काठमाडौं । भ्रष्टाचारको आरोप लागेपछि मान्छेले के गर्छ ? कानुनको सामना गर्छ वा प्रमाण लुकाउँछ । तर, नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीको कथा कुनै सिनेमाको भन्दा कम छैन ।
आफ्नो भ्रष्टाचारको फाइल बन्द गराउन उनले फिलिपिन्सबाट अन्डरवल्र्ड शैलीमा हत्याको धम्की मात्र दिएनन्, भारतबाट तान्त्रिक बाबा ल्याएर तन्त्रमन्त्र समेत गराएको खुलासा भएको छ ।
के तपाईंले कहिल्यै सोच्नुभएको छ—एउटा सरकारी हाकिमले कुकर्म गर्न र कुकर्म लुकाउन कुन हदसम्मको हर्कत गर्न सक्छ ? धम्की ?पैसा ? सेटिङ ? यी त पुराना कुरा भए । तर अहिले प्रहरीको अनुसन्धानबाट एउटा घटना सार्वजनिक भएको छ, जहाँ नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीले आफ्नोबारेमा छानबिन गर्ने अख्तियारका पदाधिकारीको विरुद्ध भारतीय तान्त्रिकलाई पुत्ला जलाउन लगाउनेदेखि अन्डरवल्र्डबाट ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ ।
सामाजिक सञ्जालबाट भीआईपीहरूलाई ज्यान मार्ने धम्की दिने चाँही यी पात्र हुन,प्रकाश पाठक।फिलिपिन्सबाट गलहत्याएर नेपाल ल्याइएका यिनै पाठकले अहिले प्रहरी हिरासतमा यस्तो बयान दिएका छन्,जसले बालुवाटारदेखि सिंहदरबारसम्म हल्लीखल्ली मच्चाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई धम्क्याउन पाठकले २ करोड रुपैयाँको सुपारी लिएको खुलासा भएको छ ।
यो रकम दिने व्यक्ति अरू कोही नभएर एक महिनादेखि भ्रष्टाचार मुद्दामा डिल्लीबजार कारागारमा रहेका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी हुन्।
भक्तपुरको नलिन्चोकमा हेलिप्याड बनाउँदा करोडौँको भ्रष्टाचार भएको उजुरी अख्तियारमा पुग्यो । पोखरा विमानस्थलको ऋण र निर्माणमा भएको अनियमिततामा पनि प्रदीप अधिकारी मुख्य घेरामा थिए ।
जब अख्तियारले फाइल पल्टाउन थाल्यो र अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी अन्तिम चरणमा पुग्यो,तब अधिकारी अत्तालिए।उनले आफ्नो कुर्सी र प्रतिष्ठा जोगाउन कानुनको सहारा लिएनन्,बरु सहारा लिए—फिलिपिन्समा लुकेर बसेका प्रकाश पाठकको ।
कथा सुरु हुन्छ फिलिपिन्सबाट। जहाँबाट प्रकाश पाठक नामक व्यक्तिले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सिधै फोन गरेर धम्की दिन्छन। राजीनामा देउ, नत्र हत्या गरिदिन्छौं ।
प्रहरीको अनुसन्धानले भन्छ,अधिकारीले पाठकलाई १० करोडको अफर गरेका थिए । २करोड त चिनियाँ व्यापारीमार्फत हुन्डीबाट पुगिसकेको थियो।यही पैसाले पाठकले फिलिपिन्समा अपार्टमेन्ट समेत किनेको बयानमा बताएका छन।
पाठकको धम्कीले सरकारी अधिकारीहरुमा निकै सनसनी मच्चियो । अख्तियार प्रमुख प्रेमकुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले काठमाडौँ प्रहरीको हिरासतमा छन्।
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको सहयोगमा उनलाई माघ २८ मा प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो।काभ्रे घर भएका पाठकले सामाजिक सञ्जाल फेसबुक मार्फत १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए।प्रहरीले उनीविरुद्ध आपराधिक लाभ,आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ।
