काठमाडौँ । आउटरिच नेपालले फ्लेम अवार्ड्स साउथ ईस्ट एसिया २०२५ मा १३ वटा अवार्ड जितेको छ । अगस्ट ८ मा भारतको नयाँ दिल्लीस्थित ताज विभान्ता, द्वारकामा आयोजित फ्लेम अवार्डस् साउथ ईस्ट एसिया २०२५ मा आउटरिचले आफ्नो एक्टिभेसन पार्टनर लेमन र टिजिटल पार्टनर डिजिटल इनसँगै कुल १३ प्रतिष्ठित अवार्ड जितेका हो ।
यी अवार्डमध्ये युनिलिभरका लागि ७, सामसङका लागि २, एनसेलका लागि २, माउन्टेन ड्यूका लागि १ र शिखर इन्स्योरेन्सका लागि १ अवार्ड आउटरिचले प्राप्त गरेको छ । यीमध्ये ३ वटा स्वर्ण, ५ वटा रजत र ५ वटा काश्य अवार्ड हुन् ।
फ्लेम अवार्ड्सको आयोजना रुरल मार्केटिङ एसोसियसन अफ इण्डिया (आरएमएआई)ले गरेको हो । व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट हुनेलार्ई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्ने गरिएको छ । यस वर्षको अवार्डमा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डबाट सहभागिता रहेको थियो । यो पटक अवार्डको इतिहासमै सबैभन्दा धेरै आवेदन परेको थियो ।
अवार्ड कार्यक्रममा २० भन्दा बढि भारतीय उद्योग विशेषज्ञहरु र १५ भन्दा बढि दक्षिण एसियाली देशबाट निर्णायकका रुपमा सहभागि थिए । आउटरिच नेपालमा संस्थापक उजय शाक्यले टिमको समर्पण र सिर्जनशिलताकै १३ वटा अवार्ड जित्न सफल भएको बताए । योसँगै शाक्यलाई आरएमएआईको नेपाल च्याप्टरको अध्यक्षता गर्ने जिम्मेवारी दिइएको छ ।