News 24 Television
वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक छिटो टुङ्ग्याउन आग्रह

काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल शुरु गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको बैठकले विधेयकका सम्बन्धमा विज्ञ र संशोधनकर्ता सांसदहरुसँग गरेको हो । बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकलाई छिटो टुंग्याउन समितिलाई आग्रह गरे ।

उनले विधेयकमा रहेका भाषागत त्रुटिहरुलाई सभामा पनि सच्याउन सकिने उल्लेख गर्दै विधेयकलाई निष्कर्षमा पुर्याउन  आग्रह गरेका हुन् । मन्त्री पौडेलले बसाईंसराईको भयावह अवस्था रोक्नका हिमाली तथा पहाडी विकट क्षेत्रमा ठूलो आयोजनाको लगानी गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

उनले भने, ‘विधेयकमाथि यो तहको छलफलबाट पनि केही भाषागत समस्या भएको रहेछ भनेपनि भोलि सच्याउँला । किनभने ढुंगाको अक्षर त होइन । संविधान त संशोेधन गर्न सकिन्छ भने कानून संशोधन गर्न नसकिने विषय रहेन । सकेसम्म यसलाई आजको हाम्रो चेतनाले र अनुभवको आधारमा यसलाई समृद्ध बनाऔँ भन्ने हाम्रो कोशिस हो । मेरो आग्रह के छ भने छलफलपछि हामी कमन कनक्लुजनमा पुगौँ । र यसलाई अगाडि बढाऔँ भन्ने मेरो आग्रह छ ।’ 

वैकल्पिक विकास वित्तसम्बन्धी कानुन बनेपछि विकासका नवीन स्रोतहरूको परिचालन गर्न तथा यसको माध्यमबाट रोजगारी प्रवद्र्धन, दिगो आर्थिक विकास र दीर्घकालीन लगानी सुनिश्चित गर्न सहयोग पुग्ने अवेक्षा गरिएको छ । ऋणपत्र, स्वपुँजी कोष र अन्य वित्तीय उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गर्नको लागि आवश्यक भएकोले सरकारले यो विधेयक अगाडि बढाइएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update