
काठमाडौं । राजधानीको व्यापारिक केन्द्र न्युरोडमा रहेको मिलन बहुउद्देश्यीय सहकारी संस्थाको बदमासीहरु विस्तारै बाहिरिन थालेको छ । काठमाडौँको मुख्य व्यापारिक केन्द्रहरु न्यूरोड, असन, इन्द्रचौक लगायतका स्थानका व्यापारीहरुले रकम बचत गर्दै आएको यो सहकारीले अहिले ३ हजारभन्दा बढि बचतकर्तालाई मर्नु न बाँच्नु बनाएको छ । सहकारीमार्फत बचतकर्ताहरुको ३ अर्ब रुपैयाँ भन्दा बढि रकम हिनामिना भएको छ ।
बचतकर्ताहरुको रकम हिनामिना गर्ने सयौं सहकारीहरुको भीडमा काठमाडौँको न्यूरोडमा रहेको मिलन बहुद्देश्यीय सहकारी संस्था पनि थपिएको छ । यो सहकारीले ३ हजारभन्दा बढि बचतकर्ताको अर्बौ रुपैयाँ हिनामिना गरेको छ ।
दुख गरेर कमाएको आम्दानी मिलन सहकारीमा राखेका उनीहरु अहिले नियमित जसो रकम फिर्ताको माग गर्दै सहकारी धाइरहेका छन् । सहकारीले बचतकर्ताहरुको ३ अर्ब २० करोड रुपैयाँभन्दा बढि रकम हिनामिना गरेको छ ।
बचत रकम फिर्ता नभएपछि पीडितहरुले धाउन थालेको साढे २ वर्षभन्दा बढि भइसक्यो । यो सहकारीमा एकै जनाले ११ करोड रुपैयाँसम्म बचत गरेका थिए । बचत रकम फिर्ता नभएको भन्दै बागमती प्रदेश सरकार अन्तर्गतको सहकारी रजिस्टारको कार्यालयमा मिलन सहकारीविरुद्ध उजुरी पनि परेको छ । अहिलेसम्म बोर्डमा ७ जनाले उजुरी दिएका छन् ।
७ जनाको मात्रै यो सहकारीले १३ करोड ३० लाख २३ हजार ७ सय ११ रुपैयाँ अपचलन गरेको छ । उजुरी पछि रजिस्टर कार्यायले बचतकर्ता र सहकारी सञ्चालकबीच छलफल गराई थप प्रक्रिया अघि बढाउने जनाएको छ ।
उजुरी किन कम ?
मिलन सहकारी न्यूरोडका स्थानीय नेवार समुदायहरु मिलेर खोलेका थिए । व्यापारिक केन्द्रमा रहेको र सञ्चालकहरु पनि स्थानीय नेवार समुदायभित्रैका रहेका कारण असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानका व्यापारीले विश्वास गरेर यो सहकारीमा आफुले कमाएको पैसा दायाँबायाँ नसोची बचत गरे ।
त्यसो त सहकारी सञ्चालकहरुको निकट र नातेदार पर्नेहरुले पनि ठूलो रकम बचत गरेका छन् । त्यसैगरी यस आसपासमा रहेका बौद्ध विहार र बौद्धमार्गीहरुले पनि धेरै रकम बचत गरेका छन् ।
अहिले सहकारीले पैसा फिर्ता नदिएर बिचल्ली अवस्थामा पु¥याउदाँ उनीहरु पारिवारिक पृष्ठभूमि, चिनजान र स्थानीय भएका कारण सार्वजनिकरुपमा उजुरी र होहल्ला गर्न सकिरहेका छैनन् । तर सहकारीले यसरी नै झूलाइरहे एकदिन आफुहरुको धैर्यता विष्फोट हुने चेतावनी उनीहरुले दिएका छन् ।
सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको गुनासोहरु सार्वजनिक हुन थालेपछि रिपोर्टिङको क्रममा न्यूज २४ को टोली एक वर्ष अघि नै मिलन सहकारीको कार्यालय पुगेको थियो । निकै मुस्किलले सम्पर्कमा आएका सहकारीका कोषाध्यक्ष दिनेश बज्राचार्यले बचत फिर्ता गर्न धेरै समय लाग्ने बताएका थिए ।
कोषाध्यक्ष वज्रचार्यले अघिल्लो आर्थिक वर्षको साउनमै बचतकर्ताको रकम फिर्ता दिइसक्ने उनले दाबी गरेका थिए । तर अर्को आर्थिक वर्ष शुरु भएर साउन सकिन लाग्दा पनि उनले बोलेजस्तो बचतकर्ताले न रकम फिर्ता पाए, न त उनले भनेजस्तो जग्गा नै बिक्रि भयो ।
वज्राचार्यले कान्तिपथमा ग्लोबल आईएमई बैंक बसेको ३ रोपनी २ आना जग्गा बेचेर भएपनि बचतकर्ताहरुको रकम फिर्ता गर्ने बताएका थिए ।
सहकारीमा कसरी समस्याग्रस्त ?
