News 24 Television
हिरोशिमा–नागासाकीः आणविक बमको त्रासदीबाट संसारले के सिक्यो ?

काठमाडौं । विश्व शक्ति राष्ट्रहरु अहिले युद्धमा होमिने प्रवृत्ति पुनः बढी रहेको छ । मानविय संकट कतिबेला आइपर्छ, यसको कुनै लेखाजोखा छैन । मध्यपूर्व तनावमा छ, भने यस्तो तनावको कारण बन्न पुगेका छन्– अमेरिकादेखि अन्य शक्ति राष्ट्रहरु ।

व्यापार, अर्थतन्त्रको विकास र आर्थिक उन्नयनको नाममा सर्वसाधारणमाथि चलिरहेको बमबारीले बर्बरताको आकार लिइरहेका बेला यसबेला विश्वमा आफ्नो पकड जमाएर पहिचान स्थापित गरेको राष्ट्र जापानले विश्व शान्तिको कामना गरिरहेको छ । 

८० वर्ष पहिले आणविक बमबाट जापानले भोगेको त्रासदी र लाखौं मानिसले गुमाएको ज्यानको बदलामा जापानले हरेक वर्ष अगस्ट ६ मा पिस डे मनाउने गर्छ । के जापानले मनाउने यो दिवसले विश्वमा शान्तिको सन्देश दिन सक्ला ? 

विगतमा ठुलाठुला क्षेत्रहरु बमबारीले क्षणभरमै स्वाह भएको आफ्नो इतिहासलाई सम्झेर जापान यतिबेला विश्व शान्तिको  कामनामा जोड दिनेतर्फ लागेको देखिन्छ । ८० वर्ष पहिले आणविक बमबाट जापानले भोगेको त्रासदी र लाखौं मानिसले गुमाएको ज्यानको बदलामा जापानले हरेक वर्ष अगस्ट ६ मा पिस डे मनाउने गर्छ । 

जापान कुनै समय शक्तिशाली थियो । अनेक युद्धमा समेत सामेल थियो । जसमा सन १९४१ को डिसेम्बर ७ मा जापानले परल हार्बरमा बम आक्रमण गरेपछि अमेरिका दोश्रो विश्वयुद्धमा होमियो । बम आक्रमणमा कम्तिमा पनि २ हजार ३ सय अमेरिकी सैनिक मारिए । त्यसपछि अमेरिकाले बदलाको घोषणा ग¥यो । दोश्रो विश्वयुद्धकै दौरान १९४५ अप्रिल ३० मा तत्कालीन सोभियत संघको सेनाले जर्मनी कब्जा गरेको थियो । जर्मनीका तानाशाह हिटलरले आत्महत्या गरेपछि मे ८ मा जर्मनीले आत्मसमर्पण गरेको थियो । जर्मनीले आत्मसमर्पण गरेसँगै युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । तर, एसियामा जापानले भने लडाइँ जारी राखेको थियो । युद्धमा होमिएको जापान कमजोर बन्दै थियो । तर, आत्मसमर्पण गर्न भने स्वीकार गरिरहेको थिएन् । 

अमेरिका आफ्नो शक्ति प्रदर्शनका लागि ब्यग्र बनिरहेका बेला जापानलाई आत्मसमर्पण गराउने नाममा आणविक बम प्रहारको योजनामा अघि बढ्यो र हिरोसिमामा ‘लिटिल ब्वाई’ र नागासाकीमा ‘फ्याट म्यान’ नामको परमाणु बम प्रहार ग¥यो । जुन प्रहारबाट १ लाख ४० हजार मानिसले ज्यान गुमाएको भनिन्छ । जसमा महिला, असहाय, बालबालिका र सर्वसाधारण नागरिक नै रहेका थिए । 

यही आक्रमणको ६ दिनपछि भने जापानले आत्मसमर्पण ग¥यो । सन् १९४५ अगस्ट ६ तारिखमा अमेरिकाले प्रहार गरेको आणविक बमबाट जापानले ठूलो क्षति ब्यहोर्न बाध्य बन्यो भने मानविय रुपमा समेत अताह क्षति भयो । 

अमेरिकाले सेनामा क्षति कम गर्न भन्दै लाखौं मानिसमाथि आणविक अस्त्र प्रहार गर्दै गरेको यो युद्धलाई जापानले हरेक वर्ष अगस्ट ६ मा स्मरण गर्ने गर्छ । जुन घटना मानव वर्वरताको माथिल्लो सीमाको रुपमा समेत लिने गरिन्छ । हप्तौसम्मको जलन, विकिरण रोग, भोक र निराशाले मानिसहरु तड्पिन पुगेको त्यो कारुणिक दृश्यले धेरैलाई अहिले पनि झस्काउने गरेको छ । 

जापानमा ‘पिस डे’ 

आफ्नो भूमिमा अमेरिकाले प्रहार गरेको आणविक बम, त्यसबाट भएको क्षति र अब यस्ता कुनै प्रहार नहुन् भन्नका लागि समेत जापानले हरेक वर्ष अगस्ट ६ मा पिस डे अर्थात शान्ति दिवस मनाउने गर्छ । 

