काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नविकरण शुल्क बापत तिर्नुपर्ने रकम किस्ताकिस्तामा बुझाउनसक्ने सुविधा दिएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले असहमति जनाएका छन् ।
शुक्रवार सार्वजनिक लेखा समितिमा भएको बेरुजुका बारेमा भएको छलफलमा एनसेल राज्यको नियन्त्रणमा आउन लागेका बेला किस्ताबन्दी सुविधा दिएर लुट मच्चाउन खोजिएको आरोप लगाए । उनका अनुसार यस्तै लूटका कारण मुलुकमा भ्रष्टाचार चुलिँदै गएको छ भने बेरुजु पनि बढेर गएको छ ।
लिङदेनले कर्मचारी तन्त्रलाई विचौलियाहरुले कब्जामा लिने र सोहीअनुसार सचिव-मन्त्रीहरुले काम गर्ने, न्यायालयले समेत सोहीअनुसारका आदेशहरु दिँदै जाँदा आम जनतामा निराशा चरम रुपमा बढेर गएको छ ।
अध्यक्ष लिङदेनले भने– ‘एनसेलले सारा सम्पत्ति जिम्मा लगाएर जाने बेला भइसक्यो । हामी किस्ताबन्दी सुविधा दिइरहेका छौं । कसको प्रभाव दियौं, किन दियौं, त्यही हो बेरुजु । बेरुजु त्यसै बढेको छैन्, विचौलिया व्यापारी, नेता, न्यायलयसम्मकै हात छ ।’
लिङदेनका अनुसार कर्मचारीको नेतृत्वले देशलाई केन्द्रलाई राखेर काम गर्छु भनेर काम गर्ने हो भने बेरुजु, भ्रष्टाचार कम हुनसक्छ । बेरुजु नहुने वातावरण सिर्जना गर्नेगरी योजना बनाउन जरुरी रहेको उनको भनाई छ ।
पछिल्लो समय ठूलो अंकमा योजना राख्ने, निश्चित कम्पनीलाई प्रतिष्पर्धा बेगर जिम्मा दिने प्रवृत्ति देशमा मौलाएको भन्दै लिङदेनले त्यो प्रवृत्तिले देशलाई हित नगर्ने समेत प्रष्ट पारे ।