देशकै मूख्य व्यापारिक केन्द्रमा रहेको मिलन सहकारी कुनै समय चकाचक थियो । यहाँका व्यापारीहरुबीच सहकारीमा पैसा राख्न प्रतिष्पर्धा नै हुन्थ्यो ।
सहकारीको कारोबार राम्रै थियो । बचतकर्ताहरुले आवश्यक पर्दा तुरुन्तै रकम निकाल्न पाउथे भने बचतकर्ताको औकात अनुसार ऋण लिन पनि सजिलै थियो । तर सहकारीका अध्यक्ष भागवतकृष्ण श्रेष्ठ विरामी भएपछि भने माहोल अर्कै बन्दै गयो ।
कोषाध्यक्ष दिनेश बज्राचार्य तथा कर्जाप्रमुख तथा सञ्चालक अनिल तुलाधरले बचतकर्ताको रकम आफ्नै निजी सम्पत्ति जस्तो चलाउन थाले । त्यसपछि सहकारी विस्तारै समस्यामा पर्दै गयो ।
उनीहरुले आफ्नो तथा आफ्ना नातेदारको नाममा कर्जा लिएर तथा कर्जा नै नलिई पनि सहकारीमा जम्मा भएको निक्षेप आफुखुशी सहकारी ऐन विपरित घरजग्गा, सेयर कारोबारलगायतमा लगानी गरेको बचतकर्ताहरुको आरोप छ ।
उनीहरुले सेटिङमा सहकारीको अडिट रिपोर्ट सबै ठीकठाक देखाई भित्रभित्रै बचतकर्ताको रकम अन्यत्रै ओसारिरहेका थिए । उनीहरुले लगानी गरेका घरजग्गा र सेयर जस्ता कारोबारहरु समस्यामा पर्दा उनीहरुले सहकारीसँगै हजारौँ बचतकर्ताहरुलाई पनि बिचल्ली पारेका हुन् ।
बचत फिर्ता नगर्ने नियत !
सहकारीका सञ्चालकहरुले बाराम्वार बचतकर्ताको पैसा फिर्ता गर्छौ भनेपनि उनीहरुको नियत ठीक देखिदैन । दिनहुँजसो बचतकर्ताहरु सहकारीको कार्यालयमा पुगेपनि मुख्य जिम्मेवार पदाधिकारी कोहीपनि भेटिदैनन् । सहकारी खुल्ने र बन्द हुने कुनै ठेगान छैन ।
बचतकर्ताहरुले दबाब दिँदा बज्राचार्य र तुलाधरले जमल र टेकुको जग्गा बेचेर रकम फिर्ता गर्छौं भन्ने आश्वासन दिन्छन् । तर, उनीहरूको नियत हेर्दा जग्गा बिक्री गरेर बचतकर्तालाई पैसा फिर्ता गर्नेभन्दा पनि अलमल्याउने रहेको देखिन्छ । उनीहरुले कोही जग्गा किन्ने उद्देश्यले आई मोलतोल गरे २० करोडको जग्गालाई २२,२५ करोड भन्दा कममा दिन्नौ भन्दै भड्काउँछन् भने जमल कान्तिपथमा रहेको ३ रोपनी २ आना जग्गाको भाउ पनि क्रमश बढाउँदै लगेका छन् ।
कान्तिपथमा २ करोड प्रतिआना भनिएको जग्गाको मूल्य अहिले उनीहरुले प्रति आना ४ करोड रुपैयाँ पु¥याएका छन् । यसले पनि उनीहरुको नियत जग्गा बेचेर बचतकर्ताको पैसा फिर्ता गर्नेभन्दा पनि अल्मलाइरहने स्पष्टै देखिन्छ ।