News 24 Television
एनबीसी व्यवस्थापन समूहद्वारा 'न्यूज २४ दैनिक' प्रकाशन

काठमाडौँ । नेपाल ब्रोडकास्टिङ च्यानल (एनबीसी) लिमिटेडको व्यवस्थापन समूहले नेपाल न्यूज पब्लिकेसन्स प्रालिमार्फत छापा पत्रकारितामा समेत पाइला अघि बढाएको छ । मंगलबारदेखि औपचारिक रुपमा न्यूज २४ दैनिक प्रकाशन हुँदैछ ।

छापा माध्यममा समेत अग्रसर बनेको व्यवस्थापन समूहले पठन संस्कृतिलाई पनि विकास गर्नुपर्ने र दैनिक पत्रिकामार्फत जनताको सूचनाको हकलाई थप सुदृढ पार्ने उद्देश्य लिएको बताएको छ ।

एनबीसीका अध्यक्ष अनिल जोशीले टेलिभिजन पत्रकारिता मार्फत गरिरहेको अभ्यास छापा माध्यमबाट पनि गर्नुपर्ने आवश्यकताका आधारमा अघि बढेको बताएका छन् ।

एनबीसी र नेपाल न्यूज पब्लिकेसन्स प्रालिका समेत कार्यकारी निर्देशक रहेका अदिस जोशीले छापा माध्यममा समेत जाने निर्णयले नेपालको सञ्चार क्षेत्रमा अर्को योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

न्यूज २४ दैनिकको प्रधानसम्पादकमा तीर्थ कोइराला नियुक्त भएका छन् । छापा माध्यममा साप्ताहिक म्यागाजिन र दैनिकका साथै टेलिभिजन र अनलाइन पत्रकारितामा चार दशकभन्दा बढी अनुभव हासिल गरेका कोइरालाको नेतृत्वमा न्यूज २४ दैनिक पनि एनबीसी अन्तर्गतको न्यूज २४ टेलिभिजनजस्तै प्रभावकारी र लोकप्रिय बन्ने व्यवस्थापन समूहको  विश्वास छ । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update