
काठमाडौँ । साउनमा वर्षा हुनुपर्ने हो, सबैतिर हरियाली बालीनाली हुनुपर्ने हो तर यसपटक जेठको जस्तो गर्मी र सुख्खा देखिन्छ । मधेस प्रदेशमा त आधा रोपाइँ हुनै सकेको छैन, रोपेको धान पनि सुक्न थालेको छ । गत जेठ ७ गते जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको थियो । मनसुनको मध्यतिर पुग्दा त्यो पूर्वानुमान फेल भयो । गर्मी चाहिँ बढ्यो तर वर्षा भने भएन, उल्टै खडेरी परेर मधेश प्रदेशमा संकट नै घोषणा गर्नुपरेको छ ।
“राष्ट्रिय मनसुन फोरम–२०८२” मा नेपालका मौसमविद्हरूले सबैभन्दा बढी वर्षा हुने बताएका थिए । विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताएकी थिइन् । उनले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको उनको भनाइ थियो । अर्का मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्युनिकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताएकी थिइन् । मनसुन अगावै तयारी अवस्थामा नरहे व्यापक धनजनको क्षति हुने चेतावनी उनीहरुले दिएका थिए ।
मौसमविद्हरुले उक्त चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनी अवस्थाबारे जानकारी लिएका थिए । र, सरकारले विपद् प्रतिकार्यलाई चुस्त अवस्थामा राख्न सक्दो प्रयास गरेको थियो । तर वर्षा नै नभएर साउनमा खडेरी र सुख्खा अवस्था देखिनु उल्टो चिन्ताको विषय भएको छ । मधेस प्रदेशमा कम वर्षा भएर सिचाइँ तथा खानेपानीकै हाहाकार देखिएपछि सरकारले उक्त प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त (सुख्खाग्रस्त) क्षेत्र घोषणा गरेको छ । मधेस प्रदेशका वीरगञ्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव रहेको छ भने तराई मधेसको खानेपानीको समस्या, सिंचाईको समस्या समाधान गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेर काम अघि बढाइएको छ ।
नेपालमा मनसुन शुरु भएको करिव डेढ महिना बितिसक्दा पनि अधिकांश खोला र नदी सतह बढेका छैनन् । गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । उच्च हिमाली, पहाडी ठाउँमा भीषण वर्षा भएर बाढी चले पनि देशभरका कुनै पनि ठूला नदीमा भने बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विनोद पराजुली आगामी तीन दिनमा मनसुन केही सक्रिय रहने भए पनि ठूला नदीहरुमा खतराको तहभन्दा बढी बाढी नचल्ने बताउँछन् । पछिल्लो डेढ महिनामा मधेस प्रदेशमा सरदरमा करिव ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत मात्रै वर्षा भएको उनको भनाइ छ ।
मौसमले धोका दिँदा मधेसमा खडेरी परिसकेको अवस्थामा सरकारले उक्त क्षेत्रमा प्राविधिक टोलीहरु खटाएको छ । साथै, डिप बोरिङ जडान गर्दै सुख्खाग्रस्त क्षेत्रमा पानीको समस्या समाधानका प्रयासहरु थालेको देखिन्छ । प्रधानमन्त्री ओलीले समेत हेलिकप्टरबाट मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । उनले सुख्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गर्दै त्यसका लागि प्रक्रिया अघि बढाएका छन् । यसरी मौसमविद्लाई नै चकित पार्नेगरी सर्वाधिक वर्षा हुनु त कहाँ हो कहाँ, पूर्वानुमान विपरीत मनसुन अवधिमै सुख्खा÷खडेरी देखापरेको छ ।