अख्तियारले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भएको अनियमितातबारे आफुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको सुराक पाएपछि अधिकारीले अख्तियार प्रमुख राईलाई धम्क्याउन पाठकलाई प्रयोग गरेका हुन् ।
उच्चपदस्थ व्यक्तिलाई विदेशबाट धम्क्याएको आरोपमा पक्राउ परेका पाठकमाथिको अनुसन्धानपछि अधिकारीका कर्तुत बाहिर आएका छन् । पाठकले धम्क्याएर सामाखुसी स्थित एक डेन्टल कलेज सञ्चालकसँग पनि ५ लाख नगद लिएको भेटिएको छ । यद्यपी ती कलेज सञ्चालकले प्रहरीमा जाहेरी दिएका छैनन् ।
२०८० सालमा मुलुक छाडेर विदेशमा बस्दै आएका पाठक पछिल्लो समय विभिन्न देश घुमेर फिलिपिन्स पुगेका हुन् । २०७७ साल तिर उनले भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाउने काम गरेका थिए । पछिल्लो समय थर्काएपछि पैसा आउँछ भन्ने मनोविज्ञान बनाएर पाठकले सामाजिक सञ्जालबाट धम्क्याउने गरेको भेटिएको छ ।
यो त भयो पाठक कुरा।जब धम्कीले काम गरेन अधिकारी पुगे तन्त्रमन्त्रको शरणमा । भारतको तेलंगनाका तान्त्रिक जय जगदम्बे बाबालाई उनले प्रयोग गरे । अधिकारीले ह्वाट्सएपमा म्यासेज पठाउँथे गुरु, यी दुष्टहरूलाई नष्ट गर्नुप¥यो भनेर ।
अख्तियार प्रमुख आयुक्त राईसहित आयुक्तहरू किशोर सिलवाल र सुमित्रा अमात्यलाई तान्त्रिक विद्याद्वारा क्षति पु¥याउन भनिएको छ । ती बाबालाई समेत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा अधिकारीकै आग्रहमा आफूले तन्त्रमन्त्र गरेको जवाफ दिएका छन्।
उनको मोबाइलबाट प्रहरीले प्राप्त गरेको विवरणअनुसार अधिकारीले ..जय जगदम्बे गुरु, ए दुष्ट आद्मीको नष्ट करने के लिए कुछ करने कि जरुरत हे गुरु.. भनेर ह्वाट्सएपमा अख्तियारका पदाधिकारीको फोटो पठाएका छन् ।उनकै आग्रहमा ती गुरुले अख्तियारका पदाधिकारीको प्रतिमा बनाएर त्रिशूलले घोचेर आगो लगाएका थिए ।
त्यसको भिडियो बनाएर अधिकारीलाई पठाएका थिए । ती तान्त्रिक आसामको गुवाहाटीमा रहेको कामख्या देवी मन्दिरमा गुरुका रूपमा बस्दै आएका ब्यक्ति हुन् ।उनी हरेक वर्ष नेपाल आउने गरेका छन् ।दुई साताअघि नेपाल आएका वेला उनलाई प्रहरीले प्रकाउ गरि सोधपुछ गरेको थियो।
प्रहरीले बाबाको मोबाइलबाट यस्ता भिडियोहरू फेला पारेको छ,जहाँ अख्तियारका पदाधिकारीको पुत्ला बनाएर,त्रिशूलले घोचेर र आगो लगाएर नष्ट गर्ने तान्त्रिक विधि गरिएको छ।विडम्बना,यी बाबा नेपाल आउँदा विमानस्थलमा भिआईपी कक्ष प्रयोग गर्थे र ठूला व्यवसायीहरूसँग उनको उठबस थियो।
त्यसपछि प्रहरीले बिहिवार पुर्पक्षको लागी थुनामा रहेका प्रदिप अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतले कारागार कार्यालय डिल्लीबजारबाट प्रहरी कार्यालयमा झिकाएर बयान लिएका थिए।
प्रकाश पाठकलाई सुपारी दिएको बारेमा सोधपुछ गरेकाथिए।सोधपुछ गर्दा अधिकारीले रकम दिएको कुरा अस्वीकार गरे तर प्रमाणले पाठकलाई प्रयोग गरेर धम्काउन लगाएको देखिन्छ। यतिमात्र होईन पाठकले समेत बयानमा अधिकारी सुपारी दिएको नै बताएका छन।प्रहरीले अधिकारीलाई बाबाको बारेमा सोध्दा समेत उनले ईन्कारी बयान दिएका छन । तर प्रमाणहरुले अधिकारीलाइ नै दोष देखाईरहेको छ ।प्रहरीले अधिकारीका थप प्रमाणहरु जुटाउन लागि परेको छ ।
