News 24 Television
रुपन्देहीमा विकास खर्चमा सामान्य वृद्धि, अपेक्षित सुधार हुनै बाँकी 

रुपन्देही । रुपन्देहीमा पूँजीगत अर्थात विकास खर्च विगतको तुलनामा झिनो सुधार भएको छ । अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा खर्च कही सुधार देखिएपनि आर्थिक वर्षको शुरुमा टेण्डर आह्वानमै ढिलाई हुँदा वर्सेनी विकास खर्च न्यून हुने समस्या भने कायमै छ । 

रुपन्देहीमा अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा विकास खर्चमा केही सुधार आएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका अनुसार गएको आर्थिक वर्षमा ३१ अर्ब ८० करोड ७ लाख ३० हजार ९३७ रुपैयाँ अख्तियारी पाएको कोलनिकाले पूँजीगततर्फ १८ अर्ब ४५ करोड ६० लाख ५४ हजार ९६९ र चालुतर्फ १८अर्ब ३४ करोड ४६लाख७५ हजार ९६८ रुपैयाँ अख्तियारी पाएको थियो । 

रुपन्देहीमा कुल बजेटको २५ अर्ब ८ करोड २७ लाख ४९हजार ८४३ रुपैयाँ अर्थात् ७८.८७ प्रतिशत खर्च भएको छ । जुन अघिल्लो वर्षभन्दा ३८.८१ प्रतिशतले बढी हो । पूँजीगततर्फ कुल रकमको ८अर्ब १७ करोड ४३लाख ८ हजार ८७४ रुपैयाँ अर्थात् ६०.७२ प्रतिशत खर्च भएको छ । 

असार महिनामा मात्रै पुँजीगत तर्फ ३ अर्ब २९ करोड ४८ लाख ३३ हजार १८४ रुपैयाँ खर्च भएको छ । जुन कुल खर्च भएको रकमको ४०.३३ प्रतिशत हो । आर्थिक वर्ष २०८०–०८१ भन्दा रुपन्देहीका संघीय कार्यालयहरुले पूँजीगत तर्फ २०८१–०८२ मा १६७.७९ प्रतिशतले बढी खर्च भएको छ । 

रुपन्देहीमा चालुतर्फ कुल बजेटमध्ये १६ अर्ब ९१ करोड २३ लाख १०हजार ९६९ रुपैयाँ अर्थात् ९२.१९प्रतिशत खर्च भएको छ भने अघिल्लो वर्ष २०८०–०८१मा ९१.३० प्रतिशत बजेट खर्च भएको थियो । कोलेनिकाका अनुसार राजश्व संकलन भने गतवर्ष भन्दा बढेको छ । 

आर्थिक वर्ष २०८१–०८२ मा रुपन्देही जिल्लाबाट १ खर्ब २० अर्ब ६९ करोड ८८ लाख ४६ हजार ८२६ रुपैयाँ राजस्व संकलन भएको छ ।जुन अघिल्लो आर्थिक वर्ष २०८०–०८१भन्दा १५.१६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष जिल्लाबाट१ खर्ब ४अर्ब ८१ करोड ३८लाख १० हजार ६९४ रुपैयाँ राजश्व संकलन भएको थियो ।

 भैरहवा भन्सार कार्यालयको १७.७५ प्रतिशत, आन्तरिक राजस्व कार्यालय भैरहवाको २५.६०, आन्तरिक राजस्व बुटवलको १०.१६ र अध्यागमन कार्यालयको २.२० प्रतिशतले राजस्व संकल दर बृद्धि भएकाले समग्रमा रुपन्देहीबाट राजस्व संकलन बृद्धि भएको कोलेनिकाले जनाएको छ ।

जिल्लामा सहरी विकास तथा भवन निर्माण कार्यालय र गैडहवा गाउँपालिकाले शतप्रतिशत बजेट खर्च गर्दा धेरै विकासे अड्डाले सन्तोषजनक खर्च गर्न सकेका छैनन् । विकास बजेट धेरै भएका कार्यालयले नै पर्याप्त खर्च गर्न नसक्दा समग्रमा रुपन्देहीमा पुँजीगत खर्च धेरै हुन नसकेको कोलेनिकाले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update