News 24 Television
सञ्चार माध्यमलाई सरकार प्रवक्ता भन्छन्– खुरुक्क गएर दर्ता गर्नुस् !

काठमाडौँ । सरकार प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने कुरालाई लोकतन्त्र खोसियो भन्ने भ्रम नफैल्याउन सचेत गराएका छन् । 

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रेस काउन्सिलबाट दर्ता हुँदै आएको कुरा अब जिल्ला प्रशासनबाट दर्ता हुने व्यवस्था हुँदैमा लोकतन्त्र खोसियो भन्ने अर्थ नलगाउन आग्रह गरे ।

ऐन बनाउने काम सरकारको भएको र कहाँ गएर दर्ता गर्नुपर्छ भनेर कानूनले भनेको छ, त्यहीँ गएर दर्ता हुनुपर्ने उनले जिकिर गरे । अहिलेको ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा गएर दर्ता गर्नुपर्ने व्यवस्था रहेकाले जिल्ला प्रशासन कार्यालयमै गएर दर्ता गर्न आग्रह गरे ।

मन्त्री गुरुङले भने, ‘प्रेस काउन्सिलले दिँदै आएको अनलाइन दर्ता सम्बन्धी काम सिडिओ कार्यालयबाट गर्ने भएको छ । कानूनले सिडिओ कार्यालयअन्तर्गत भनेपछि प्रेस काउन्सिलबाट हुने भएन । भएको त्यतिमात्रै हो । ऐन, विधेयक बनाउने सरकार हो । एक ठाउँको दर्ता अर्को ठाउँमा जाने बित्तिकै लोकतन्त्र खोसियो भन्ने अर्थ नलगाउनुस् । अहिलेको ऐनअनुसार त्यही व्यवस्था भएको छ, खुरुक्क त्यहीँ गएर दर्ता गर्ने, के बिग्रिन्छ ? कानून सबैले मान्नुपर्छ ।’

मन्त्री गुरुङले केही नेपाल ऐन संशोधन गर्ने विषय सञ्चार मन्त्रालयको नभएर कानून मन्त्रालयको रहेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update