
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताएका छन् ।
शुक्रवार भक्तपुरमा आयोजित वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताए । उनले नेपाललाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्यभन्दा पवित्र लक्ष्य अर्को हुन नसक्ने जिकिर गरे ।
नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन नसक्ने उनको भनाइ छ । त्यसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको लक्ष्य राखेको पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा अघि बढेका छौँ । हामी नेपाललाई समृद्ध बनाउन चाहन्छाैँ, आधुनिक बनाउन चाहन्छौँ । विकसित बनाउन चाहन्छौँ । यहाँका जनतालाई सुखी बनाउन चाहन्छौँ । यो भन्दा ठूलो र पवित्र उद्देश्य हुन सक्दैन । यो महानतम उद्देश्य हो । यो भन्दा ठूलो अर्को उद्देश्य हुन सक्दैन । नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन सक्दैन । जसलाई गन्तव्य बनाएर हामी अघि बढेका छौँ । त्यस गन्तव्य प्राप्त गर्नका लागि हामीले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको गन्तव्य राखेका छौँ । नेपाल निरोगी जनताको, निरोगी पशुपंक्षीहरुको, वनस्पतिहरुको, निरोगी माछा, चरा, चुरुंगी आदि सबैको निरोगी नेपाल हुनुपर्छ । जहाँ कुनै किसिको विषादी खान नपरोस् ।’
प्रधानमन्त्री ओलीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्ने समेत बताए ।