News 24 Television
त्रिवि क्रिकेट मैदान, निर्माण धमाधम, फ्लडलाइटमा चलखेलको आशंका !

काठमाडौं । बहुचर्चित टियु क्रिकेट मैदान निर्माण कार्य जारी छ । प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेपनि फ्लडलाइट निर्माणको काम ठप्प जस्तै देखिन्छ । निर्माण कम्पनीले हर्जाना तिरेर  काम गरिरहेका छन् । हर्जाना तिरेर काम गर्नुपरेपछि प्याराफिट निर्माण कम्पनी काम सक्न कस्सिएको छ । तर फ्लडलाइट निर्माण कार्य भने अन्योलतातर्फ धकेलिएको छ । खासमा फ्लडलाइट निर्माणमा किन ढिलाई भइरहेको छ त ?

राष्ट्रिय गौरवको आयोजना मध्येको एक टियु क्रिकेट मैदानको स्तरउन्नति जोडतोडले भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली अनुसार टियु क्रिकेट मैदानको काम गत बैशाखमा सकिनु पर्ने हो । निर्माण कम्पनीसंगको सम्झौता अनुसार गत बैशाख २४ मै काम सम्पन्न भइसक्नु पर्ने थियो । प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई सरकारी निवास वालुवाटार बोलाएर २ महिनाको समय थप्दै असार ३० भित्र काम सक्न निर्देशन दिए । 

यतिबेला निर्माण कम्पनीले समयमै काम नसकाएवापत् दैनिक दुई लाख हर्जाना तिरेर काम गरिरहेको बताइन्छ । निर्माणधिन रंगशालामा प्याराफिटको काम धमाधम भइरहेको भएपनि फ्लडलाईट निर्माणको काम ठप्प प्राय देखिन्छ । प्यारफिटतर्फ ८० प्रशित बढि काम सकिएको निर्माण कम्पनीको दाबी छ । मैदानको अवस्था हेर्दा पनि प्याराफिट निर्माणको काम सन्तोषजनक नै देखिन्छ । 

प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुग्दा  फ्लडलाइट निर्माणले किन गति लिन सकेन ? प्रश्नहरु उब्जिएका छन् । फ्लडलाइट निर्माण कम्पनीका कर्मचारीको दाबी मान्ने हो भने काम हुँदै नभएको होइन, पचास प्रतिशत काम सकिएको छ । ६ वटा फ्लडलाइटको बेसमेन्टको काम सकिएको छ । तीन वटा हाइ मास्ट पोल मैदानमा पुगेको छ । तर बाँकी तीन पोलको बारेमा भने अन्योलता छ । निर्माण कम्पनी भने सामग्री आउनासाथ एक हप्तामा काम सक्ने दाबी गर्छ ।

फ्लडलाइटको सबैभन्दा झन्झटिलो काम भनेको लाइट जडान हो । निजी लगानीमा रुपन्देही तिलोत्तमा नगरपालिकामा निमार्णाधिन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान नगरिएको होइन् । तर त्यसको प्रयोग सफल नबन्दा दुःख मात्रै भयो । टियु फ्लडलाइटमा ६ पोलमा ४२० लाइट हुनेछन् । 

ती मध्ये प्रत्येक पोलमा ७०÷७० लाइट जडान गरिनेछन् । सम्झौता अनुसार लाइट युरोपियन स्टान्डरका हुनुपर्ने तथा बेलायत, इटाली र अमेरिकाका कम्पनीबाट खरिद गरिनुपर्ने हुन्छ । 

इटालीबाट लाइट ल्याइने निर्माण कम्पनीको दाबी रहेपनि अहिलेसम्म कुन देशबाट लाइट खरिद गरिदैछ भन्नेमा अन्योलता छ । निर्माण कम्पनी विशाण–इश्वरी ज्वाइन्ट भेन्चर र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनले यो बारेमा स्पष्ट केही खुलाएका छैनन् । एकतीर लाइट जडानमा भइरहेको ढिलाई र अर्कातीर दुबै निकायको मौनताले लाइट खरिदमा ठूलै चलखेल भइरहेको त होइन् भन्ने आशंका बढ्दो देखिन्छ । 

फ्लडलाइट खरिदमा ठुला जालझेल र विचौलीयाको प्रवेशले ढिलाई भइरहेको कुरामा बल पुगेको देखिन्छ । न्यूज नेपालले फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार शीर्षकमा समाचार नै लेखेको छ । 

सहमती अनुसार युरोपियन  स्टान्डर्सका बेलायत, इटाली र अमेरीकाबाट लाइट खरिद गरिने पर्ने हुन्छ । तर आन्तरिक सेटिङमार्फत् चीनबाट खरिद गरेर स्थलमार्गमार्फत् भारत हुँदै नेपाल भित्राउने तयारी गरेको न्यूज नेपालले उल्लेख गरेको छ ।

