News 24 Television
भारतको ७९ औँ स्वतन्त्रता दिवस : युवा रोजगारीमा १ लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिबद्धता

काठमाडौँ । भारतले ७९ औँ स्वतन्त्रता दिवस भव्यताका साथ मानिरहेको छ । दिल्लीको लालकिल्लाबाट  प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको आजको सम्बोधन ऐतिहासिक पनि छ । प्रधानमन्त्री मोदीको लालकिल्लाबाट यो १२ औँ पटकको  सम्बोधन हो । साथै  प्रधानमन्त्री मोदीले १०३ मिनेट लामो भाषण गरे । जुन भारतको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले स्वतन्त्रता दिवसको अवसरमा दिएको सबैभन्दा लामो भाषण पनि हो । प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा ‘आत्मनिर्भर भारत’ र सन् २०४७ सम्म ‘विकसित भारत’ को दृष्टिकोणलाई जनता सामु राखेका छन् ।

प्रधानमन्त्री मोदीले देशभित्र रोजगारी प्रवर्द्धन गर्नका लागि ‘प्रधानमन्त्री विकसित भारत रोजगार योजना’ नामको नयाँ योजनाको पनि शुरुवात गरिएको घोषणा गरे । एक लाख करोड रुपैयाँ खर्च हुनेगरी बनाइएको रोजगार योजनामा निजी क्षेत्रमा पहिलो रोजगारी पाउने युवायुवतीलाई १५ हजार भारतीय रुपैयाँ दिने घोषणा गरे । रोजगारी दिने कम्पनीहरुलाई पनि प्रोत्साहनस्वरुप सहयोग गरिने प्रधानमन्त्री मोदीले बताए । प्रधानमन्त्री विकसित भारत रोजगार योजनाले ३ करोड ५० लाख बढी युवा युवतीलाई नयाँ रोजगारको अवसर प्रदान गर्ने बताए ।

आफ्नो लामो भाषणमा उनले पाकिस्तान र अमेरिकाको पछिल्लो कदमको आलोचना गरेका छन्। देशको आत्मनिर्भरता केबल रुपैयाँ वा आयात–निर्यातमा सीमित नभएको बताउँदै प्रधामन्त्री मोदीले अब पनि अन्य देशहरूमा निर्भर रहनु ‘विनाशको बाटो' भएको बताउनुभएको छ । 

प्रत्यक्ष रुपमा संयुक्त राज्य अमेरिकाको नाम नलिइकनै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको ५०% शुल्क (ट्यारिफ) लगाउने धम्कीको जवाफ दिँदै आफू ‘पर्खाल बनेर उभिने’ र भारतीय किसानको हितको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update