News 24 Television
कुलमान घिसिङको रणनीति, अहिले अभियान पछि पार्टी !

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणमा कार्यकाल ४ महिना जति मात्रै बाँकी हुँदा कार्यसम्पादनमा शुन्य नंवर दिदै सरकारले कुलमान घिसिङलाई बर्खास्त गरेको थियो । गएको चैत महिनामा सरकारले बर्खास्त गरेपछि घिसिङ सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पनि गएका थिए । तर सर्वोच्च अदालतबाट उनको पक्षमा अन्तरिम आदेश भएन । त्यसयता केही समय चुपचाप बसेका कुलमानले अहिले उज्यालो नेपाल अभियान शुरु गरेका छन् । 

कुनै समय नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुँदा देश पुरै अन्धकारमय थियो । यस्तो विकराल अवस्थाबाट कुलमानकै सक्रियतामा देशबाट अप्रत्याशितरुपमा देशबाट लोडसेडिङ अन्त्य भएको थियो । उनै कुलमान अहिले उज्यालो नेपाल लिएर फेरि सक्रिय भएका छन् । यो अभियानको सुरुवात उनले खाडी राष्ट्र बहराइनबाट गरेका छन् । गत असार २२ गतेदेखि घोषणा भएको उनको अभियानको क्रममा उनलाई नागरिक अभिनन्दन पनि गरिएको थियो । 

अभिनन्दन ग्रहण गर्दै घिसिङले आफु कुनैपनि राजनीतिक दलको झण्डा बोकेर खाडीमा नआएका प्रष्ट्याए । आफु एक जिम्मेवार नागरिकको रुपमा सबै नेपालीसँग हातमा हात मिलाउन उज्यालो अभियानमार्फत् हिडेको उनको भनाइ छ । 

बहराइनबाट शुरु भएको यो अभियान मध्यपूर्वी देशहरु बहराइन, ओमान, युएई र कतार हुँदै अमेरिकासम्म पुगिसकेकाके छ । अभियानका क्रममा जुलाई २८ देखि अगस्ट २५ सम्म उनी अमेरिका र बेलायतका विभिन्न राज्यहरु पुग्नेछन् । अगस्ट २६ मा उनी स्वदेश फर्कने तालिका रहेको छ । 

अभियान मात्रै कि दल नै खोल्ने रिहर्सल ? 

कुलमान घिसिङले आफ्नो यो अभियानलाई अहिले विशुद्ध देशभित्र आशा जगाउने अभियान मात्रै भनेका छन् । अभियानमार्फत विदेशी भूमिका पसिना बगाइरहेका नेपालीहरुसँग भेटघाट गर्नका लागि आफुले यो यात्रा शुरु गरेको बताएका उनले आशा र आत्मविश्वास देखाउनेका सम्मान गर्ने वातावरण नबनेसम्म देशभित्र युवा बस्न सक्ने अवस्था नरहने बताइरहेका छन् । कुलमानले देशभित्र र बाहिर रहेका युवाहरुलाई भेट्ने, उनीहरुको कुरा सुन्ने र आशा जगाउने अभियान भनेपछि यो उनको राजनीतिक मुभमेन्टका रुपमा हेरिएको छ । 

देशभित्र पनि उनले विशेषगरी युवा व्यवसायी, उद्योगी, सञ्चारकर्मी लगायतलाई भेटिरहेका छन् । विभिन्न दलमा आवद्ध र ती दलहरुबाट तत्काल अवसर पाउने सम्भावना नदेखेका धेरै कुलमानसँगको भेटलाई तिव्रता दिइरहेका छन् । सार्वजनिक कार्यक्रमहरुमा उनले यो अभियानलाई पार्टी खोल्ने तयारी नभनेप िछ यसलाई उनको पार्टी खोल्नुपूर्वको रिहर्सलको रुपमा लिइएको छ । ठूलो जनसंख्या रहेको खाडीमा पुगेर गरिएको भेटघाट निकै अर्थपूर्ण छ । 

यदि पार्टी खोलेर चुनावमै गइहाले खाडीमा रहेका नेपालीबाट मत तथा आर्थिक लगायतका सहयोग पाउन निकै सहज हुन्छ । सम्भवत यो कुरालाई नजिकबाट बुझेकै कारण पनि उनले आफ्नो अभियान खाडीबाटै शुरु गरेका हुन् । यसरी देशदेखि विदेशसम्म पुग्दा उनले आफ्नो पक्षमा जनलहर कस्तो छ भन्ने आंकलन पनि गर्न पाइरहेका छन् । जसले पछि उनलाई पार्टी खोल्ने कि नखोल्ने निक्र्यौलमा पुग्न सहज हुन्छ । 

यही अभियानमार्फत उनले समृद्धिको खाकोको मस्यौदा तयार गरेको पनि बताएका छन् । भर्चुअल माध्यमबाट आफुले कोरेका खाकाहरुमाथि उनले बहस पनि छेडेका छन् । उनको अभियान र सक्रियता हेर्दा उनले उज्यालो अभियानको नाममा २ वर्ष जति अभियान चलाउने र त्यसले दिने संकेतहरुको आधारमा २०८३ मा पार्टी खोल्ने र २०८४ को निर्वाचनमा होमिने तयारीमा उनी रहेको अनुमान लगाउन सकिन्छ । उनले उज्यालो अभियानले धेरै नेताहरु जन्माउने बताइरहेका छन्, उनको यो अभिव्यक्तिले पनि यो उनको पार्टी खोल्नुपूर्वको रिहर्सल भनेर बुझ्न सकिन्छ । 

बालेनको आशा !

कुलमानले आफुले दल खोलेको खण्डमा बालेनले साथ दिने आशा राखेको उनी निकटहरु बताउँने गर्छन् । काठमाडौंका मेयरका रुपमा चर्चित रहेका बालेनले उनी निर्वाचनमा गए सघाउन सक्ने विश्वासमा छन् । यसबाहेक उनले अभियानका क्रममा पाएको समर्थन र आफुप्रतिको जनलहरका आधारमा कुनै दलमा आवद्ध हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिदैन । 
 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update