News 24 Television
ठाकुरबाबा पोखरीमा विष्णु पुराण महायज्ञ

सप्तरी । सप्तरीको ठाकुर बाबा पोखरी पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको धार्मिक क्षेत्र हो । यसप्रतिको जनविश्वाससँगै यसको सौन्दर्यतालाई व्यवस्थित गर्न सके यो पर्यटकीय क्षेत्र बन्न सक्ने स्थानीयको विश्वास छ । तर केन्द्र सरकारले ध्यान नदिएको आरोप स्थानीय सरकारको छ ।

सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटमा अवस्थित ठाकुर बाबा पोखरी धार्मिक आस्थासँगै पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण ठाउँ हो । यो  पोखरी डिलमा आइतवारदेखि ९ दिने विष्णु पुराण महायज्ञ सुरु गरिएको  छ । 

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको यो पोखरी हालसम्म ओझेलमा परेको छ । स्थानीयका अनुसार यस पोखरीमा स्नान गरेमा चर्म रोग निको हुने विश्वास गरिन्छ । यही धार्मिक आस्थाका आधारमा नेपालका विभिन्न स्थानका साथै छिमेकी भारतबाट समेत श्रद्धालुहरू यहाँ आउने गरेका छन् । 

विशेषगरी बैशाख २ गते जुडशितलका दिन यहाँ लाग्ने मेलाको अवसरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ । तर पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको यो ठाउँमा केन्द्रदेखि प्रदेश सरकारको ध्यान नपुगेको गुनासो स्थानीय सरकारको छ । 

यो विष्णु महायज्ञ गाउँपालिकावासीको सक्रिय सहभागितामा अघि बढाइएको हो। स्थानीयवासीहरूले घरघरबाट आर्थिक सहयोग तथा चामल संकलन गरी सामूहिक प्रयासमा यज्ञ सञ्चालन गरिएको आयोजकले बताएका छन् । 

यज्ञले धार्मिक रुपमा सुख शान्ति प्राप्त गर्नुका साथै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको विश्वास छ । यसमा करिब एक करोडसम्म खर्च लाग्न सक्ने अनुमान गरिएको छ । 

यज्ञ उद्घाटन कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश यादव समेत सहभागी भए । महायज्ञमा मन्त्री यादवले उक्त ठाकुर बाबा पोखरीको संरक्षण, विकास तथा प्रवद्र्धनका लागी आगामी आर्थिक वर्षको मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याएका छन् । 

ठाकुर बाबा पोखरी धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको स्थल भए पनि यसको उचित व्यवस्थापन र विकास अभावले ओझेलमा परेको हो । स्थानीयको अग्रसरतालाई प्रदेशदेखि केन्द्र सरकारले साथ दिएमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने देखिन्छ ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update