरहेका छन् ।
झापामा लम्पी स्किन रोगको संक्रमण बढ्दै गएसँगै पशुपालक किसान मारमा पर्न थालेका छन् । एक वर्षको अवधिमा झापामा १० हजारभन्दा बढी पशुहरु लम्पी स्किनको प्रकोपबाट आक्रान्त भएका छन् । लम्पी स्किन गाई, गोरु लगायतका चौपायामा देखिने एक खतरनाक भाइरल रोग हो ।
जुन छालामा गिर्खाहरू (गाठा) आउने, ज्वरो आउने, दूध उत्पादनमा कमी आउनेजस्ता लक्षणहरूसहित देखा पर्छ । झापाको विभिन्न पालिकाहरूमा यो रोगतीव्र गतिमा फैलिरहेको छ ।
लम्पी स्किन रोगको सङ्क्रमणबाट एक वर्षभित्रयहाँ १० हजारभन्दा बढी गाईगोरु सङ्क्रमित भएका छन् । केही महिना यता संक्रमित १४२ गाईगोरु मरिसकेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र झापाका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै पालिकामा खोप सञ्चालन भइरहेको जनाएको छ ।
हालसम्म रोग नियन्त्रणका लागि जिल्लामा ५८ हजार गाईगोरुलाई खोप लगाइएको छ । त्यस्तै जिल्लामा सबैभन्दा बढी यो रोगको सङ्क्रमण मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिकामा देखापरेको कार्यालयले जनाएको छ । रातभरमै गाई बस्तुमा गिर्खा आउँछ, खान छोड्छ, दूधदिन छोड्दछ । उपचार गराइरहेका छौं तर पनि यसले ठुलै समस्या सृजना गरिरहेको स्थानीय पशुपालन किसान बताउँछन् ।
गर्मी बढेसँगै लम्पी स्कीन रोगको सङ्क्रमण तिब्र रूपमा फैलिरहेको छ । यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलने गर्दछ । जिल्लाका संक्रमित जोखिममा रहेका पालिकाहरूले रोग नियन्त्रणका लागि किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान समेत सञ्चालन गरिरहेका छन् । रोग फैलिन नदिन नियमित औषधि उपचार, कीटाणुनाशक छर्काउने, र खोप अभियान चलाइ रहेको पशु प्राविधिक बताउँछन् ।
झापाका कृषकहरूको मुख्य आम्दानीको स्रोत नै पशुपालन हो । यस्तो बेलामा लम्पी स्किनले पशु मरेमा वा कमजोर भएमा उनीहरूको जीवनयापनमा गम्भीर असर पर्न सक्छ । यसलाई मध्यनजर गरि स्थानीय तहले आफ्नो काम अगाडि बढाइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । बिशेषगरी जोखिममा रहेका मेचीनगर नगरपालिकाले लम्पी स्किन रोगको संक्रमण फैलन नदिन लागि परिरहेको मेचीनगरका जनप्रतिनिधिको भनाइ छ ।
जिल्लामा लम्पी स्किन रोगको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । यस अवस्थामा संक्रमण रोक्न र थप क्षति हुन नदिन स्थानीय निकाय, पशु सेवा कार्यालय र किसानहरूको समन्वय अपरिहार्य देखिन्छ ।