News 24 Television
जिम्मेवार रवि, हराए बालेन

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचतबाट निर्वाचित सांसदहरु नयाँ संसद भवन प्रवेश गर्ने तयारीमा छन् । निर्वाचनबाट ६ वटा राजनीतिक दलले संसदमा प्रवेश पाउँदा एक स्वतन्त्र सांसद पनि संसद छिर्दैछन् । सबै भन्दा ठूलो झण्डै दुई तिहाइ सिट हात पारेको रास्वपा बढी उत्साहित छ । तर रास्वपाकै अधिकांश सांसदहरु पहिलो पटक संसद छिर्दै गर्दा उनीहरुलाई दुई दिने ‘क्लोज क्याम्प’मा राखेर प्रशिक्षित गरिएको छ । 

२ सय ७५ सदस्य प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै १ सय ८२ जना संसद छिर्दैछन् । साढे ३ वर्षअघि मात्रै स्थापना भएको यो पार्टीका अधिकांश सांसदहरु पहिलो पटक संसद छिर्न लागेका हुन् । संसद यस्तो थलो हो, जहाँ कानून निर्माण गर्ने काम हुन्छ । संसदले खेल्ने भूमिकादेखि मर्यादापालनका कुराहरु महत्वपूर्ण मानिन्छ । 

त्यसैले संसद छिरेर निर्वाह गर्ने भूमिका तथा कर्तब्यबोध गराउनकै लागि रास्वपाले दुई दिने बन्द प्रशिक्षण आयोजना गर्यो । पहिलो पटक झण्डै दुई तिहाईको जनमतसहित सरकारको बागडोर सम्हाल्ने तयारीमा रहेको रास्वपाका लागि निकै चुनौतिपूर्ण पनि छ । 

अझ विभिन्न स्वार्थ समूहबाट आएका ब्यक्तिहरुलाई एकट्ठा पारेर बनेको संरचनालाई लयमा लैजान सहज छैन । यहि कठिन चुनौतिकाबीच सत्ता सम्हाल्ने तयारीमा रहेको रास्वपाप्रति आम नागरिकको भरोसा र अपेक्षा पनि छ भने अन्य राजनीतिक दलहरु रास्वपाको कमजोरीको पर्खाईमा छन् । 

सबै आशंकाहरुलाई गलत सावित गर्दै अघि बढ्नुपर्ने अवस्थामा रहेको रास्वपाका सभापति रवि लामिछाने सांसदहरुको अभिमुखीकरणमा पनि निकै जिम्मेवार देखिएका छन् ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा जनताको अभुतपूर्व जनमत पाएको रास्वपा नयाँ सरकार गठन अन्तिम तयारीमा रहँदा अभिमुखीकरणमा सहभागि सांसदहरु पनि उत्तिकै उत्साहित देखिए । 

मन्त्री चयनमा ढिलाई !

झण्डै दुई तिहाईको जनमत पाएको रास्वपाको भने मन्त्रीमण्डल बनाउने कुरामा पनि विलम्ब देखिन्छ । सभापति रवि लामिछानेले बुधबार आफ्ना नवनिर्वाचित सांसदहरुसमक्ष पनि त्यो कुरा स्पष्ट गरे । 

मन्त्रीमण्डल विस्तारबारे अहिलेसम्म कुनै काम अघि नबढेको बताए । योसँगसँगै मन्त्रि बन्नका लागि आफ्ना सांसदहरुको दौडधुपप्रति उनी कठोर देखिए । 

मन्त्री बन्नका लागि कुनैपनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न पनि आफ्ना सांसदहरूलाई निर्देशन नै दिए । रास्वपाले अभूतपूर्व जनमत पाएको र सरकारमा जाने सम्भावना रहेको सन्दर्भमा सांसदहरूबीच मन्त्री बन्ने आकांक्षा बढ्नु स्वभाविक भएपनि त्यसलाई मिडियाबाजीको विषय नबनाउन उनले पटक पटक आग्रह गरे । मन्त्री छनोटको मापदण्ड व्यक्तिको क्षमता र विज्ञतामा हुने उनले स्पष्ट गरे ।  

लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई पार्टी अनुशासनमा रहन चेतावनी दिँदै पार्टीले विधानमा व्यवस्था गरेको ‘राइट टु रिकल’ यसपटक कडाइका साथ लागू गर्ने स्पष्ट गरे । सरकारको गणितीय अवस्था जस्तोसुकै भएपनि अनुशासनहीनता सह्य नहुने उनले चेतावनी दिए ।

नयाँ सरकारको ब्यग्र प्रतिक्षा 

आम नागरिक यतिबेला नयाँ सरकारको व्यग्र प्रतिक्षामा छन् । निर्वाचन आयोगले राष्ट्रपति कार्यालय र संसद सचिवालयमा निर्वाचन परिणाम बुझाए लगत्तै नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्नेछ । 

आयोगले समानुपातिक तर्फका ११० जना सांसदलाई विहीबार प्रमाणपत्र प्रदान गर्ने र चैत १२ गते सपथ गराउने तयारी गरेको छ । त्यसपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ । 

दुई दिने नवनिर्वाचित सांसद अभिमुखिकरण मार्फत् मतदाता रुझान लागेको रास्वपालाई अब यो वा त्यो भन्ने बाहना भने छैन । किनकी नागरिकले ठुला भनिएका राजनीतिक दल कांग्रेस, एमाले र नेकपा सहित दललाई किनाराकृत गर्दै रास्वपालाई अवसर दिएका छन् । तर सरकारको नेतृत्व लिने भनिएका रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह बालेन भने अभिमुखीकरणमा नाक मुख देखाएनन् ।

स्वतन्त्र रुपमा काठमाडौं महानगरको मेयर निर्वाचित भएका बालेनको संसद यात्रा पनि पहिलो हो । उनलाई पनि अभिमुखीकरण आवश्यक हो । तर आफ्ना सांसदहरुलाई दुत्कार्ने रवैयाले भने बालेनलाई मात्र होइन, सिङ्गो रास्वपालाई पनि क्षति हुनेछ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update