News 24 Television
जनार्दन चिढिँदा माओवादीमा कस्तो पराकम्प ?

काठमाडौँ । माओवाद विचारधारको आन्दोलनमाथिका प्रश्नहरु उठिरहेका छन् । माओवादी आन्दोलनको रक्षा र सम्बद्र्धनका विषयदेखि आन्तरिक कलहले स्थिति यस्तो स्थितिमा पुगिसकेको छ कि, नेताहरु एकअर्कामाथि जाइलाग्न कुनै कसर बाँकी राख्दैनन् । किन यस्तो स्थिति बन्न थाल्यो ? के माओवादी आन्दोलनमाथिको चासो अब प्रचण्डबाट अर्को नेतृत्वमा सार्ने प्रयास चलिरहेको हो ? 

१० वर्षे सशस्त्र युद्धको बलमा नेपालको शासन सत्तामै हलचल ल्याएको माओवादी युद्धका अनेक आयामहरु छरपष्ट छन् । माओवादीहरु टुटफुट र विभाजनले थला परेपनि प्रचण्डले माओवादी धारको नेतृत्व संसदीय अभ्यासमार्फत गरिरहेका छन् । फुटेर गएकाहरु अहिले प्रचण्डसँग एकता, सहकार्य र मोर्चाको आवश्यकता औल्याइरहेका छन् । 

माओवादी धारको आन्दोलनमा देखिएका यस्ता विषयहरु कहिलेसम्म विवादमै रहलान् ? यसको जवाफ प्रष्ट भने देखिन्न । छिन्नभिन्न र टुटफुटपछि समेत माओवादी आन्दोलनमाथि एकसरो अभ्यास गरिरहेका प्रचण्डले चुनावी गठबन्धनदेखि विभिन्न तिकडम गरेर संसदमा एउटा शक्तिको रुपमा माओवादीलाई उभ्याइरहेका छन् । प्रचण्डबाट क्रान्तिमा धोका भयो भन्नेहरु पनि अहिले यो या त्यो ढंगले संसदीय धारमा फर्किने प्रयत्नमा देखिन्छन् । यसले के पनि संकेत गरिरहेको छ भने माओवादीभित्र देखिएको संकटको समाधान खोज्न नेताहरुलाई उकुसमुकुस भने चल्न थालेको छ । तर, नेताहरु आफ्नो अभिव्यक्तिमा अडिग रहने र व्यवहारमा सोहि बमोजिम काम गर्ने गरि अघि बढेको स्थिति भने छैन । एकता, मोर्चा र सहकार्यको प्रस्ताव गर्ने विप्लव नै गणतन्त्रपछि देश बिग्रिनुमा माओवादी नै दोषी रहेको भन्दै सबै जिम्मेवारी लिने प्रयास गर्ने कोसिस पनि गर्न खोजेका देखिन्छन् ।

प्रचण्डसंग एकता सहकार्यको विषयमा बहस चल्दै गर्दा माओवादी केन्द्रभित्रको आन्तरिक राजनीति भने खलबलिएको छ । प्रचण्डले रुकुम पुगेर जनार्दन शर्मामाथि दिएको अभिव्यक्तिका कारण उनी बिच्किएका छन् । जनार्दन गएको पदाधिकारी बैठकमा समेत सहभागी भएनन् । उनले विभिन्न प्रदेशमा आफ्ना नजिकका नेताहरुसंगको भेटवार्तालाई तीब्र पारेका छन् भने प्रचण्डले रुकुममा बोलेको विषय फिर्ता लिनुपर्ने अडानमा रहेको बताइन्छ । यस्तोमा जनार्दनले पुष्पलालको सम्झनामा आयोजित एक कार्यक्रममा मंगलबार मनमोहन अधिकारीबाहेक वामपन्थी प्रधानमन्त्रीहरुले भ्रष्टाचार गरेको भन्दै तीन कार्यकाल प्रधानमन्त्री बनेका प्रचण्डमाथि पनि भ्रष्टाचारीको ट्याग लगाइदिए । 

थप भिडियोमा:

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update