News 24 Television
अस्वस्थ प्रतिस्पर्धाले जनशक्ति पलायनको खतरा, स्वास्थ्यमा राजनीतिक दबदबा उस्तै !

काठमाडौँ । नेपालमा जनसंख्याको तुलनामा मुटु सर्जनको ठूलो अभाव छ । जनसंख्याको अनुपातमा अहिले देशभर १०६ मुटु सर्जनको आवश्यकता रहेकोमा अहिले २२ जना मात्रै क्रियाशील छन् । नयाँ नियुक्ति शून्य, नीतिगत अन्योल र अवसरको कमीले मुटु सर्जनको अभाव भयावह बन्दै छ । एकजना मात्रै मुटु सर्जन नहुँदा ठूलो क्षति पुग्ने स्थितिमा गंगालालका वरिष्ठ सर्जन डा. रामेश कोइरालाको अमेरिका पलायनले कैयौ मुटुरोगी प्रत्यक्ष प्रभावित हुने देखिएको छ । 

नेपालमा युवा जनशक्तिको पलयान प्रमुख समस्याको रुपमा खडा भएको छ । नेपालबाट दैनिक २ हजारसम्म युवा जनक्ति विदेश पालायन हुन गरेका तथ्याङ्क सार्वजनिक हुँदै आएका छन् । यसले मुलुकलाई गम्भीर संकटमा पारिरहेकोमा दुई मत छैन । मुख्यतः मुलुकमा रोजगारीको वातावरण सृजना नहुन, राजनीतिक अस्थिरता र योग्यता अनुसारको रोजगारी प्राप्ति नहुनु तथा रोजागरी पाइहाले पनि अस्वस्थ प्रतिस्पर्धा हुनुजस्ता कारण जनशक्ति पलायनको ग्राफ बढ्दो छ । पछिल्ला दिनहरुमा नागरिकस्तरमा मात्रै नभइ ठूला–ठूला विशिष्टकृत जनशक्तिको पनि पलायन बढ्दो छ । जसमा मुलुकको समृद्धि र स्वास्थ्यसँग जोडिएका चिकित्सकसमेत विदेश पलायन हुन बाध्य बन्दै आएको तथ्याङ्क दिनानुदिन बढ्दै गएका छन् । पछिल्लो ५ वर्षयता मात्रै पनि मुलुकमा वार्षिक २ हजार हाराहारीमा चिकित्सकहरु विदेश पलायन हुने गरेको तथ्याङ्कले देखाएको छ । नेपाल चिकित्सक संघको तथ्याङ्क अनुसार नेपालमा उत्पादन भएका ७४ प्रतिशत चिकित्सक अध्यायन वा रोजगारीको सिलसिलामा विदेश पलायन हुने गरेका देखिन्छन् । 

राजनीतिक खिचतानीले पनि चिकित्सक मर्कामा 

चिकित्सक विदेश पलायन हुन बध्य हुने कारणमा अस्वस्थ प्रतिपर्धा र राजनीतिक कारण पनि हुनसक्छ भन्ने उदाहारण पनि पेस हुन थालेका छन् । यसको प्रमुख उदाहारण डा. रामेश कोइराला बनेका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले अस्वस्था प्रतिपर्धा र राजनीतिक खिचातानीको सिकार बनेको भन्दै मंगलबार पदबाट राजीनामा दिएका छन् भने उनी पेशा नै छाडेर अमेरिका नै पलायन समेत भएका छन् । अमेरिका पुगेर राजीनामा लेखेका उनले भनेका छन् ‘म तपाईँको खुच्चिङ् रमाइरहेछु । एक्कासी सिप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ । र, म सो बेला शायद सर्जन नहुँला । सरी ! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम ।’ 

राजीनामा दिन किन बाध्य भए रामेश ?

रामेशले राजीनामाको कारण व्यक्तिगत भनेपनि उनी राजनीतिक खिचातानी र अस्वस्थ प्रतिपर्धाकै कारण विदेश पलायन भएकोमा दुई मत देखिँदैन । उनले राजीनामा पत्रमै स्वास्थ्यमन्त्री प्रदीप पौडेल तथा नेपाली काँग्रेसका महामन्त्री गगन थापाको सपना पूरा नभएकोसमेत भनेका छन् । 

डा. कोईराला २५ वर्षदेखि गंगालाल अस्पतालमा कार्यरत थिए । उनले हालै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्तिका लागि आवेदन दिएका थिए । उनको नाम सर्टलिस्टमा समेत परेको थियो । यद्यपि नेपाली काँग्रेस केन्द्रीय नेतृत्वले उनलाई बाइपास गरेर विक्रम श्रेष्ठलाई उपकुलपतिमा नियुक्त गरेको थियो । 