यो दाबीमा आशंका गर्नु पर्ने आधारहरु धेरै छन् । नत्र दुई महिना अघि तयार भइसकेको बेसमेन्ट, मैदानमा झरिसकेका हाइमास्ट पोल र सम्पुर्ण तयारी पुरा हुँदा पनि लाइट किन ल्याइएन ? यसबारे प्रश्न गर्दा सानो गौचरनका सुपरिन्टेन्डेन्ट इन्जिनीयर चक्रवती कंठको जवाफ यस्तो छ । 

उसो त लाइट खरिदमा भएको चलखेल कपोकल्पित भनेर दाबी गर्ने कंठसंग कहाँ र कुन कम्पनीको लाइट खरिद गरिदैछ भन्ने प्रश्नको जवाफ छैन । यसले पनि आशंका झन बढेको हो । यसअघि पनि फ्लडलाइटको ठेक्का सम्झौताका बेला नै स्थार्थ समुह हाबी भएको समाचार नबाहिरएका होइनन् । यतिबेला पनि स्वार्थ समुह हाबी हुँदा फ्लडलाइट निर्माण ढिलाई भएको कुरामा बल पुगेको छ ।  

प्रधानमन्त्रीदेखि संसदीय समिति सम्मको अवलोकन र अनुगमन केवल औपचारिकता
टियु रंगशालाको निर्माण गतिलाई लिएर देश विदेशमा चर्चा भइरहेको पनि छ । नेपालमा यसरी छिटोछिटो काम भएको परियोजनामा टियु उदाहरण पनि बनेको देखिन्छ । 

रात्रिकालिन सहित दुई सिफ्टमा काम हुँदा त्यसको गति पनि प्रशंसा गर्न लायक नै हो । सर्वत्र चर्चा भइरहेको रंगशालाको अनुगमन र अवलोकन गर्न स्वयम् प्रधानमन्त्री ओली मैदानमा नओर्लीएका होइनन् तर केहि शिप लागेन । 

ओलीले जेठ २५ गते टियु मैदानको निरिक्षण गरेका थिए । त्यसपछि साउन १२ गते संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितले अनुगमन र अवलोकन गर्याे । तर केवल औपचारिकतामा सिमित भएका छन् ।  

रात्रीकालिन एनपीएल खेलाउने क्यानको तयारी 

नेपाल क्रिकेट संघ क्यान दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको तयारीमा छ । एनपीएल मिति तोक्ने तयारीको सुरसार गरेको क्यानको सपना फ्लडलाइटमा क्रिकेट खेलाउने हो । तर टियु मैदानको स्तरउन्नतीमा देखिएको ढिलाईले क्यानको सपना पुरा हुनेमा आशंका बढ्दो छ । प्याराफिटमा ठिकठाक काम भएपनि फ्लडलाइट जडानको ढिलाई टाउको दुखाईको विषय बन्ने देखिन्छ । यद्यपी क्यानका सचिव पारस खड्का भने नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु हुनेमा विश्वस्त छन् । 

फ्ललाइटका लागि ललितपुरको विशन–ईश्वरी जेभीसँग ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँको ठेक्का सम्झौता भएको थियो भने प्याराफिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभी संग ४३ करोड ७७ लाख ठेक्का भएको थियो । 

पछिल्लो समय नेपाली क्रिकेटको विश्वभरी चर्चा परिचर्चा भएपनि एउटा गतिलो क्रिकेट रंगशाला नहुँदा चौफर्ती आलोचनाका स्वर बाक्लिएका थिए । त्यस आलोचनाको स्वरलाई राहत दिनेगरी प्रधानमन्त्री ओलीले अघिल्लो बर्ष प्रधानमन्त्री बन्दा पहिलो मन्त्रीपरिषद् बैठकबाटै ३०० दिनमा रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गरेका थिए । 

प्रधानमन्त्री ओलीको घोषणा पुर्ण रुपमा असफल बनेको छ । उसो त टियु मैदान निर्माणको रफ्त्तार बारे आलोचना गर्न अहिले नै वान्छनीय नहोला तर भएका निर्माण कार्य निति र विधिसंवत् छन् या छैनन् भन्ने कुराले खास अर्थ राख्छ । किन भने नेपाली जनताको रगत र पसिनाको करले बनेका भौतिक संरचना बलियो र दिगो भएनन् भने त्यसको अर्थ रहँदैन् । 

त्यसैले त्रिकेट रंगशाला बन्नुपर्छ त्यसमा दुई मत भएन् तर त्यसको मुल्यमान्यतामा समेत उत्तिकै ध्यान दिन जरुरी देखिन्छ । 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update