News 24 Television
पहिलो कोदो दिवस मनाइयो, कोदो प्रवद्र्धनलाई व्यापक बनाइने 

कास्की । सरकारले यो वर्षदेखी हरेक साउन १६ लाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउन थालेको छ । यो संगै रैथाने बाली कोदोको संरक्षणमा स्थानीय जुट्न थालेका छन् । 

यसै अवसरमा कास्कीको माछापुच्छ्रे गाँउपालिका–४ लाहाचोकमा कोदो रोपाइँ महोत्सव नै गरियो ।  कोही पञ्चे बाजामा नाँच्दैछन्, त कोहि भजनका चुट्कामा रमाँउदै छन् । यो दृष्य न कुनै बिहेको हो न त कुनै धार्मिक अनुष्ठानको नै हो । यो खुशि र यो तामझाम सरकारले पहिलो पटक साउन १६ लाई राष्ट्रिय कोदो दिवस घोषणा गरी गाँउ गाँउमा कोदो रोप्ने अभियान सुरु गरेकोमा हो । 

अभियान अन्तरगत कास्कीको माछापुच्छ्रे गाँउपालीका ४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव आयोजना गरियो । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशले आयोजना गरेको कोदो रोपाइँ महोत्सवमा कोदोको फाईदा, यसबाट बन्ने परिकार र यसको बजारीकरणबारे स्थानीयहरुलाई ज्ञान दिईएको थियो । 

माछापुच्छ्रे गाँउपालिकाको लाहाचोक कोदो खेतीको लागि उपयुक्त मानिन्छ । तर पछिल्लो समय कोदो बारीमा समेत धान खेति गर्न थालिएको छ । गाउँमा युवा शक्तिको अभाव, बाँदर आतंक लगायतका कारण कोदो खेती गर्ने परिवारको सङ्ख्या घट्दो छ । तर सरकारले यो वर्षबाट कोदो दिवस मनाउन थालेको र अभियान नै संचालन गरेकोमा गाँउलेहरु हर्षित भएका छन् । गाउँलेहरुले रैथाने बाली कोदोको संरक्षणमा जुट्ने प्रण गरे ।  

कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्व पनि छ । ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ । सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवद्र्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो । 

आफ्नै रैथाने बाली जोगाई राख्न, यसको फाईदाबारे सबैलाई जानकारी दिन र कोदोको बजारीकरण गर्न पनि गाँउ गाँउमा कोदो रोप्ने अभियान संचालन गर्न कोदो रोपाइँ महोत्सव आयोजना गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीका अध्यक्ष बबरजंग गुरुङको भनाइ छ । 

यसैगरी राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् । 

कोदोको खानेकुराहरुले अहिलेलाई मात्रै फाइदा नभइ भावि सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने मन्त्री अधिकारीले बताए । 

नेपालमा हाल कोदोको मुल्य जिरा मसीनो चामल भन्दा १२ रुपैयाँ सस्तो र सोना मन्सुली भन्दा १६ रुपैयाँ महंगो छ । अहिले प्रतिकिलो ७० देखी ७५ मा कोदो बिक्री हुन्छ । कोदोको परिकार भन्दा पनि रक्सी बनाउन कोदोको माग बढ्दो छ । 

गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालमा हाल वार्षिक करिव ७६ करोड रुपैयाँ मुल्य बराबरको १९ हजार मेट्रिक टन कोदो आयात हुन्छ भने करिव १ करोडको कोदो निर्यात हुने गरेको छ । 

वार्षिक कोदोबाट मात्रै पौने एक अर्वको व्यापार घाटा छ । देशका बिभिन्न स्थानिय पालिका, प्रदेश सरकारले कोदोको रक्सीको बजारिकरणमा चासो देखाएका छन् भने संघ सरकारमा समेत यो विषयमा जोडदार कुरा उठेको छ । यहि कारणले पनि र स्वास्थ्यका हिसावले पनि कोदोको माग बढेको र आगामी वर्षमा यसको माग दोब्बर हुनेछ ।  

गत वर्षको तथ्याङ्क अनुसार नेपालमा २ लाख २५ हजार हेक्टर जमिन कोदोको लागि खेती योग्य छ भने अघिल्लो आर्थिक वर्षमा मात्र ३ लाख ७ सय ३२ मेट्रिक टन कोदो उत्पादन भएको थियो । हाल नेपालमा प्रति हेक्टर १.३३ मेट्रिक टन कोदो उत्पादन हुन्छ । 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update