News 24 Television
ट्रम्प र पुटिनको भेटले रुस युक्रेनमा शान्तिको अपेक्षा, के भने जेलेन्स्कीले ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ । ट्रम्पले पुटिनसँग भेट हुने भन्दै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिएपछि जारी रुस–युक्रेन युद्धमा केहि नयाँ अपेक्षा समेत गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट अगस्ट १५ मा अमेरिकी राज्य अलास्कामा हुने दाबी गरेका छन् । ट्रम्पले ट्रुथ सोसलमा यसबारे जानकारी गराएका छन् ।

रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले पुटिन र ट्रम्पले आगामी शिखर सम्मेलनमा रूस–युक्रेन द्वन्द्वको दीर्घकालीन शान्तिपूर्ण समाधान प्राप्त गर्ने विकल्पहरूमा ध्यान केन्द्रित गर्ने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

रुस–युक्रेन युद्ध लामो समयदेखि चल्दै आएको छ । यसमा रेुसले हवाई युद्ध रोक्न तयार रहेको भन्दै युद्धलाई सहमति र वार्तामा लैजान प्रस्ताव गर्दै आएको छ । दुई नेताहरुको भेटमा भूमी साटासाट हुनसक्ने समेत संकेत गरेका छन् । शुक्रबार अर्मेनिया र अजरबैजानका नेताहरूसँग ह्वाइट हाउसमा भएको भेटमा समेत ट्रम्पले शुरुमा रुससंग वार्ता गर्ने बताएका हुन् ।

रुस–युक्रेन युद्ध चलिरहेको बेला भइरहेका पटक–पटकका वार्तामा समेत उल्लेख्य प्रगति भएको देखिन्छ । बन्दी साटासाटदेखि बालबालिकाको पक्षमा समेत काम गरेका उदाहरण छन्  यद्यपी यसबारे उल्लेख्य प्रगतिको रुपमा युद्धबिराम नै आवश्यक रहेको बताइन्छ ।

यसको पक्षमा रुस–युक्रेन दुबैले सहमती समेत जनाएको बताउने गरेका छन् । तर, विभिन्न पक्षमा कुरा मिल्न नसक्दा संघर्षविराम भने हुन सकेको छैन् । उसोतः ट्रम्पले पुटिनसंगको छलफलमा केहि भूमी साट्ने र केहि फिर्ता लिने विषयमा छलफल गर्ने र सहमतिको बिन्दु पहिल्याउने प्रयासलाई नै प्राथमिकता दिएको बताइन्छ । तर, युरोपेली साझेदारहरुले भने रुसलाई विभिन्न भूमी दिने कुरा गर्न नहुने भन्दै यसबारेमा सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । 

युक्रेन र उसका युरोपेली साझेदारहरूले भने कुनै पनि यस्तो सम्झौतामा अधिकृत युक्रेनी भूमि क्रीमिया, डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिझिया – रुसलाई दिन नहुने अडान राख्दै आएका छन् । तर पुटिनले भने सन् २०१४ यता रुसले कब्जा गरेका केही क्षेत्रहरू युक्रेनले छाड्नैपर्ने शर्त राख्दै आएका छन् । उनले युक्रेनलाई दिइँदै आएको पश्चिमी सैन्य सहायता रोकिनुपर्ने र नाटोमा युक्रेनको सदस्यता प्रयास अन्त्य हुनुपर्ने माग पनि राखेका छन् ।

युक्रेनी राष्ट्रपति के भन्छन् ?

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई भूमि सुम्पिन नदिने दाबी गरेका छन् । अमेरिका र रुसका नेताहरूबीच हुने वार्ताअघि युक्रेनलाई वार्तामा सहभागी गराइनुपर्ने जेलेन्स्कीले माग गरेका छन् । 

शनिबार सामाजिक सञ्जालमा जेलेन्स्कीले युक्रेन मर्यादित शान्ति ल्याउन सक्ने वास्तविक निर्णयहरूको लागि तयार रहेको बताएका छन् ।  तर उनले संवैधानिक मापदण्डहरूको उल्लंघन गर्दै कुनै पनि भूभागसम्बन्धी सम्झौता अस्वीकार्य चेतावनी समेत दिएका छन् ।

 यद्यपी यसअघि समेत अमेरिकालाई युक्रेनमा महत्वपूर्ण खनिज क्षेत्रमा पहुँच नदिने भन्दै यस्तै अडान दोहो¥याउने गरेका जेलेन्स्कीले अन्तिममा सम्झौता नै गरेका थिए । यसर्थ अमेरिकाले लिने निर्णयमा पुटिन सहमत बनेमा यस्ता विषय कसरी हघि बढ्लान भन्ने चासो भने बढेको छ । 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update