मुख्यतः उनलाई रोक्न परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवासमेत लागेको टिप्पणी भइरहेका छन् । क्षमता हेरेरै कुलपति नियुक्त गर्ने हेतुले महामन्त्री गगन थापा र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले रामेशलाई नै उपकुलपति बनाउन सभापति शेरबहादुर देउवालाई पटक पटक प्रस्ताव गर्दासमेत ग्रीन सिग्नल नआएको काँग्रेस नेताहरुकै दावी छ । अर्कोतर्फ आरजुले भने गगन र मन्त्री पौडेलले क्षमताका आधारमा रामेशलाई उपकुलपति बनाउने भन्ने प्रस्तावलाई सिधै अस्वीकार गरेको बताइँदै आएको छ । हालै मात्रै होइन, गगन थापाले यसअघि आफू स्वास्थ्यमन्त्री रहँदा पनि क्षमताकै आधारमा रामेशलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउन खोजेका थिए । यद्यपि सो समय पनि सिफारिसमा परेका रामेशलाई आरजुकै चाहनामा उपकुलपति बनाउनबाट रोकिएको चर्चा भइरहेका छन् । 

कस्तो थियो अहिलेको भागबण्डा ? 

हालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी ४ प्रतिष्ठानमा उपकुलपति रिक्त थिए । जसमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले २÷२ उपकुलपति भागबण्डा गरेका थिए । 

त्यसमध्ये पनि एमालेले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान छाड्न नसक्ने भनेपछि काँग्रेस विपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिन बाध्य भयो । यसैमध्ये पूर्वस्वास्थ्यमन्त्री गगन थापा तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको चाहनामा रामेशलाई उपकुलपति बनाउन ठूलै जोडबल गर्दापनि सभापति देउवा तथा देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजुको चाहनामै रोकिएको दावी गरिँदै आएको छ । 

आरजुकै दबाबका कारण उपकुलपति सिफारिस समितिमै रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलसमेत रामेशलाई नियुक्ती दिन नसक्दा निरिह बन्नु परेको छ । डा. रामेशको रोकावट तथा उनको अमेरिका पलायनको विषयलाई लिएर पनि राजनीति र अस्वस्थ प्रतिस्पर्धाले विशिष्टकृत सीपयुक्त जनशक्ति अझै संकटमा पर्दै गइरहेको भाष्य स्थापित भएको छ । 

नेपालमा मुटु सर्जनको अवस्था

नेपालमा मुटु सर्जनको अवस्था अत्यन्त नाजुक छ । हाल देशमा जनसंख्याको अनुपातमा १०६ जना मुटु सर्जन आवश्यक छन् । तर नेपालमा २२ देखि २६ जना मात्रै मुटु सर्जन कार्यरत छन् । सन् २०१७ पछि मुटु सर्जरीमा नयाँ चिकित्सक भर्ना शून्य रहेको छ । यसले पनि विशेषज्ञको अभावलाई थप गम्भीर बनाएको छ । गंगालाल हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर जस्ता प्रमुख संस्थाहरूमा समेत नयाँ सर्जन भर्नाको लागि विज्ञापन नहुनु र निजी क्षेत्रमा प्राक्टिसको अवसर कम हुनुले यो क्षेत्रमा आकर्षण घटेको छ । 

नेपालमा कुल जनसंख्याको १० देखि २५ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मुटुरोग छ । वार्षिक ३०,००० मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ । काठमाडौं र धरानबाहेक अन्य क्षेत्रमा मुटुरोगको विशेषज्ञ उपचार सुविधा लगभग शून्य छ । यस्तो अवस्थामा कुनै एक मुटु सर्जनको विदेश पलायनले नेपालको स्वास्थ्य क्षेत्रमा गम्भीर असर पार्छ । यसकै एउटा उद्धाहरणको रुपमा लिन सकिन्छ, गंगालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटु सर्जन डा. रामेश कोइरालाले हालै राजीनामा दिएर अमेरिका गएपछि हजारौं मुटुरोगीको उपचार प्रभावित हुने देखिएको छ । 

डा. कोइराला जस्ता अनुभवी सर्जनले वार्षिक सयौं जटिल शल्यक्रियाहरू गर्थे । उनको अनुपस्थितिमा बिरामीहरूले लामो समय पर्खनुपर्ने वा उपचार नै नपाउने जोखिम बढ्छ । गंगालाल र मनमोहन सेन्टरमा दैनिक २०० बिरामी ओपीडीमा आउने र वार्षिक ७०० शल्यक्रिया हुने गरेकोमा एक जना सर्जनको भागमा कति धेरै विरामीको भार रहेको छ, यही तथ्यांकले स्पष्ट हुन्छ । यदि डा. कोइरालाको पलायन राजनीतिक भागबण्डा र गलत नियुक्ति प्रक्रियाकै कारण हो भने यो साच्चिकै दुखदायी छ । यसले सरकारको स्वास्थ्य नीति र चिकित्सकहरूलाई प्रोत्साहन दिने संरचनाको कमजोरीलाई मात्रै उजागर गरेको छैन, सरकारमा बस्नेहरुलाई समेत नराम्रोसँग गिज्याइरहेको छ । 


 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update