हिरोसिमा पिस मेमोरियल पार्कमा विशेष कार्यक्रमहरू आयोजना गर्दै जापानले भव्य रुपमा पिस डे मनाउनुको अर्थ विश्वमा शान्ति कायम भइरहोस भन्नका निम्ति हो भने यो कार्यक्रममा शान्ति र परमाणु निशस्त्रीकरणको अपिल समेत गरिन्छ । जापानले आफ्नो इतिहास सम्झिने मात्रै होइन, संसारभर शान्ति फैलाउने ध्येय समेत राख्ने गरेको देखिन्छ । 

आणविक बमको त्रासदी र बन्देज

अहिले विश्वभर नै आणविक हतियार निर्माणको होड चलिरहेको छ । केहि समय पहिलेमात्रै पनि इरानमाथि अमेरिकाले ब्यास्टर बम प्रहार ग¥यो । इरानले ऊर्जाका निम्ति भन्दै सञ्चालन गरेको आणविक कार्यक्रमलाई रोक्न अमेरिकाले यस्तो कदम चालेपनि त्यसमा इजरायल समेत संलग्न थियो । 

इजरायलले सैन्य कारबाही शुरु गरेपछि दुई देशबीच चलेको युद्धमा अमेरिका एक्कासी सामेल भएपछि दुई देशको युद्ध पनि वार्तामा पुगेर समाधानमा पुग्यो । तर, आणविक हतियार मोहमा शक्ति राष्ट्रहरुको सक्रियताले मानविय मूल्य, संकट र खतरा भने उत्तिकै देखाइरहेको छ । अहिले पनि शक्ति राष्ट्रहरुले आणविक अस्त्र निर्माणमा आफुलाई केन्द्रमा राख्दै आएका छन् । 

शक्ति राष्ट्रहरुले आणविक शक्तिमा जोड दिँदा आफूलाई सुरक्षित तुल्याउनका निम्ति यस्ता आणविक प्रशोधन केन्द्रहरु सञ्चालनका निम्ति अन्य मुलुकहरु पनि यो वा त्यो ढंगले अघि बढिरहेको देखिन्छ । 

अहिले चलिरहेको युद्धहरु रुस–युक्रेन होस वा इजरायल–प्यालेस्टाइन नै किन नहोस्, यसमा पनि उक्साहट र आणविक अस्त्रको प्रयोग हुने देखिएमा मात्रै पनि मानवीय संकट तत्काल देखा पर्नेछ । जुन कुरा रोक्नका निम्ति धेरै कठिन र धेरै असहज स्थिति सिर्जना हुनेछ ।

जापानले बनाउने छैन आणविक अस्त्र

जापान आणविक अस्त्र निर्माणमा संलग्न नहुने गरि अघि बढिरहेको मुलुक हो । जापानको संविधानले नै यस्तो प्रतिबद्धता गरेका कारण पनि जापानले आणविक अस्त्र निर्माणमा कुनै किसिमको काम नगर्ने प्रतिबद्धता जनाउने गरेको छ । 

उसोतः जापान एकमात्रै यस्तो मुलुक हो, जसले आणविक अस्त्रको प्रयोगमा प्रतिबन्ध नै लगाएको छ । दोश्रो विश्वयुद्धपछि  जापानले १९४७ मा नयाँ संविधान जारी ग¥यो । जसको धारा ९ मा जापानले स्पष्ट रुपमा नै युद्ध परित्याग र आक्रामक सैन्य रणनीति नबनाउने उल्लेख गरेको छ । यतिमात्रै नभई जापानलाई यहि धाराले पनि आणविक अस्त्रमा प्रतिबन्ध लगाउने आधार दिएको विश्वास गरिन्छ । जापानले तीन गैर–न्यूक्लिएर सिद्धान्त अपनाएको छ, ती विषयहरु यस्ता छन्–

– आणविक हतियार नबनाउने

– आणविक हतियार नराख्ने

– आफ्नो भूमिमा राख्न वा ल्याउन अनुमति नदिने

यस्तै जापानले अमेरिकासंग त्यसपछि सुरक्षा सन्धि समेत गरेको छ । सन्धि अनुसार जापानको सुरक्षामा अमेरिकाले रक्षा गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

विश्व शन्तिका लागि आणविक अस्त्र थप खतरा

विश्व शान्तिका निम्ति आणविक हतियार कति खतरा छन् भन्ने विषय जापानमा अमेरिकाले प्रहार गरेको बमबाटै थाहा हुन्छ । आणविक शक्ति सम्पन्न राष्ट्रहरुमा अमेरिका, रुस, चीन, उत्तर कोरिया, फ्रान्स, बेलायत, पाकिस्तान, भारत लगायत छन् । अघोषित रुपमा अन्य देशहरुसंग समेत यस्तो शक्ति रहेको आकलन गर्ने गरिन्छ । तर, यीनै विषय नै विश्व शान्तिका निम्ति खतराको विषय बन्नेमा शंका छैन् ।  अहिले चलिरहेको विश्व राजनीतिक ध्रुबिकरण र आणविक शक्ति होडले समेत ठूला चिन्ता र चासोहरु फैलाएको छ । जुन विषय विश्व शान्तिका निम्ति खतराका विषय बनिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update